हत्याको ८ वर्षपछि हत्यारा सहित योजनाकार पक्राउ

समाधान संवाददाता २०७५ माघ ३ गते १२:१३

कृष्ण न्यौपाने
दमौली

व्यास नगरपालिका–४ बाघभञ्ज्याङ बस्ने रामबहादुर परियार र सोही ठाउँकी भारती परियारबीच पहिल्यैदेखि हिमचिम थियो । नाताले जेठाजु र बुहारी पर्ने उनीहरुबीचको सम्बन्ध बढ्दै गयो । घुम्नका लागि काठमाडौंसम्म पुग्ने गरेका उनीहरुको सम्बन्ध घरपरिवारले विस्तारै थाहा पाउँदै गयो । श्रीमान्सँग सम्बन्ध राम्रो नभएपछि सनिसरा रामबहादुरलाई छाडेर माइती बस्थिन् । भारतीका श्रीमान् वैदेशिक रोजगारीको शिलशिलामा विदेश थिए । भारतीका श्रीमान् स्वदेश फर्कने दिन नजिकिदै गरेपछि रामबहादुरसँगको सम्बन्ध पतिले थाहा पाउने डरले उनले रामबहादुरकै हत्या गर्ने योजना बनाइन् ।

भारतीले साविक मनपाङ गाविस–७ घर भई व्यास नगरपालिका–४ मै बस्ने मंगलबहादुर दमै र सुकबहादुर परियारलाई पाँच÷पाँच हजार दिन्छु भनेर रामबहादुरको हत्या गर्न लगाइन् ।

Advertisement

घटना २०६८ साल साउन ९ गतेको हो । मङ्गलबहादुर र सुकबहादुरले सो दिन रामबहादुरलाई दुलेगौडा पारी रहेको दिदीको घरमा जाउँ भनी घरबाट बोलाई ठाउँ–ठाउँमा मादक पदार्थ सेवन गराउँदै शुक्लागण्डकी नगरपालिका–४ र ८ को सीमानामा पर्ने सेती नदीको पुलबाट धकेलेर हत्या गरे ।

रामबहादुरलाई नदीमा फालेर भारतीको सम्पर्कमा आएका उनीहरुलाई भारतीले शर्त बमोजिमको रकम दिई उनीहरुलाई भाग्न सुझाव दिइन् । जसअनुसार सुकबहादुर परियार भारत पुगे भने मङ्गलबहादुर साउदी अरब । घटना गुपचुपमै रह्यो ।

Advertisement

मृतक रामबहादुरका घरपरिवारले उनको खोजीतलास सुरु गरे । धेरै समय खोज्दा पनि उनी फेला पर्न सकेनन् । सुकबहादुरको बुबाले मृतक रामबहादुरको आमाको घरमा गएको बेला ‘चिन्ता नलिनु तिम्रो छोरा हराएको होइन मरिसकेको छ,’ भनेपछि रामबहादुरको परिवारलाई उनको हत्या भएको आशंका लाग्यो ।

मृतक रामबहादुरकी श्रीमती सनिसरा परियारले आफ्ना श्रीमान सुकबहादुर र मङ्गल बहादुरसँग घरबाट दुलेगौडा जान भनी हिँडेकोमा हालसम्म बेपत्ता भएकोले निज व्यक्तिहरुसँग अनुसन्धान गरी श्रीमानको खोजतलास गरी पाउँ भनी मिति २०७१ मङ्सिर १४ गते जिल्ला प्रहरी कार्यालय तनहुँमा निवेदन दिएकी थिइन् ।

प्रहरीले त्यसपछि अनुसन्धान गर्दै जाँदा रामबहादुरको हत्यामा संलग्न भएको आरोपमा मङ्गलबहादुर दमै र भारती परियारलाई पुस २९ गते पक्राउ गरेको छ । हत्यामा संलग्न रहेका सोही ठाउँका सुकबहादुर परियार भने फरार छन् । पक्राउ परेका भारती मृतकका बुहारी हुन् भने दमै मृतकका भान्जा हुन् ।

२०६८ साउन ९ गते भारतीको योजनामा मङ्गल र सुकबहादुरले रामबहादुरलाई शुक्लागण्डकीको दुलेगौंडास्थित सेती नदीको पुलबाट धकेलेर हत्या गरेको अनुसन्धानबाट खुल्न आएको प्रहरी उपरिक्षक शाहले जानकारी दिए ।

प्रहरीले घटनाको अनुसन्धान गर्दै जाँदा मृतक रामबहादुरको हत्या भारतीको योजनामा भएको पत्ता लागेको छ । भारतीले सुकबहादुर र मङ्गलबहादुरलाई पाँच÷पाँच हजार दिएर रामबहादुरको हत्या गर्न लगाएको अनुसन्धानबाट खुलेको प्रहरी उपरिक्षक शाहले जानकारी दिए ।पक्राउ परेकाहरु विरुद्ध तनहुँ जिल्ला अदालतबाट ज्यान सम्बन्धी कसुर मुद्दामा म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया