अंग्रेजी बोल्दा प्रहरीको लात्ती, फियोमो चोट, पेटमा ५२ टाँका

समाधान संवाददाता २०७५ माघ ४ गते ९:४५


समाधान संवाददाता

सामान्य भनाभनमै प्रहरी जवान प्रेमबहादुर विष्ट र बुद्धबहादुर थापाको कुटाइबाट गम्भीर घाइते भएका गलकोट नगरपालिका ६ हरिचौरका सोमबहादुर बस्नेतको मेजर सर्जरी (अप्रेसन) भएको छ ।

प्रहरीको कुटाइबाट पेटमा गम्भीर चोट लागेका ४० वर्षीय बस्नेतको पोखरास्थित फेवासिटी अस्पतालको आइसियुमा उपचार भइरहेको छ । पेटमा ठूलो चोट परेकोले फियो (पेट भित्रको अंग) च्यातिएर रगत बगिरहेको उपचारमा संलग्न सर्जन डाक्टर सुरेशराज पौडलले जानकारी दिए । ‘उहाँको पेटमा २ लिटर जति रगत फैलिएको थियो,’ उनले भने, ‘लाइफ सेभिङ अप्रेसन गरिएको हो । पेटको रगत सफा भएको छ । बिरामीको अवस्था सुधारोन्मुख छ ।’

Advertisement

अप्रेसनपछि बिरामीले पानी, झोल पदार्थ खाइरहेको डाक्टर पौडेलले बताए । घाइतको उपचारका लागि बस्नेतकी पत्नी कृष्णकुमारीसहित आफन्त पोखरामा छन् । बस्नेतको मेजर अप्रेसन भएकाले पेटभरीमा ५२ भन्दा बढी टाँका लगाइएको छ ।

के भएको थियो त्यसदिन—
सोमबहादुर बस्नेत, कृष्णबहादुर खत्री र बिक्की गैरे गएको पुस २९ गते गलकोट नगरपालिकाको वडा ६ बाट ३ तर्फ झोलुङे पुल हुँदै जाँदै थिए । हरिचौर प्रहरी बिटमा कार्यरत प्रहरी जवानद्वय प्रेमबहादुर विष्ट र बुद्धबहादुर थापासँग उनीहरुको बाटोमै जम्काभेट भयो ।

Advertisement

बिक्कीलाई प्रहरीले अपशब्द प्रयोग गरेर बोलाए । कृष्णबहादुर खत्री आफूहरु ३ जनाले मदिरा सेवन गरेको भए पनि प्रहरीलाई नराम्रो नबोलेको बताउँछन् । ‘हाम्रो साथी बिक्कीसँग प्रहरीको चिनचान रहेछ,’ उनले भने, ‘प्रहरीले अपशब्द प्रयोग गरेर बोलायो, सोमले ह्वाट् डु यु मिन … भनेर त्यहिँ शब्द दोहो¥याउँदा अंग्रेजीमा कुरा गर्छस्, ठूलो बन्छस् । यो अमेरिका हो भन्दै कुट्यो ।’

बिक्कीको प्रहरीसँग चिनेजानेको भएकाले उसलाई केही नगरेको खत्रीले बताए । आफूलाई र सोमलाई बुट र लाठी बजारेको उनको भनाइ छ । ‘मैले अलिअलि पञ्च ब्लक गरे, सोमको पहिले पनि हात अप्रेसन गरेको थियो, उ अलि कमजोर नै हो । उसले छेक्न सकेन । सोममाथि प्रहरी जाइलागे,’ उनले थपे ।

युनिफर्म सहित ड्युटीमा खटिएका प्रहरीले बिनाकारण रिस पोखेको उनले सुनाए । प्रहरी एकाएक आवेशमा आएर कुटपिट ग¥यो । ‘हाम्रो गल्ती भए चौकीमा लैजानुस भन्दाभन्दै सोमलाई घाइते हुनेगरी कुटे दुख लागेको छ ।’

राष्ट्रसेवक प्रहरी आफ्नो दायित्व बिर्सेर जनतामाथि अन्याय गरेको गलकोट नगरपालिका वडा नम्बर ६ की सदस्य मनकुमारी पाण्डेले आरोप लगाइन् । वडाले घटनामा संलग्न प्रहरी माथि कारवाहीको माग गरेको उनले जानकारी दिइन् ।

कुटपिटमा संलग्न भएको आरोप लागेका प्रहरी जवानद्वय विष्ट र थापालाई इलाका प्रहरी कार्यालय हरिचौरमा थप अनुसन्धानका लागि तानिसकिएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रमुख तथा एसपी बिनोद रेग्मीले जानकारी दिए । ‘ड्युटीमा खटिएको प्रहरीले उनीहरुलाई कुटेको भन्ने जानकारीमा आएको छ,’ एसपी रेग्मीले भने, ‘पुरानै रिसइबी हो कि आवेशमा आएर तत्कालै प्रतिक्रिया जनाउँदा त्यस्तो घटना भएको भन्ने बारे अनुसन्धान भइरहेको छ ।’

मदिरा सेवन गरेर आएका व्यक्तिसँग सामान्य भनाभनमै प्रहरीले अनुचित बल प्रयोग गरेको भन्ने पुष्टि भएमा विभागीय कारवाहीका लागि प्रहरी जवानद्वयलाई जिल्ला तानिने एसपी रेग्मीले जानकारी दिए ।

तपाईको प्रतिक्रिया