देख्ने र लेख्ने– लेखनाथ
निर्मला न्यौपाने
देख्ने द्रष्टा हो । ऊ नै दार्शनिक हो । जंगबहादुरको भरियाले बाङ्गो रूखलाई बाङ्गो भन्यो । सत्यको पक्षपाती ऊ तत्क्षणका लागि दार्शनिक बन्यो । यस्तै–यस्तै लहरमा लेखनाथ न्यौपाने उभिँंदै आएका छन् ।
कम्युनिस्ट सिद्धान्तका इमान्दार भरिया लेखनाथ न्यौपानेले आजभन्दा ठीक १ वर्ष अगाडि एउटा सुन्दर दर्शनको प्रक्षेपण गरेका थिए, ‘खड्ग ओलीजी, त्यसो भए एमालेसँग हाम्रो एकता हुँदैन !’ यहाँ ‘त्यसो भए’ अर्थपूर्ण छ । यो पोहोरको कुरा हो । यो भनाईले मिडियामा निकै चर्चा पाएको थियो । जे होस् एमाले र माओवादी केन्द्रबीच एकता भयो÷हँुदैछ । लेखनाथ न्यौपाने एकताकै विरोधी थिएनन् । उनले त्यहीं प्रष्ट्याएका थिए, ‘एकता गर्नुपर्छ भन्ने विषयसँग म सहमतै छु । पार्टी एकता अहिलेको बाध्यता हो तर पार्टी एकताका निम्ति मूलभूत आधारहरु चाहिँ तयार हुनुपर्छ ।’
०७४ पुस ११ को ‘सिन्धुली सौगात’ मा यो अन्तर्वार्ता छापिँंदा सम्पादकीय टिप्पणी यस्तो थियो, ‘अध्ययनशील र तर्कशील न्यौपाने आफ्ना कुरा प्रष्टसँग राख्न हिच्किचाउँदैनन् । माओवादी शान्ति प्रक्रियामा आएयता उनका धेरै कार्यकर्ता मन्त्रीसम्म भइसके । धेरैले धेरै–धेरै लाभ लिए । तर, न्यौपाने लाभको राजनीतिबाट टाडै छन् ।’ उनै नेता लेखनाथ न्यौपानेको स्रष्टा व्यक्तित्वलाई अहिले म नियाल्दैछु ।
लुृसुन बहुलाएका थिए । लक्ष्मीप्रसाद देवकोटा बहुलाएका थिए । हाम्रा शक्तिशाली कवि बलराम तिम्सिनाले आफूलाई बौलाहा घोषित गरे–
‘तिमी–हामीले देखेको सपना
जब हात्तीबाट मुसो भयो
र, त्यो पनि चोपलियो पानीमा
तिमीले जब खुसीयाली मनायौ त्यो क्षण
मेरो सपनाको छत्र भंग हुँदा
कसरी सद्दे रहन सकिन्छ कमरेड,
म खप्नै नसकेर बौलाएँ ।’
साथीसँग जीवनको उल्लास र रोमाञ्च साट्दै हिँड्ने बेला माथिबाट झरेको ब्वाँसोले मलाई उसले माथि खान लागेको पानी धमिल्याएको बात लगायो । सत्ता–शक्तिको दुरुपयोग ग¥यो । म खप्नै नसकेर बौलाएँ । ठाडै भनिदिएँ, ‘मैले जन्माएको छोरी तिम्रो होइन, मायाको स्वाङ् गर्नुपर्दैन !’ ७ साले प्रजातन्त्रले रिमाललाई बौलाहा बनाएको थियो । अहिलेको लोकतन्त्रले निर्मला पन्तका पितालाई बहुलाउन बाध्य पार्दैछ ।
गोकुल जोशीमा यस्तै विक्षिप्तता बढ्दा श्यामप्रसाद शर्माले भरथेग गरेर अड्याउँथे भन्ने पढ्न पाइन्छ । लेखनाथ न्यौपानेको ‘संघर्षको इतिहास’ मान्छेलाई बहुलाउन नदिने उपायको खोजी हो । यद्यपि सत्य के हो भने आज संघर्ष, क्रान्ति, परिवर्तन, त्याग, बलिदान जस्ता शब्द ओजहीन बनेका छन् । आज यी शब्दले हिजोको ऊर्जा बोक्दैनन् । यी आफै निरीह छन् ।
