चिसो छल्न मुस्ताङबाट पाेखरा आएका घुम्ती विद्यालयबीच प्रतियोगिता

समाधान संवाददाता २०७५ माघ २ गते ११:५४

सुन्दरकुमार थकाली
पोखरा, १ माघ –
हिउँदयामको चिसो छल्न उपल्लो मुस्ताङबाट पोखरामा घुम्ती कक्षा सञ्चालन गर्दै आएका विद्यालयबीच २ दिने अतिरिक्त क्रियाकलाप भएको छ । हाजिरीजवाफ तथा वक्तृत्वकला प्रतियोगिता भएको मुस्ताङ शाक्य वौद्ध संघले जनाएको छ ।

पोखराको हेमजामा सुरु भएको प्रतियोगितामा मुस्ताङका ६, कास्कीका २ बुद्धिस्ट गुम्बा विद्यालय, २ सामुदायिक आधारभूत विद्यालयले सहभागिता जनाएका थिए ।

उपल्लो मुस्ताङका विद्यालयमा पढ्ने बालबालिकाको नैतिक शिक्षा तथा विद्यमान आधुनिक शिक्षाको विकास गर्ने उद्देश्यले बौद्ध संघले कार्यक्रम आयोजना गरेको बौद्ध संघका उपाध्यक्ष छिरिङटसी गुरुङले जानकारी दिए । उनले संघमार्फत उपल्लो मुस्ताङमा सञ्चालित गुम्बा तथा सामूदायिक विद्यालययलाई लक्ष्य गर्दै वर्षेनी रचनात्मक कार्यक्रम गर्दै आएको बताए । संघले २०१६ देखि उपल्लो मुस्ताङका गुम्बा तथा सामुदायिक विद्यालययलाई एकै मञ्चमा राखेर नीति शिक्षा तथा वर्तमान आधुनिक शिक्षाको विकासका लागि विभिन्न कार्यक्रम आयोजना गर्दै आइरहेको छ ।

Advertisement

हेमजास्थित पेमा छाल उच्च शिखर विद्यालययमा भएको कार्यक्रममा प्रदेश सांसद इन्द्रधारा बिष्टले बुद्धिस्ट धर्म तथा सामूदायिक विद्यालयको शैक्षिक गुणस्तर अभिवृद्धि गर्न यस्ता कार्यक्रम फलदायी हुने बताए । उनले उपल्लो मुस्ताङका बालबालिकाको शैक्षिक भविष्य उज्ज्वल गराउन संघले गरेको कार्यक्रम उत्कृष्ठ रहेको बताए । यसअघि मुस्ताङ शाक्य बौद्ध संघका लामा गुरुबाट पुजा आराधना गरिएको थियो । कार्यक्रममा शिक्षा विकास तथा समन्वय इकाइ मुस्ताङका प्रमुख मतिलाल चपाईँले विद्यार्थीमा क्रमिक आउने परिवर्तनलाई शिक्षामा बदल्नु पर्ने बताए ।

हाजिरीजवाफ तथा वक्तृत्वकला प्रतियोगितामा ८ गुम्बा विद्यालयय र २ सामुदायिक विद्यालयय गरी ५० जना विद्यार्थीबीच प्रतिस्पर्धा गराइएको छ । खुला वक्तृत्वकला विधातर्फ नेपाली, अंग्रेजी र तिब्बतीयनगरी ३ भाषामा अलग अलग प्रतिस्पर्धा गराइने प्रतियोगिता आयोजक बौद्ध संघले जनाएको छ । नेपाली भाषामा ‘असल बानीको विकास’, अंग्रेजीमा ‘युवा पुस्ताको भूमिका’ र तीब्बतीयन भाषामा ‘धर्मको महत्व’बारे प्रतिस्पर्धा हुने संघले जनाएको छ ।

Advertisement

गुम्बा तथा सामुदायिक विद्यालयका ५–५ जना विद्यार्थीले प्रतियोगितामा भाग लिने छन् । मुस्ताङबाट नीफुक धार्केलिङ गुम्बा छोसेर, पाल नाम्ग्याल गुम्बा छोनुप, महाकरुणा शाक्यापा गुम्बा लोमान्थाङ, चराङ धार्केलिङ गुम्बा चराङ, कागछोदे गुम्बा कागबेनी, राष्ट्रिय आधारभूत विद्यालय लोमान्थाङ, जनज्योति आधारभूत विद्यालय घीलिङ, जोमसोम गुम्बा विद्यालय, हिमालय बुद्धिस्ट एकेडेमी पोखरा र पेमा छाल शाक्या आधारभूत गुम्बा विद्यालयले सहभागिता जनाउँदै छन् ।

उपल्लो मुस्ताङबाट घुम्तीमा पोखरा झरेका कतिपय सामुदायिक विद्यालयले भने कार्यक्रममा सहभागिता जनाउन सकेनन् । बौद्ध संघले उपल्लो मुस्ताङमा सञ्चालन भएका बुद्धिस्ट गुम्बा विद्यालयको स्तरोन्नति तथा शैक्षिक विकासमा योगदान गर्ने लक्ष्य लिएको जनाएको छ ।

तपाईको प्रतिक्रिया