विद्यालय, विद्यार्थी र शिक्षक

समाधान संवाददाता २०७५ माघ २ गते १२:३०

मोती भुजेल

वर्तमान दुखी भयो भने अतीतमा १ छाक मिठो खाएको, राम्रो लगाएको पनि सम्झना भइरहन्छ । तर, वर्तमान राम्रो छ भने अतीतको सम्झना गर्नुपर्दैन । अहिले वर्तमानप्रति आक्रोस छ । त्यसो त मान्छे वर्तमानसँग सन्तुष्ट भएर बस्न मिल्दैन । तर, यहाँ वर्तमानप्रतिको आक्रोसले अतीतको याद दिलाइरहेको छ । ६ दशक सम्मका प्रत्येक शैक्षिक सत्रमा स्कुलले कहिले मिठो छाक पस्कयो त कहिले नमिठो छाक पनि पस्केकै हो ।

पहिले भान्छा नराम्रो भए पनि खाना मिठो थियो तर, अहिले भान्छा राम्रो छ । तर, खाना मिठो छैन । भनाइको मतलब पहिला स्कुलको पूर्वाधार नराम्रो हुँदा पनि राम्रो शिक्षा पाइएको थियो । तर, अहिले स्कुलको पूर्वाधार राम्रो छ । तर, राम्रो शिक्षा पाउन सकिएको छैन । त्यसको भागीदार म पनि हुँ र तपाई पनि हो । अतीतको मिठो सम्झनालाइ सम्झेर वर्तमानमा केहि गर्नै सकिएन भनेर पछुताउनु भन्दा सुन्दर भविष्यको कल्पनामा आज र अहिल्यै यहि केही गरौं । सुरुआत आफैंबाट गर्नुपर्छ । अभिभावक, विद्यालय प्रशासन, विद्यार्थी र शिक्षक मिलेर सुन्दर समाजको निर्माण गरौं ।

Advertisement

मानिसको जमातबाट समाज निर्माण हुने भएकोले समाजभित्र रहेका आम मानिसहरु समाजप्रति उत्तरदायी हुन्छ । उनीहरुले गर्ने हरेक क्रियाकलापले समाज राम्रो या नराम्रो बाटोतिर अघि बढिरहेको हुने भएकोले समाजभित्रका हरेक मानिसले देश विकास र समृद्धिको लागि अहम भूमिका खेल्न केही कुराहरु गर्न आवश्यक छ । हरेकले आफ्नो गाउँ, टोल, समाजमा विद्यालयलाई संरक्षण संबद्र्धन र सहयोग गर्नुपर्छ ।

आफ्नो र आफू मातहतका र छिमेकीका नानीबाबुलाई विद्यालयमा भर्ना गराउन सहयोग गर्नुपर्छ । विद्यालयको प्रिन्सिपल यो जातको, त्यो जातको, त्यो क्षेत्रको, यो समुदायको, यो राजनीति पार्टीको भनेर घेराबन्दी र असहयोग गर्नु हुन्न । विद्यालयको प्रमुख आवश्यकता भनेको दरबन्दीअनुसारका योग्य र सक्षम शिक्षकको व्यवस्थापन नै हो ।

Advertisement

बाबुनानीको उज्ज्वल भविष्यको लागि जाति, धर्म, समुदाय, भाषा र राजनीतिको आधारमा भेदभाव गर्नु हुँदैन । सभ्य ढंगले बिना भेदभाव बिना पूर्वाग्रह शिक्षालाई समान व्यवहार र सम्मान गर्नुपर्छ । ताकि विद्यालयमा राम्रो शिक्षण सिकाइ वातावरण सिर्जना हुन सकोस् ।

नराम्रोलाई नराम्रै र राम्रोलाई राम्रै भन्न, अन्याय गर्नु हुन्न । अहिले क्षमतावान् शैक्षिक जनशक्तिलाई शिक्षकका रूपमा ल्याउन नसक्दा तथा योग्य, दक्ष एवं वरिष्ठ शिक्षकलाई विद्यालयको नेतृत्व दिन नसक्दा विद्यालयको अपेक्षित प्रगति हुन सकेको छैन ।