उहिल्यै हवाई अपहरणको आँट गर्ने दुर्गा सुवेदी वा भर्खरै गृहमन्त्रीको अगाडि विषपान् गर्ने युवा यसका ज्वलन्त उदाहरण हुन् । उनीहरुको वीरता र संघर्षको इतिहासलाई कालले आफ्नो गर्भमा विलीन गरिदियो । अहिले संघर्षको अर्थ अलिकति आत्मआल्हादको ‘स्वाभिमान’ बचाएर अभावग्रस्त जीवन बाँच्नु नै हो । घुस ख्वाउन नसकेर विदेश पलायन गर्नु हो । हिस्सी हराएको हाँसोमा ङिच्च–ङिच्च गर्दै कार्यकर्ताले नेताका अगाडि गुनासो पोख्नु हो । यस्ता गुनासा चन्द्रशमशेरको चाकरको बिन्तीभन्दा अर्थहीन हुन्छन् ।
घाम सम्पूर्ण उज्वलता लिएर उदाउँथ्यो । आकासको नीलिमा मनोहारी लाग्थ्यो । पहाडको काँध–काँधमा उक्लिँदै माछापुच्छे« ढाक्ने बादलका लहरले मन उमंगीत बनाउँथ्यो । ०६२÷०६३ को सफल जनआन्दोलनले नेपाली राजनीतिको संघर्षको इतिहासलाई गौरवपूर्ण बनाएको थियो ।
मञ्चमा उक्लिने प्रत्येक माओवादी नेता ‘महान तथा गौरवशाली क्रान्तिकारी पार्टी’ उच्चारण गर्न कहिल्यै छुटाउँदैनथ्यो । उत्साहका ती दिनहरुमा (०६५) पोखरामा मैले ‘संघर्षमा कलम’ नामको संस्था खुलेको पत्तो पाएँ ।
त्यसका संस्थापक अध्यक्ष असफल गौतमले ०६६ मा ‘संघर्षका पाइलाहरु’ उपन्यास लेखेका थिए । कलिलै उमेरका ती मित्रको उपन्यास लेख्ने हिम्मतले हौसिएर आफू पनि ‘संघर्षमा कलम’ घोट्न थालेकी थिएँ । आफ्नो विषय शिक्षक शान्ति म्याम ‘समाजशास्त्र’ बुझाउनुहुन्थ्यो । नेपालीका गुरु हुमकान्त पाण्डे साहित्य लेख्न प्रेरित गर्नुहुन्थ्यो ।
पृथ्वीनारायण क्याम्पसका ती गुरु आफैले लडेर ल्याएको बहुदल देखेर वैराग्यका अवस्थामा पुगेका थिए । रिटायर्डपछि पोखराबाट अलप भए । प्रश्रितजीको ‘गोल घरको सन्देश’ युवा जोशकालाई जबर्जस्त मुठ्ठी कस्न लगाउने काव्यकृति हो । सरल सहयात्रीले ०६४ मै ‘क्रान्तिका कथाहरु’ प्रकाशनमा ल्याएका थिए । यस्ता केही पढिए । ‘जनयुद्ध जारी छ’ (०६५) मा आफ्नै दामलका मन क्षेत्रीको गजलले निकै छोएको थियो–
‘खेत जति साहुको बन्धक आफ्नो थोरै बारी छ
नरोउ प्रिय दिन आउँछ जनयुद्ध जारी छ ।’
त्यहाँदेखि यहाँसम्मको दिव्य १० वर्षको अन्तरालमा सेतीमा बगेको पानीको हिसाब गर्न सकिँदैन । हाम्रो पानी र जवानी लगातार तल बगेर खेर गइरहेको छ । संघर्ष जाडो यामको मगन्तेझैं कठाङ्रिएको छ । यही बेला लेखनाथ न्यौपानेको ‘संघर्षको इतिहास’ पढ्न पाइयो । यो सानो समुदै्र हो भन्ने लाग्यो । गहिराइसम्म पौडिने हैसियत राख्दिनँ । छेउको पानीले मुख धुन्छु ।
आवरण सज्जालाई मायाले मुसारेपछि ‘मेरो भनाइ’ मा घोत्लिएँ– ‘आज सिद्धान्त, जीवन र व्यवहार एवं पुस्तक अध्ययन र बैठकको परिचय स्खलित छ (पृष्ठ ७) ।’ समाजवाद, अर्थशास्त्र, दर्शनशास्त्र र विद्यार्थी आन्दोलन मूलत ४ भागमा ‘संघर्षको इतिहास’ वर्णित छ ।
