मनिपाल कर्मचारीलाई सुविधा भत्ता

समाधान संवाददाता २०७५ माघ २ गते १३:२१

समाधान संवाददाता

मनिपाल शिक्षण अस्पताल प्रशासन र ननटिचिङ सेक्टरमा कार्यरत कर्मचारीबीचको समस्या संघीय श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले टुंग्याएको छ ।

मन्त्रालयद्वारा दुवै पक्षबीचको विवाद समाधान गर्न गठित मध्यस्थ समितिले श्रम ऐन लागु गराई कर्मचारीलाई थप सुविधा दिन मनिपाल प्रशासनलाई राजी तुल्याएको हो । कर्मचारीले खाइपाई आएको तलबमा ३ हजार ६ सय ५० रुपैयाँ भत्ता थप गर्ने निर्णय मन्त्रालयको उक्त समितिले गराएको छ ।

Advertisement

मन्त्रालयले विवाद सुल्झाउन महान्यायाधिवक्ताको कार्यालयका अधिकृत श्रीराम खनालको नेतृत्वमा टे«ड युनियनका तर्फबाट नवीन अधिकारी र पोखरा उद्योग वाणिज्य संघका तत्कालीन अध्यक्ष विश्वशंकर पालिखेसहितको मध्यस्थ समिति गठन गरेको थियो ।

२०७४ साउन १५ गते मनिपाल अस्पतालका ३ वटै कर्मचारी युनियनले तलब वृद्धिसहित थप सेवा सुविधा सम्बन्धी ५ बुँदे माग राखेका थिए । त्यसयता सोही मागलाई लिएर विभिन्न मितिमा कर्मचारीले आन्दोलन गरेका थिए ।

Advertisement

कर्मचारीले राखेका मागलाई लागु गर्न नसक्ने भन्दै प्रशासनले अड्डी कसेपछि स्थानीय प्रशासन, श्रम कार्यालय पोखरा हुँदै संघीय श्रम मन्त्रालय समक्ष विवाद समाधानका लागि निवेदन पुगेको थियो ।

श्रम ऐन, २०७४ को दफा ११९ बमोजिम सामूहिक मागदाबी सम्बन्धी विवादको समाधान गराउन गठित मध्यस्थ समितिले अस्पताल प्रशासन र आन्दोलनरत अखिल नेपाल स्वास्थ्य श्रमिक संघ, मनिपाल स्वतन्त्र कर्मचारी युनियन, नेपाल स्वास्थ्यकर्मी तथा कर्मचारीबीच पटकपटक छलफल गरी कात्तिक ११ गते निचोडमा पुगेको कर्मचारीतर्फबाट वार्ता संयोजक योगन्द्र तिमल्सिनाले जानकारी दिए ।

‘मन्त्रालयबाट गठित मध्यस्थ समिति कर्मचारीले विगत लामो समयदेखि उठाउँदै आएका मागको विषयमा अध्ययन गरेर निष्कर्षमा पुगेको छ,’ उनले भने, ‘श्रम ऐन, २०७४ अनुसार प्रत्येक श्रमिकले न्यूनतम ज्याला १३ हजार ४ सय ७० मा थप सेवा सुविधा भत्ता बापत मासिक ३ हजार ६ सय ५० रुपैयाँ पाउने निर्णय भएको छ ।’

मध्यस्थले गएको कात्तिक ११ गते प्रशासन र कर्मचारीबीचको समझदारीमै सो निर्णय गरेर जानकारी गराइसकेको भए पनि तत्कालै कार्यान्वयनमा आउन नसकेको उनले बताए । प्रशासनबाट अनेक बहानामा आलटाल गर्ने प्रयास भएपछि मन्त्रालयका निमित्त महानिर्देशक उदयकुमार गुप्ताको अध्यक्षतामा बसेको पुस ११ गतेको बैठकले कात्तिक ११ मा भएका निर्णय हुबहु लागु गराउन निर्देशन दिएको नेपाल स्वास्थ्यकर्मी तथा कर्मचारी युनियन इकाई अध्यक्ष अमृतबाबु पौडेलले जानकारी दिए ।

‘श्रममन्त्री गोकर्ण विष्टको चासोपछि कात्तिक ११ गते भएको निर्णय कार्यान्वय गराउन अस्पताल प्रशासन सहमत भएको छ,’ उनले भने, ‘पुसको महिनाको तलब आउन बाँकी छ । कात्तिक ११ गतेदेखिकै बढेको भत्ता रकम एकमुष्ठ माघको १० गते भित्रमात्रै आउँछ, थप सुविधाको रकम कर्मचारीले पाए भने मात्र निर्णय कार्यान्वयन भएको ठान्छौं ।’

निर्णय सहमतिमा अस्पताल प्रशासनका तर्फबाट मानव संशाधान विभाग प्रमुख भानु भारद्वाज, सौरभ नारायणको हस्ताक्षर छ । पौडेलले प्रशासनले थप सेवा सुविधा वापतको भत्ता दिन सहमत भएको बताए ।

नयाँ सहमति अनुसार रात्रिकालीन सेवामा खटिएको कर्मचारीले एकदिनमा ९० रुपैयाँमा ३५ रुपैयाँ बढाएर १२५ रुपैयाँ पु¥याइएको छ । सम्बन्धित विभाग इन्चार्जले मासिक ५ सय रुपैयाँ भत्ता थप भएको पौडेलले जानकारी दिए । तहअनुसारको ग्रेड सुविधा, पोसाक रकम समेत कर्मचारीले पाउँदै आएका छन् ।

मन्त्रालयले अस्पताललाई विवादरहित बनाउन र अत्यावश्कीय सेवाबाट नागरिकहरुलाई बञ्चित हुन नदिन प्रशासन र कर्मचारी बीचको समस्या दीगो रुपमा सुल्झाउन श्रम ऐन, २०७४ अनुसार कर्मचारी विनियमावली बनाउन निर्देशन दिएको छ । विदा, सेवा सुविधाका सम्बन्धमा स्पष्ट हुने गरी ४ महिनाभित्रमा विनियमावली तयार गर्न निर्देशन दिएको हो ।

अस्पताल र कर्मचारीका पक्षका ४÷४ जना रहने गरी १५ दिनभित्रमा श्रमिक ऐन विनियमावली संशोधन समिति गठन गर्न सुझाएको छ । अस्पतालमा हाल ननटिचिङतर्फ ६ सय ३० कर्मचारी कार्यरत छन् ।

तपाईको प्रतिक्रिया