सञ्जीवको कलमः देवीरमण अर्थात् अल्पज्ञानी

समाधान संवाददाता २०७५ माघ १ गते १२:३२

– चिनामा एउटा नाम छ, औपचारिक कागजातमा अर्कै नाम, बोलाउने नाम अर्कै । यी सबैथरी नामले समेत चित्त नबुझेर अर्को नामसँग प्रेम गरे ‘अल्पज्ञानी’ ।

सञ्जीव पौडेल
चराको आवाज सुन्दै डाँडापाखामा, रनवनमा, गामबेंसीमा घुम्ने मान्छे । चराकै आवाजसँग रमाएर बिहानदेखि साँझसम्म जताजता चरा छन् त्यतैत्यतै डुल्ने मान्छे । चराकै आवाजले ब्युँझेर चराकै आवाजसँग निदाउने मान्छे । चराको आवाजलाई बाँसुरीकरण गरेर बाँसुरीमा निकै सास भरेर गाईवस्तुका कान ठाडाठाडा बनाउने ‘बाँसुरी मान्छे’ ।

ताल खुब मन पराउने मान्छे तर तालभित्रका माछासँग बेसरी डराउने मान्छे । शरीरले माछा नसहेपछि लामो समय माछासँग दुर्दुहाइ भएको वर्षौंपछि साथीका लागि फेरि माछा खान सुरु गरेको मान्छे । स्याकलुङ कोट र रुपाकोटको आसपासबाट आउने बिहानी सूर्योदयको झुल्को र साँझपख पश्चिमतिर वेगनासताल वरिपरिको मनमोहक सूर्यास्तलाई नियाल्दै हुर्केको मान्छे । 

Advertisement

चिनामा एउटा नाम छ, औपचारिक कागजातमा अर्कै नाम, बोलाउने नाम अर्कै । यी सबैथरी नामले समेत चित्त नबुझेर अर्को नामसँग प्रेम गरे‘अल्पज्ञानी’ले । यो नामको सौन्दर्यशास्त्र पनि अनौठो छ । उनी डाँडाकाँडामा बाँसुरी समाएर चराचुरुंगीको पछाडि मात्र लागेनन् । उमेरसँगै हृदयको कुनामा प्रेमभाव अंकुरण भएपछि लुकीलुकी खूब प्रेम गरिरहे । पछ्याइरहे प्रेमको स्वादिलो रूप । प्रेम निकै गर्ने, गरिरहने तर सधैं लुकाइरहने मान्छे ।

साथीहरु उनलाई नभनेरै उसका गफ गर्दा उनको अर्को नाम पनि राखिदिन्छन् ‘गुप्त प्रेमी’ । आफ्नै खाले स्वतन्त्र प्रेमभित्र निरन्तर आफैंलाई लुकाउन सफल प्रेमिल मान्छेको नाम हो, अल्पज्ञानी । अल्पज्ञानीको नामले आफ्नो परिचय स्थापित गराएका यी मनुवालाई यिनको वास्तविक नाम देवीरमण हो भनेर लामो समय संगत गरेका धेरैलाई धेरै पछिसम्म पनि थाहा भएन । यी लुक्न सक्ने र लुकाउन सक्ने क्षमता भएका मान्छे । यी सबै हेर्दा यिनको मन पर्ने खेल ‘लुकी डुम’ हुनुपर्छ ।

Advertisement

किशोर वयमा रहँदा गाउँका पाखामा उनी खुब गुलेली चलाउँथे । अनगिन्ती चरा मारे । आफूले मात्र खाएनन्, चराको मासु साथीलाई खुवाए र खुवाए सुत्केरी काकीलाई समेत । बाबासँग खुब डराउँथे । गुलेली काखीमा च्यापेर घरबाट निस्कन्थे र घर फर्कंदा कटेरातिर कतै लुकाउँथे गुलेली । त्यति प्रेम गरेको गुलेलीको उनले एक दिन मार हानेर हत्या गरे । विद्यालयका प्रधानाध्यापकले कक्षामा ‘चरीको बिलौना’ शीर्षकको कविता सुनाएपछि बाबाकै अगाडि छ्याकछ्याक पारेर आँसीले काटे गुलेली । त्यसपछि कहिल्यै गुलेली समाएनन् एउटा प्रेम (गुलेली प्रेम) को यसरी अन्त्य भयो र पनि साकाहारी भने भएनन् । 