२ लाइन संघर्ष
‘फरक मत वा लाइनबीचको संघर्षलाई २ लाइन संघर्ष भनिन्छ । अन्तरसंघर्ष र २ लाइन संघर्षको चरित्र वा प्रकृति रचनात्मक, निर्माणात्मक, सहयोगात्मक र मित्रतापूर्ण हुन्छ (२६) ।’ त्यस्तो भएन ।
वर्गीय अधिनायकत्व
‘सत्ताच्यूत तर बढी शक्तिशाली पुँजीपति वर्गको विरुद्ध नयाँ वर्गको अत्यन्त दृढ र निर्मम संग्रामको नाम नै सर्वहारा वर्गको अधिनायकत्व हो (२९) ।’ नेतृत्वको ध्यान त्यस्तो भेटिँदैन ।
विश्व कम्युनिस्ट आन्दोलनलाई कसरी अध्ययन गर्ने ?
समग्र विश्व कम्युनिस्ट आन्दोलनलाई ४ चरणमा बाँडेर अध्ययन गर्दा बुझ्न सजिलो हुन्छः
– प्रारम्भदेखि पेरिस कम्युनसम्म ।
– पेरिस कम्युनदेखि अक्टोबर समाजवादी क्रान्तिसम्म ।
– अक्टोबर समाजवादी क्रान्तिदेखि सर्वहारा सांस्कृतिक क्रान्तिसम्म ।
– सर्वहारा सांस्कृतिक क्रान्तिदेखि हालसम्म ।
ध्ययनको सारलाई मानसपटलमा उतार्दा इतिहासको रोचकता सघन बन्दै जान्छ । ऐतिहासिक चेतना झंकृत हुन्छ । पुस्तकको मुख्य महत्व यो हो कि यसले शुष्क लाग्ने दर्शनलाई सुस्वादु पारेर पस्केको छ । समाजवाद खण्डमा– काल्पनिक समाजवाद, वैज्ञानिक समाजवाद, अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलन, विभिन्न देशका कम्युनिस्ट आन्दोलन, नेपाली कम्युनिस्ट आन्दोलन, नेपाली जनयुद्ध, चुनावमा कम्युनिस्ट, एमाले र माओवादी एकता, नेता–नेतृत्व र कार्यकर्ता, राष्ट्रियता, नेपालको जनसंख्या, नेपालको सीमाना, नेहरु सिद्धान्त, इतिहास, शक्ति–षड्यन्त्र र हत्या, राज्यविरुद्धका विद्रोहहरु उपशीर्षक समेटिएका छन् ।
राजनीतिक अर्थशास्त्र खण्डमा– पृष्ठभूमि, आर्थिक सिद्धान्त, राजनीतिक अर्थशास्त्रको परिचय, राजनीतिक अर्थशास्त्रका पारिभाषिक शब्दहरु उपशीर्षकमा व्याख्या छ । दर्शनशास्त्र खण्ड– यहाँ परिभाषा, दर्शनको उत्पत्ति र विकास, दर्शनशास्त्रका २ विश्वदृष्टिकोण, दर्शनशास्त्रको आधारभूत प्रश्न, माक्र्सवादी दर्शन, द्वन्द्वात्मक भौतिकवादको सिद्धान्त र ऐतिहासिक भौतिकवाद वर्णित छ ।
विद्यार्थी आन्दोलनमा विभिन्न विद्यार्थी धाराहरुको उल्लेख छ र सन्दर्भसूची सहित ४ सय २ पृष्ठसम्म फैलिएको ग्रन्थको बीट मारिएको छ । यहाँ एउटा सन्दर्भमा म सूर्यलाई बत्ती देखाउन बाध्य छु । त्यो के भने, धर्मबारे पुरै ग्रन्थ लगभग मौन छ । सत्तासीन पार्टीको नेतृत्वले क्रिस्चियन धर्मलाई धाप मात्रै मारेन, काँध हालेर बोक्यो । नेपाली कांग्रेसले मौकामा चौका ठोक्न हिन्दू धर्मलाई ७ आकाश उचाल्न खोज्दैछ । विशाल जनचासोको यस्तो विषयमा ग्रन्थको अर्को संस्करणले केही बोल्नै पर्छ कि ?
