जी नाइनः उठ्यो रिमै फेवातालमा छाल ——

समाधान संवाददाता २०७५ पुष ३० गते ९:३३

समाधान संवाददाता

पोखरामा साइकल चलाउने ९ साइक्लिस्टको समूह जि नाइनद्वारा आयोजित ‘जि नाइनसँग प्रकट’ शनिबार साँझ सांग्रिलामा सम्पन्न भएको छ ।
‘सिर्जनाको पनि मूल्य हुन्छ र स्रष्टाको सम्मान गर्नुपर्छ’ भन्ने उद्देश्यले अग्रजलाई सम्मान र अनुजलाई प्रेरणा दिन जि नाइनले आफ्नो पहिलो प्रस्तुतिमा प्रणय गजलका मानक प्रतिभा प्रकटलाई उभ्याएको थियो ।

Advertisement

कार्यक्रम संयोजक निरज थापाले प्रकट पगेनी ‘शिव’को परिचय दिएर, सयपत्री फूलको माला गलामा लगाएर, हातमा माइक थमाएर शुभकामना दिनसाथ प्रकटले‘उठ्यो रिमै फेवातालमा छाल साँझपख…’ गजल वाचन गरे । उनले ढेड घन्टामा १८ वटा प्रेमिल गजल र रचना गर्भ सुनाए ।

६३ वर्षे पाका प्रकटले ‘तप्प तप्पजलबिन्दु…..’ गजल वाचन गरिरहँदा ४० कटेकाले ‘वान्स मोर’ को फर्माइस गुञ्जयमान बनाएका थिए । माया, पिरती र प्रेमिल गजलका सर्जक प्रकटले आफ्नो एकल वाचनको १६ औं शृंखला चलिरहेको जानकारी दिए ।

Advertisement

‘प्रकट पंगेनीको लय र लिपि आम मानिसको भन्दा फरक छ । कहिले गुमनाम जस्ता लाग्छन् त कहिले शृंगारिक गजल मार्फत् युवा जमातको ढुकढुकी बन्छन् । आफ्ना रचनामा प्रेम र रोमान्स मात्रै होइन, घर गृहस्थी, सुखदुखका सुसेली पनि हाल्ने प्रकट पगेनी ‘शिव’ एउटा सरल, इमान्दार, नम्र स्वाभावका सिर्जनशील व्यक्ति हुन् गजलकारलाई कार्यक्रममा यसरी चिनाइयो ।

हिउँद होस् या वर्षात् भुकभुके अँध्यारोमै बिस्तारा छोड्छ जि नाइनले । निरन्तर निरन्तर साइकल चलाएर स्वास्थ्य, वातावरण, पर्यटन प्रवद्र्धनमा विगत ५ वर्षदेखि अभिछिन्न यो क्रियात्मक अभियान चलिरहेको छ । जि नाइन फेवादेखि रारासम्म, कास्कीको सिक्लेस, स्याङ्जाको स्वरेक, सिरुवारी, पाल्पा तानसेन हुँदै रूपन्देहीको लुम्बिनी लगायत पहाडदेखि तराईसम्मको भूगोलमा गुडेको समूह हो ।

गायक हिराकाजी श्रेष्ठले ‘यही हो पोखरा राजै यही हो पोखरा,’ निरज थापाले ‘अल्झेछ क्यारे पछ्यौरी, चिसो चिसो हावामा,’ तेजबहादुर गुरुङले ‘सबै मन बोलेर भन् जय जय नेपाल.., कलाकार किरण रञ्जितले ‘हे कान्छा मलाई सुनको तारा…,’साथमा बुद्धिमान गुरुङ् धम्पुको नृत्य थियो । जि नाइनका सचिव प्रकाश बज्राचार्यले कविता वाचन गरेका थिए भने विक्रम उदासले तबलमा र प्रविण बुद्धाचार्यले गितारमा साथ दिएका थिए ।

तपाईको प्रतिक्रिया