माधवप्रसाद घिमिरेको ‘गौरी’ र लेखनाथ पौड्यालको ‘तरुण तपसी’ प्रायशः कण्ठै थियो उनलाई । उनले ३० पटकभन्दा बढी यिनै कृतिका कविता सुनाएकी उनकी हजुरआमा अहिले ९६ वर्षको पाको उमेर बाँच्दै छिन् । उसो त उनले घर नजिकै लप्सीडाँडाको शिवशक्ति प्राविको वार्षिकोत्सवमा कविता सुनाउँदा बाबाका आँखाबाट आँसु झरेको दृश्य उनका आँखामा झल्झली आउँछ ।

तिनै बाबा जससँग उनी अति डराउँथे उनलाई रोगले थला पारेपछि स्नातक पढ्न सपना रोप्दै राजधानी छिरेका अल्पज्ञानी ३ महिनापछि घर फर्के । निरन्तर बाबाको सेवामा लागेका उनले रोगसँग पौंठेजोरी खेल्दै अन्तिम सास फेर्न कति कठिन हुन्छ भन्ने यथार्थबोध गरेका छन् । बाबाको अभाव आज पनि उनलाई धेरै पटक खट्किरहन्छ । 

साथीसंगीमाझ रंगरस गर्न माहिर छन् उनी । उसो त उनी नयाँ ठाउँ भ्रमण गर्न उत्तिकै मन पराउँछन् । उनको रसिक स्वभावले साथीभाइमाझ छिट्टै घुलमिल भइहाल्छन् । गीतसंगीतका पारखी उनी नृत्यमा पनि खुब आनन्द लिन्छन् । उनको यही स्वभावका कारण साथीको जमघटमा उनी खासै छुट्दैनन् । एकान्त कविमनको पहिलो प्राथमिकता हो । उनी थुप्रै पटक एकान्तमा घन्टौं हराएका छन् । त्यही एकान्तले उनलाई जीवनका कथासँग हृदयको साक्षत्कार गराउँछ । उनी भावमा उतार्छन् आफ्ना अनुभव र अनुभूतिलाई र जन्माउँछन् कविता । 

त्यही चरीको बिलौना कविताले उनको हृदयमा काव्यिक छाप यस्तो गहिरो पार्‍यो कि उनी कवितासँग जमेरै प्रेम गर्न थाले । ५० को दशकको मध्यमा पोखरा झरेपछि उज्यालोका गीत, चराका गीत, नदीका संगीत, जीजिविषाका कहानीलाई भाव र लयमा उनेर निरन्तर कविता लेख्दै हिँडे अल्पज्ञानी । पोखरा झरेपछि पोखरेली युवा सांस्कृतिक परिवारको समता काव्य सन्ध्यामा नियमितजस्तै कविता सुनाए ।

पोखराबाटै सञ्चालित संरक्षण कविता आन्दोलन र अक्षरयात्रामा संलग्न भई कविताको सिर्जनामा विभिन्न गाउँठाउँ डुल्दै पनि हिँडे । गजल सन्ध्याको नियमित वाचनमा गजल सुनाइरहे । कविता लेख्ने, सुन्ने र सुनाउने क्रममा उनको आवाज करिब ३० जिल्लामा गुञ्जिसकेको छ । त्यसो त कविताले उनलाई धेरै परिचित गरायो । उनी कयौं प्रतियोगितामा पुरस्कृत र कार्यक्रममा सम्मानित पनि भइसकेका छन् । आफ्नो काव्ययात्रामा पोखरेली परिवेश र साथीको सुन्दर समसाथ पाएकोमा उनी गर्व महसुस गर्छन् ।