बेलायतको इतिहासमा गौरवमय क्रान्ति रोमाञ्चक लाग्छ । सन् १६४९ जनवरी २७ का दिन न्यायालयले राजा चाल्र्स प्रथमलाई फाँसीको निर्णय सुनायो । ३० जनवरीमा दरबारकै प्रांगणमा राजालाई फाँसी दिइयो । ‘देशको सत्रुको टाउको’ भन्दै काटिएको टाउको देखाउँदा धेरै नै जनता मर्माहत भए । राम्रो होलाको आशाले जनता बोलेनन् तर क्रान्तिकारी क्रामबेलहरुले राम्रो गरेनन् । ११ वर्षपछि सन् १६६० मे २९ का दिन चाल्र्स प्रथमका छोरा चाल्र्स द्वितीय फेरि बेलायतका राजा भए ।
नेपालमा पनि राजा ल्याइने हल्ला व्यापक पारिंदैछ । पूर्व राजालाई अपूर्व भक्ति भाव देखाइँदैछ । हिमानी र हृदयेन्द्र मायालु अनुहारका देखिन्छन् । भन्नैपर्छ, सत्ताका कमरेडहरु क्रुर बनेका छन् । संघीयता सफलपार्ने स्थानीय तहले हो । त्यहाँका सिंहहरु हिजोका स्यालभन्दा घिनलाग्दा छन् । मलाई ‘नारीबन्धन र मुक्ति’ कै चेलीको भाषा दोहोर्याउन मन लाग्छ । मानवीले भनेकी छिन्, ‘दाइ, मैजस्ताको पक्षमा बोलिदिनु होला है !’ मानवी स्वयं मन्त्री भइन् तर कथाकी मानवीले भन्दा समाजका मानवीले धेरै चर्को हिँसा व्यहोर्नु पर्दैछ ।
आदरणीय न्यौपाने दाइको एउटै स्टाटसमा मैले सलाम भनें । सिंगो कृति पढेर गद्गद् भएकी छु । लेखनाथ न्यौपाने द्रष्टा हुन् । देख्छन् र न्याय–अन्याय छुट्याएर लेख्छन् । सत्रुहरुसँग जुध्ने दाइ ‘मित्र’ हरुसँग कसरी जोगिनु होला ? दाइसँग सत्यको शक्ति छ । शक्तिसँग सबै झुक्छन् । पूर्व राजा, राष्ट्रपति, प्रधानमन्त्रीलाई घेरेर झुक्नेहरुले झुक्याएको पाइँदैछ । जनताले लगातार झुक्किनुपरेको छ । यसैले पुस्तक पढेर चट्टानी सोंचलाई आत्मसात गर्दागर्दै हिन्दी फिल्मको डाइलगले सुझाव टक्रयाउन चाहें–
‘मुझे तो अपनो ने लुटा
गैरो में कहाँ दम था
मेरा कस्ति वहीं डुबा
जहाँ पानी कम था !
तपाईको प्रतिक्रिया