पश्चिमी वायुको प्रभावले देशभरी नै मौसम बदली

रासस
काठमाडौं उपत्यकासहित देशभरको मौसम आज बदली भएको छ।
पश्चिमी वायुको प्रभावले देशभरी नै मौसम बदली भएको मौसमविद् शान्ति कँडेलले बताइन्। अबको एक दुई दिन देशभरिकै मौसम पूर्णरूपमा खुल्ने सम्भावना नरहेको उनले बताइन्।
उपत्यकाको आजको न्यूनतम तापक्रम ३ दशमलव २ डिग्री सेल्सियस मापन गरिएको छ। बुधबार उपत्यकाको न्यूनतम तापक्रम २ दशमलव ९ डिग्री सेल्सियस थियो।
राति आकाशमा बादल लागेकाले पृथ्वीबाट बाहिरिने तापक्रमलाई बादलले रोक्ने भएकाले न्यूनतम तापक्रम नघटेको मौसामविद् कँडेलले बताइन्।उनका अनुसार राति आकाश खुला भए तापक्रम घट्ने छ ।
‘माघ महिना भर्खर सुरू भएकाले अझै तापक्रम घट्ने सम्भावना छ’, उनले भनिन्। देशको मध्य तथा पश्चिमी क्षेत्रका एक दुई स्थानमा हल्का वर्षा हुने सम्भावना रहेको मौसम पूर्वनुमान महाशाखाले जनाएको छ।
राति देशभरि नै बदली रही अधिकांश भूभागमा हल्कादेखि मध्यम खालको वर्षा हुने सम्भावना रहेको छ। साथै उच्च हिमाली क्षेत्रका एक दुई स्थानमा हल्का हिमपात हुने सम्भावना रहेको महाशाखाले जनाएको छ।
शुक्रबार देशको पहाडी क्षेत्रमा आंशिक बदली हुने र बाँकी अन्य स्थानमा मौसम सामान्यतया सफा रहने छ।
त्यस्तै, शनिबार उच्च हिमाली भेगका केही स्थानमा हल्का हिमपात र पूर्वी पहाडी भेगका एक दुई स्थानमा हल्का वर्षा हुने सम्भावना रहेको महाशाखाले जनाएको छ।
तपाईको प्रतिक्रिया