नेपालमा जबसम्म असल चरित्रको, अनुशासित, मेहनती, सभ्य, सकारात्मक सोंच, मानवीय र नैतिकवान शिक्षक, विद्यार्थी, अभिभावक र समाज अनि दुरदृष्टि राख्ने स्थिर सरकारको उत्पादनमुखी, श्रमप्रति सम्मान गर्ने, दक्ष मानव शक्ति उत्पादन गर्ने, श्रमसित जोडिएको शिक्षा, बिभेदरहित, समाबेसी शिक्षा नीति हुँदैन तबसम्म देशका नवजवान बेरोजगार रहन्छन् र विदेशी भूमिमा लाखौंलाख युवाशक्ति आफ्नो श्रम बेच्न बाध्य हुनेछन् । यसर्थ कुनै पनि दलको सरकार होस् देशलाई समुन्नत बनाउने, आत्मनिर्भर बनाउने, उपयोगी जनशक्ति उत्पादन गर्न सक्षम हुने शिक्षा नीति लागु गरी शिक्षामा आमूल परिवर्तन ल्याउनुपर्छ ।

शिक्षक सेवा आयोगले अस्थायी शिक्षकको आन्तरिक प्रतियोगिताको नतिजा सार्वजनिक गरेपछि परीक्षामा असफल भएका तथा परीक्षामा सहभागी नै नभएका अस्थायी शिक्षक शिक्षण पेसाबाट बाहिरिँदै छन् । शिक्षण पेसाबाट विस्थापित हुने निश्चित भएका हजारौं अस्थायी शिक्षक स्वाभाविक रूपमा विद्यालयमा आएर पढाउने मनस्थितिमा देखिँदैनन् ।

सरकारी कार्यशैली र बेवास्ताका कारण आफूहरू अपमानित हुनुपरेको हो भन्ने उनीहरूको दुखेसो छ । कानुनत यस्ता शिक्षकले पाउनुपर्ने सुविधाबापतको ‘गोल्डेन ह्यान्डसेक’ को व्यवस्था तथा सम्मानजनक बहिर्गमनको वातावरण निर्माण गर्न शिक्षा मन्त्रालयले अहिलेसम्म सार्थक प्रयास थालेकोे छैन । सुविधाबापत दिने भनिएको आर्थिक स्रोतको व्यवस्थापन पनि अन्योलपूर्ण नै देखिन्छ । लामो समयसम्म शिक्षा क्षेत्रमा सेवा दिएका वैदेशिक शिक्षकको हकमा पनि उचित सम्मान दिन विद्यालय प्रशासन वा सरकारपछि हट्नु हुँदैन । कथित असफलताको बिल्ला बोकेर अस्थायी शिक्षक विद्यालयमा नियमित शिक्षण कार्यमा लाग्न सक्ने अवस्थामा पनि छैनन् यतिखेर ।

जतिसक्यो छिटो विद्यालय छोड्ने चाहना राखेको पाइन्छ यस्ता शिक्षकले । तर, यस्तो संवेदनशील विषय हल गर्नसमेत सरकार ढिलासुस्ती गर्दै छ । फेरि बहिर्गमित अस्थायी शिक्षकको रिक्त स्थानमा शिक्षक पदपूर्ति पनि तुरुन्तै हुने छाँटकाँट देखिन्न । यसबाट सामुदायिक विद्यालयको पठनपाठनमा गम्भीर क्षति पुग्न सक्छ । विषयगत दरबन्दीको व्यवस्थापन र शिक्षक उत्प्रेरणाका कार्यक्रम नल्याएर केवल कस्मेटिक तामझामले मात्र सामुदायिक विद्यालयको गुणस्तर सुधार हुन सक्दैन । अभिभावकले विद्यालयको शैक्षिकस्तर बढाउन र राम्रो बनाउन विद्यालयलाई हरेक क्षेत्रमा सहयोग गर्नुपर्छ । दीगो शैक्षिक वातावरण तयार पार्न सक्रिय भूमिका खेल्नुपर्छ ।

घर प्रथम पाठशाला भएकोले आफ्ना बाबुनानीमा अनुशासन, नम्र, मेहनती हुन र सकारात्मक सोंच विकासका लागि अभिभावकको महत्वपूर्ण भूमिका रहन्छ । बच्चाको खराब पक्षलाई ढाकछोप नगर्ने र राम्रो पक्षको प्रशंसा गर्ने बानी बसाल्नुपर्छ । विद्यालय प्रशासनलाई धम्काउने, असहयोग गर्ने, सामन्ती प्रवृति देखाउने, नीच भाव देखाउने जस्ता असामाजिक व्यवहार भए तुरुन्त हटाउँदै विद्यालयप्रति सदैव सकारात्मक सोंच राख्ने ।

सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर खस्किँदै गएकोमा सर्वत्र चिन्ता र चासो अभिव्यक्त हुने गरेको छ । विद्यालय राम्रोसँग सञ्चालन हुन विद्यालय प्रशासनको ठूलो भूमिका रहेकोले सक्षम योग्य क्षमतावान कुशल र अनुशासित प्रशासकको चयन गर्नुपर्छ । शिक्षक, विद्यार्थी र अभिभावकको मन जित्न, संयोजनकारी भूमिका निर्बाह गर्न सक्ने विवेकी, निस्वार्थी, समान व्यवहार गर्न सक्ने, भेदभाव नगर्ने मनोविज्ञान बुझ्ने, संयम र सदाचारी प्रशासकले विद्यालयको सर्वत्र विकास गर्न सक्षम हुन्छ । यति भएर पनि सबै भने जस्तो हुनलाई त २ प्रमुखपात्र शिक्षक–विद्यार्थीको अहम भूमिका त छ नै ।

पढ्दा सधैं रमाइलो मानी एकाग्र भई नयाँ कुरा सिक्न सदैव तयार हुने । नबुझेको कुरा गुरु तथा जान्ने व्यक्तिलाई सोधेर सिक्ने बानीको विकास गर्ने । पढिसकेको कुरालाई समयसमयमा दोहो¥याउँदै सफा र सुन्दर अक्षरले स्पष्ट रुपमा नोट तयार पारी परीक्षा आउनु अगाडि पढ्ने । यस्तो बानीले परीक्षामा राम्रो अंक ल्याउन मद्दत गर्छ । अतिरिक्त ज्ञान बढाई विद्यालयमा हुने अतिरिक्त कार्यक्रममा भाग लिने । पत्रपत्रिका, कोर्षभन्दा बाहिरका किताब पढ्ने । अग्रजहरुप्रति आदरभाव प्रकट गरी सम्मान गर्नुपर्छ ।

आफ्नो साथी र भाइबहिनीप्रति मिलनसार र मयालु बन्दै नेतृत्वदायी भूमिका खेल्ने । आफूले सिकेको, पढेको, अनुभव गरेको ज्ञान–सीप व्यवहारमा उतार्ने र अरुलाई पनि सिकाउने बानी बसाल्नुपर्छ ।

शिक्षकसँग पुस्तक छ, पाठ्यक्रम र पाठ्यपुस्तक छैन । तर पनि सिकाउने कार्य भनेको पूण्य कामका साथै जटिल काम भएकोले असल शिक्षकले आफूलाई दूरुस्त पारीराख्न नयाँ–नयाँ ज्ञान, सीप सिक्दै ज्ञान बढाउँदै लैजान अध्ययन–अनुसन्धान निरन्तर गरिरहनुपर्छ । शिक्षा सचिव खगराज बरालको ‘सिकाउने शैली’ पुस्तकले पनि शिक्षकलाई शिक्षण पेसामा सहयोग मिल्ने देखिन्छ ।

शिक्षकले आफूले हासिल गरेको ज्ञानको आधारमा नभई विद्यार्थीको क्षमता बुझेर उनीहरुको क्षमता स्तरको आधारमा बोझ नहुने गरी पढाउँदा विद्यार्थीले बुझ्न सक्छन् । शिक्षकले विद्यार्थीलाई ज्ञान दिने बेला आत्मादेखि उत्साहका साथ हसिलो भई पढाउँदा त्यसले कक्षामा सकारात्मक ऊर्जा पैदा गर्छ । फलत विद्यार्थी पढाइमा आकर्षित हुन्छन् । रमाइलो वातावरण सिर्जना गरी शिक्षण गराउँदा र आवश्यक शैक्षिक सामग्री प्रयोग गरी पढाउदा विद्यार्थीले राम्ररी बुझ्छन् ।

मानिस कोही पनि पूर्ण नहुने भएकोले शिक्षक पनि कुनै बेला दोधारमा पर्न सक्छन् । त्यस्तो अवस्थामा गलत शिक्षा दिनुभन्दा यसको उत्तर भोलि दिन्छु भनी खोज–अनुसन्धान गरी पूर्ण तयारीका साथ अर्को दिन सही उत्तर दिन असल र जिम्मेवार शिक्षकले लाज मान्नु पर्दैन । शिक्षक राष्ट्रको सच्चा र देशभक्त नागरिक उत्पादनकर्ता भएको नाताले देशकाल परिस्थिति अनुसार जस्तोसुकै अवस्थामा पनि दक्ष, सक्षम, उपयोगी नागरिक उत्पादन गर्न दृढ संकल्पसहित पढाउन पाएकोमा गर्व महसुस गर्नुपर्छ ।

तपाईको प्रतिक्रिया