दमाैलीका होटल तथा रेष्टुरेन्टको वर्गीकरण शुरु, टाँसियो हरियो स्टिकर

समाधान संवाददाता २०७५ पुष ३० गते १७:२१


कृष्ण न्यौपाने
दमौली

खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय तनहुँले दमौलीमा सञ्चालित होटलहरुमा स्टिकर टाँस गर्ने अभियान शुरु गरेको छ ।

Advertisement

होटल रेष्टुरेन्ट स्तरीकरण गर्नेसम्बन्धी निर्देशिका २०७४ बमोजिम कार्यालयले जिल्लामा सञ्चालित होटल तथा रेष्टुरेन्टको वर्गीकरणको थालनी गरेको हो ।

डिभिजन कार्यालय तनहुँका प्रमुख शिवजी बरालले सोमबार दमौलीका पाँच वटा होटलमा हरियो स्टिकर टाँस गरिएको जानकारी दिए । उनका अनुसार होटल पञ्चम र सासा इनमा उत्तम र टिका तास घर, मुन लाइट रेष्टुरेन्ट एण्ड विन्स क्याफे र हरि मिष्ठान्न भण्डारमा सन्तोषजनक लोगो सहितको स्टिकर टाँस गरिएको छ ।

उत्तम श्रेणीमा दुई वटा स्टार सहितको लोगो हुन्छ भने सन्तोषजनकमा एउटा स्टार सहितको लोगो हुन्छ ।

होटलहरुको अनुगमन र मूल्याङ्नका आधारमा हरियो स्टिकर टाँस गरिएको बरालले जानकारी दिए । उनले भने, ‘अनुगमन र मूल्याङ्कनलाई आधार मानेर स्टिकर टाँस गरिएको हो, अन्य होटलहरुमा समेत विस्तारै स्टिकर टाँस गरिनेछ ।’

Advertisement

वर्गीकरणका लागि निर्देशिकामा उल्लेख गरिएका पचास वटा प्रश्नको उत्तर दिने क्रममा सबैभन्दा बढी अङ्क ल्याउने व्यवसायले अति उत्तम, त्यसपछि उत्तम, मध्यम (सन्तोषजनक) र सामान्य श्रेणीको प्रमाणपत्रको लोगो पाउनेछन् । अतिउत्तम श्रेणीको होटल रेष्टुरेन्टले तीनवटा तारा र (क) सहित अतिउत्तम लेखिएको हरियो स्टिकर पाउनेछ । यो लोगोे पाउन होटल रेष्टुरेन्टले तोकिएको मापदण्ड बमोजिम ९० भन्दा बढी अङ्क प्राप्त गर्नुपर्छ ।

त्यस्तै उत्तम श्रेणीको खाद्य व्यवसायले दुईवटा तारा र (ख) सहित उत्तम लेखिएको हरियो स्टिकर पाउनेछन् । यस्तो लोगोे पाउन ८० भन्दामाथि ८९ सम्मको अङ्क प्राप्त गर्नुपर्ने हुन्छ । यसैगरी मध्यम श्रेणी (सन्तोषजनक)को लोगो पाउन ६५ देखि ७९ बीचको अङ्क प्राप्त गर्नुपर्ने निर्देशिकामा उल्लेख छ । यस्तो लोगो पाउने होटल रेष्टुरेन्टले एउटा तारा र (ग) सहित सन्तोषजनक लेखिएको हरियो स्टिकर पाउनेछन् ।

सामान्य श्रेणीको लोगोमा (घ) सहित सामान्य लेखेको स्टिकर उल्लेख हुनेछ । यो श्रेणीको लोगो पाउन ५० देखि ६० बीचको अङ्क प्राप्त गर्नुपर्ने व्यवस्था छ ।

डिभिजन प्रमुख बरालका अनुसार होटल तथा रेष्टुरेन्टको बाहिरी परिधिको सरसफाइको अवस्था, भुइँ, भित्ता र सिलिङको स्थिति, खाद्यवस्तुको सम्पर्कमा आउने स्थलको अवस्था, सरसफाइ गर्न प्रयोगमा ल्याइने रसायन तथा विषादी प्रयोग र भण्डारण तथा ढल निकासको व्यवस्थित प्रणालीलाई मूल्याङ्कनको आधार बनाइनेछ ।

त्यस्तै पानी आपूर्तिका पाइप तथा अन्य प्रयोगका पाइपहरूको अवस्था, खाना बनाउने, खाना खुवाउने तथा भण्डारण कोठामा प्राकृतिक वा कृत्रिम प्रकाशको स्थिति, प्राकृतिक र यान्त्रिक भेन्टिलेसन, भाँडाकुँडाको व्यवस्थापन, सरसफाइ प्रयोजनका लागि पर्याप्त पानीको आपूर्ति, पिउने प्रयोजनका लागि प्रशोधित तथा पिउनयोग्य पानीको व्यवस्थालगायत पनि मूल्याङ्कन मापदण्डमा उल्लेख छ ।

तपाईको प्रतिक्रिया