जिपी कोइराला उपचार केन्द्र खारेज गर्न लागेको भन्दै विरोध

कृष्ण न्यौपाने
दमौली
शुक्लागण्डकी नगरपालिका–५ बेलचौतारास्थित गिरिजाप्रसाद कोइराला राष्ट्रिय स्वासप्रश्वास उपचार केन्द्र सरकारले खारेज गर्न लागेको भन्दै नेपाली कांग्रेस तनहुँले विरोध जनाएको छ ।
जिल्ला सचिव विश्व बास्तोलाले बिहीबार प्रेस विज्ञप्ति निकालेर शान्ति प्रक्रियाका महानायक, संघीय लोकतान्त्रिक गणतन्त्रमा महत्वपूर्ण योगदान पुर्याएका पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको नाममा स्थापित अस्पताललाई संघीय सरकार मार्फत् नराखेर विघटन गर्ने तयारी गरेको भन्दै निर्णय सच्याउन माग गरेका हुन् ।
तनहुँवासीको विकास र प्रतिष्ठासँग जोडिएको स्वासप्रश्वास उपचार केन्द्रलाई खारेज गरे नेपाली कांग्रेस तनहुँले कडा संघर्षका कार्यक्रम गर्ने बास्तोलाले बताए । उनले गिरिजाप्रसाद कोइराला श्वासप्रश्वास उपचार केन्द्रलाई वर्तमान सरकारले विघटन गर्न खोजेको भन्ने समाचारप्रति कांग्रेस गम्भीर भएको समेत बताए ।
विज्ञप्तिमा भनिएको छ, ‘स्वासप्रश्वास उपचार केन्द्रलाई मित्रराष्ट्र भारतको सहयोगमा सुविधासम्पन्न मेडिकल कलेजको रुपमा अगाडि बढाउने गरी कांग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारले भारत सरकारसँग सहमति गरी प्रक्रिया अगाडि बढिरहेको अवस्थामा अस्पताल नै खारेज गर्ने निर्णयले सम्पूर्ण तनहुँवासीलाई स्तब्ध तुल्याएको छ ।’
स्थानीय स्तरबाट सञ्चालित सेतीगंगा सामुदायिक अस्पतालको स्वामित्व गत वर्षको साउनबाट गिरिजाप्रसाद कोइराला राष्ट्रिय स्वासप्रश्वास उपचार केन्द्रमा हस्तान्तरण गरिएपछि सोही अस्पतालको भवनबाट उपचार केन्द्रको प्रशासनिक काम र स्वास्थ्य उपचारको सेवा सञ्चालन भइरहेको छ ।
अस्पतालमा तनहँुको शुक्लागण्डकी नगरपालिका, भीमाद नगरपालिका, म्याग्दे गाउँपालिका, रिसिङ गाउँपालिकासहित स्याङ्जा, पाल्पा र नवलपरासी जिल्लाका केही गाउँपालिकाका जनता पनि सेवा लिन आउँछन् । २५ शड्ढयाकोे अस्पतालमा सवारी दुर्घटनाका घाइतेको अलावा झाडापखला, टाइफाइड, ज्वरो, ग्यास्ट्रिक, पेट सम्बन्धी र हाडजोर्नीका बिरामी नियमित आउने गरेका छन् । उक्त उपचार केन्द्रमा सुत्केरी गराउनेको संख्या पनि उल्लेख्य छ ।
दक्षिण एसियाकै उत्कृष्ट स्वासप्रश्वास उपचार केन्द्रको रुपमा स्थापना गर्न सरकारले नै केही वर्ष अघि पूर्व प्रधानमन्त्री स्व.गिरीजाप्रसाद कोइरालाको नाममा राष्ट्रियस्तरको स्वासप्रश्वास उपचार केन्द्र स्थापना गर्ने निर्णय गरेको थियो । सोही अनुसार शुक्लागण्डकी नगरपालिकाको बेलचौतारा झरौटामा ७ सय रोपनी जग्गा उपचार केन्द्रको नाममा आइसकेको छ ।
तपाईको प्रतिक्रिया