पोखरेली डाक्टरकाे विदेशमा पनि गैरकानुनी लगानी

समाधान संवाददाता २०७५ माघ ४ गते ९:३८


समाधान संवाददाता

‘विदेशमा लगानी गर्न प्रतिबन्ध लगाउने’ कानुनी व्यवस्था विपरीत ५५ नेपालीको विभिन्न देशमा लगानी रहेको भेटिएको छ । यस्तो लगानी गर्नेहरूमा प्राध्यापक, डाक्टर, पूर्वसांसद्, नेता र समाजमा नामै नसुनिएका व्यक्तिसमेत छन् । पोखरामा सर्जी मेडिका सञ्चालन गरिरहेका डा श्यामबहादुर कर्माचार्यको समेत विदेशमा लगानी रहेको खुलासा खोप पत्रकारिता केन्द्र (खोपके)ले गरेको छ ।

५४ वर्षअघि बनेको ‘नेपालीलाई विदेशमा लगानी गर्न प्रतिबन्ध लगाउने ऐन’ २०२१ अनुसार, नेपालीले विदेशमा लगानी गर्न पाउँदैनन् । अन्तर्राष्ट्रिय खोज पत्रकारहरूको संयन्त्र ‘दी इन्टरनेसनल कन्सोर्टियम अफ इन्भेस्टिगेटिभ जर्नालिस्टस’ (आईसीआईजे) ले उपलब्ध गराएको विवरण र खोपकेले गरेको थप अनुसन्धानले ५५ जना नेपालीले विदेशमा लगानी गरेको फेला परेको छ ।

Advertisement

विदेशमा लगानी गर्नेमा नेपालमा नाम चलेका प्रतिष्ठित उद्योगी र व्यवसायीदेखि नामै नसुनिएकाहरू पनि छन् । केहीको ठेगाना खुल्न सकेको छैन । नेपालमै व्यवसाय गर्ने तर गैरआवासीय नेपालीको पहिचान बनाएका कतिपयले पनि विदेशस्थित ‘ट्याक्स हेवन’ (कर छलीका लागि अनुकूल देश) मुलुकमा लगानी गरेको भेटियो । गैरआवासीय नेपालीलाई विदेशमा लगानी गर्न कानूनले रोक त लगाएको छैन, तर उनीहरूले ट्याक्स हेवन मुलुकमा कम्पनी खोलेकाले लगानीको त्यो स्रोत माथि शंका गर्ने ठाउँ छ ।

गैरकानुनी लगानीमा व्यवसायी मात्रै हैन एक डाक्टर र एक प्राध्यापक पनि जोडिएका छन् । डाक्टर श्यामबहादुर कर्माचार्य र प्रोफेसर शतेन्द्र गुप्ताले ट्याक्स हेवनमा लगानी गरेको देखिन्छ । बायोमेडिकल इक्विपमेन्ट विज्ञ डाक्टर श्यामबहादुर कर्माचार्यले ललितपुर–महानगरपालिका २ ठेगाना उल्लेख गरी २००८ मा ब्रिटिस भर्जिन आइल्यान्डस्मा सर्जी इलेक्ट्रो मेडिका कम्पनी दर्ता गरेका हुन् । सर्जी इलेक्ट्रो मेडिका नामको कम्पनी नेपालमा पनि दर्ता भएर पोखरामा सञ्चालनमा छ ।

Advertisement

यो कम्पनीले बायोमेडिकल उपकरण आयात र बिक्री गर्ने काम गर्छ । विदेशमा र नेपालमा एउटै नाममा खुलेको यो कम्पनीले डाक्टर र हस्पिटलहरूलाई चाहिने ‘बायोमेडिकल र सर्जिकल इक्विपमेन्ट’ आपूर्तिको काम गरिरहेको छ ।

काठमाडौं र पोखराको सर्जी इलेक्ट्रो मेडिकामा कर्माचार्यकै लगानी रहेको कम्पनी प्रतिनिधि अनिल भुुर्तेलले पनि पुष्टि गरे । ‘उहाँ नेपालको पहिलो बायोमेडिकल उद्योगी हुनुहुुन्छ । नेपालको पहिलो कर्पोरेट हस्पिटल, काठमाडौं हस्पिटलको मालिक पनि हो उहाँ,’ भुुर्तेलले भने, ‘नवलपरासीमा औषधि उद्योग छ । अहिले छोरा राजु कर्माचार्यले हेर्नुुहुन्छ ।’
प्रोफेसर गुप्ताले सन् २००४ मा ब्रिटिस भर्जिन आइल्यान्डस्मा ‘वोन्का इन्टरनेसनल इन्क’ कम्पनी दर्ता गरेको आइसिआइजेको विवरणमा देखिन्छ । यो कम्पनीमा युरोप, अस्ट्रेलिया, अफ्रिका र दक्षिण अमेरिकाका १२ जना डाक्टर र प्रोफेसरहरूको लगानी छ । विवरणबाट नेपाली नागरिक प्रोफेसर गुप्ता र चिकित्सा पेसामै संलग्न १२ अन्य विदेशी नागरिकको सोही समूहले बैंकक, थाइल्यान्डमा कार्यालय रहेको वोन्का नाम गरेको अर्को संस्था पनि खोलेको देखिन्छ ।

फेमेली डाक्टर, फिजिसियन तथा चिकित्साशास्त्रीहरूको अन्तर्राष्ट्रिय सञ्जाल वोन्कामा नेपाली नागरिक गुप्ता मध्यपूर्व तथा दक्षिण एसियाका क्षेत्रीय उपाध्यक्ष समेत भइसकेका छन् । कञ्चनपुर जन्मस्थान भएका गुप्ता सन् १९७७ मा सरकारी कोटामा एमबिबिएस अध्ययन पूरा गरी त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालअन्तर्गत जनरल प्राक्टिस तथा इमर्जेन्सी मेडिसिन विभागका प्रमुख भएको वोन्काको रिपोर्टमा उल्लेख छ ।

सन् २००१ को डिसेम्बरमा प्रकाशित रिपोर्ट अनुसार, उनी जनरल प्राक्टिसनर्स एसोसिएसन अफ नेपाल (जिपान) का संस्थापक समेत हुन् । संघीय समाजवादी फोरमका केन्द्रीय सदस्य, पूर्व सांसद् वीरेन्द्र महतोको बेलारुसमा ‘ओजेएससी एम्कोडोर होल्डिङ लिमिटेड कम्पनी’ मा लगानी छ ।
खोज पत्रकारिता केन्द्रको सहयोग

तपाईको प्रतिक्रिया