कविता लेखनको प्रेरक व्यक्तित्वका रूपमा विद्यालयकै प्रधानाध्यापक फणीन्द्रमोहन शर्मा अधिकारीलाई सम्झन्छन् उनी । ८ कक्षामा पढ्दा विद्यालयमा आयोजित कविता प्रतियोगितामा प्रथम भएपछि उनमा कविता मोह बढ्दै गएको र त्यसले प्रमाणपत्र तह पढ्दादेखि मूर्तरूप ग्रहण गरेको हो । त्यसताका उनको पुस्तक मोह यतिसम्म थियो कि कोठाभाडा तिर्न ल्याएको पैसाले किताब किनेर पढ्थे । गोपालप्रसाद रिमाल, भूपी शेरचन, भूपिन व्याकुल, रमेश श्रेष्ठ, सरस्वती प्रतीक्षाका कविता विशेष रूपमा मन पराउने उनी गद्य र पद्य दुवै शैलीमा कविताका बुन्छन् ।

सुरुमा गद्य कविता लेखेका उनले प्राडा नारायणप्रसाद अधिकारीबाट छन्दको लय सिकेपछि पद्य लयमा पनि कविता लेख्न थाले । साहित्यको यो निरन्तर यात्रामा पोखराका कार्यक्रमसम्म आफूलाई जोड्न निरन्तर खट्ने प्रकाशचन्द्र तिवारीलाई बारबार सम्झन्छन् । यो सम्झनाले उनको सिर्जनाको दियोमा थप प्रेरणाको तेल थपिरहन्छ ।

साहित्य साधनामा लागेको सुरु सुरुको बखत आफन्त र छिमेकीले निकै निरुत्साहित गर्ने गरेको तीतो अनुभव छ उनीसँग । तर घर परिवारबाट भने निरन्तर होस्टेमा हैंसे प्राप्त भइ नै रह्यो । आफूलाई जीवनको यो श्रेणीसम्म आइपुग्दा आफ्ना ठूल्दाजु राजेन्द्रको निकै ठूलो साथ पाएकोमा उनी आफुलाई लाई भाग्यमानी ठान्छन् । 

साहित्य सिर्जनाले मात्र उनको तीर्खा मेटिएन । उनी सम्पादनको कार्यमा पनि आबद्ध भए । आफैं सम्पादक भएर ‘करुवा’ नामक साहित्यिक पत्रिका प्रकाशन गरे उनले । करुवा प्रकाशनको धेरैपछि सम्मोहन साहित्यिक पत्रिकामा पनि उनी सम्पादक बने । साहित्य सिर्जनाको संसार र व्यवहारिक जीवनको संसारमा निकै ठूलो भेद हुन्छ । अल्पज्ञानी पनि यस यथार्थलाई स्वीकार्छन् । व्यावहारिक जीवनले उनलाई ‘देवी सर’ बनाएर विगत १६ वर्षदेखि निरन्तर चक, डस्टर र मार्कर खेलाउँदै विभिन्न विद्यालयमा पु¥यायो । शिक्षक बनेर अध्यापनमा लागेका उनी हाल एक निजी विद्यालयको सञ्चालक बनेर शिक्षासेवामा निरन्तर क्रियाशील छन् ।

उसो त उनलाई जिन्दगीले ‘देवीरमण’ बनाएर कृषि सहकारीमार्फत् गाउँको स्थानीय उत्पादन बढाउने उद्देश्यका साथ कुखुरापालन र गाईपालनमा गोठसम्म पनि लग्यो । शिक्षण र व्यवसायकै चाकाचुलीमा उनी जिन्दगीको रथ हाकिरहेका छन् । उनको व्यावहारिक संलग्नता शिक्षण र व्यवसायमात्रै भने होइन । यसै क्रममा उनले समाधान दैनिकमा आबद्ध भएर १ वर्ष सेवा पनि गरे । साहित्य सिर्जना र व्यवहारिक जीवन समानान्तर बनाउन नसकेको बताउने उनी साहित्य सिर्जना रुटिन बनाएर गर्न नसकेकोमा उनी आफैंसँग गुनासो गर्छन् । 

पोखराको साहित्यिक क्रियाशीलता खूब मन पराउने यी कवि पोखरामै बसेर निरन्तर २ दशक काव्य साधनामा लागेर पनि कविताको कृति भने पस्कन सकेका छैनन् । कविताको सबै पाण्डुलिपि तयार पारेर भूमिका लेखाइसकेर पनि आफ्ना कवितामा उनले आत्मविश्वास भेट्न सकेनन् । एउटा समय र कृति प्रकाशनका लागि आफैंले म्याद थपे । मूलत कविताको स्वादमा पौडिन मन पराउने यी कवि गीत, गजल, कथा, लघुकथा पनि लेखिरहन्छन् । थुप्रै नाटक लेखेर मञ्चन गराएका उनी दोस्रो जनआन्दोलनमा सडकमा नाटक मञ्चन र कविता वाचनमा निरन्तर सक्रिय रहे । 

पोखरेली परिवेशमा पछिल्लो समयमा केही कवि ठूलो सम्भावना बोकेर उदाएकामा उनी उत्साहित छन् र काव्यिक उन्नयनप्रति आशावादी पनि । यति हुँदाहुँदै पनि केही स्रष्टामा सिर्जना हुर्कन नपाउँदै अहमता मौलाएकोमा उनी चिन्ता व्यक्त गर्छन् । भन्छन्, ‘कलाको क्षेत्रमा लाग्नेहरूले अहम त्याग्न सक्नुपर्छ । अहम त्यो आगो हो जसले सिर्जनाको कलिलो मुनालाई डढाएर खरानी बनाइदिन्छ ।’

सुन्दर जीवन सबैको रोजाइ हो । भनेजस्तै जिन्दगी कसैले पनि भोग्न पाउँदैन । सपनाको संसारसम्म पुग्नबाट धेरै कुराले छेक्छन् एउटा व्यक्तिलाई । यी कविलाई पनि सपनाजस्तै जिन्दगी जिउने ठूलो रहर थियो । अरूले जस्तै यिनले पनि त्यो अवसर आजसम्म पाएका छैनन् । मान्छे आफु भनेजस्तो जिन्दगी बाँच्न नपाउनुमा अरूलाई दोष दिन्छन् । यी कवि भने आफ्नै महत्वाकांक्षाले जीवनलाई चाहेजति सुन्दर बनाउन नसकेको बताउँछन् । र पनि उनी जीवनसँग चरम असन्तुष्ट भने छैनन् ।

क्षमता अनुसारको सिर्जनामा लाग्न नसकेको बताउने उनी अब भने सिर्जनाका लागि विशेष समय छुट्याउने र योजना बनाएरै सिर्जना कर्ममा समर्पित हुने तयारीमा छन् । ‘२ सन्तान ईश्वरका वरदान’ भन्ने भनाइलाई चरितार्थ बनाएर ईश्वरको वरदानजस्तै जिन्दगी बाँच्न पाएका उनी परिवारबाट सन्तुष्ट छन् । सिर्जनामा जहानको अंकुश नरहेकोमा उनी जीवनसाथीप्रति गर्व गर्छन् ।

व्यावहारिक जीवनमा २ सन्तान जन्माएका यी कविको काव्यिक सन्तानसँग भेट गर्न काव्य पारखी आतुर छन् । यिनै कवि माघे संक्रान्तिका दिन एकल छन्द कवितावाचनमा उभिँदै छन् पुछारसिटे अभियानको ब्यानरमुनि । प्रकृति र मानवताका बिम्बमा सिर्जनाको लिंगेपिङ खेलिरहेका यी कविलाई सिर्जनात्मक जीवनको हार्दिक शुभकामना !

तपाईको प्रतिक्रिया