मुस्ताङमा चिसाेले विद्यार्थी न्यून भएपछि पाेखरामा संयुक्त घुम्ती कक्षा
सुन्दरकुमार थकाली
चिसो मौसम तथा हिमपातबाट जोगिन उपल्लो मुस्ताङबाट पोखरा सारिएका विद्यालयले न्यून विद्यार्थी संख्याका कारण सामुदायिक घुम्ती कक्षा सञ्चालन गरेका छन् । विद्यार्थीको खानपान, रेखदेख र खर्च अनुपात कम गर्ने उद्देश्यले सामुदायिक घुम्ती विद्यालयको रुपमा मर्ज गरिएको हो ।
घुम्ती विद्यालयले सम्बन्धित स्थानीय तहबाट विनियोजित बजेटको सहयोगमा ४ महिना पोखरामा बिताउने गर्छन् । विद्यार्थी व्यवस्थापन तथा शैक्षिक गतिविधि सञ्चालन गर्न सामूहिक कक्षा सञ्चालनले सहयोग पुर्याउने भन्दै लोमान्थाङ र लोघेकरका १ दर्जन विद्यालयले एकै ठाउँमा पढ्ने व्यवस्था मिलाएका हुन् ।
उपल्लो मुस्ताङवासी पुरै गाउँ नै रिक्तो हुने गरी चिसो छल्न बेसी झरिसकेका छन् । सेवाप्रदायक संस्था प्रहरी र भन्सार लगायत जिल्ला सदरमुकाममा मर्ज भइसकेका छन् । उपल्लो मुस्ताङमा सामुदायिक विद्यालय निजी गुम्बा विद्यालयमा विद्यार्थी चाप बढी छ । गुम्बा विद्यालयमा आवास तथा पठनपाठनको सुविधा तथा बौद्धधर्मप्रति बढी लगावका कारणले सामुदायिक विद्यालयमा पढ्ने विद्यार्थीको संख्या घटिरहेको छ ।
सामुदायिक विद्यालयमा विद्यार्थीभन्दा शिक्षक बढी भएको पाइएको छ ।
सामुदायिक विद्यालयमा आवासीय कक्षा सञ्चालन गर्न नसक्दा विद्यालय नै बन्द हुनसक्ने मुस्ताङका शिक्षा स्रोत व्यक्ति गोविन्द श्रेष्ठले बताए । उनले उपल्लो मुस्ताङका विद्यालयमा विद्यार्थी नहँुदा पठनपाठनमा समेत बाधा पुग्ने प्रष्ट पारे । उपल्लो मुस्ताङको लोमान्थाङ र लोघेकर दामोदरकुण्ड गाउँपालिकाका १८ विद्यालय घुम्तीमा छन् भने वारागुङ मुक्तिक्षेत्र गाउँपालिकाका २ आधारभूत विद्यालय पनि घुम्तीमा रहेको स्रोत व्यक्ति श्रेष्ठले जानकारी दिए । उनले विद्यालय मर्ज गर्दा आर्थिक पक्ष सहज हुने बताए ।
विद्यार्थी संख्या न्यून भएका विद्यालयलाई मर्ज गर्न स्थानीय तह, शिक्षा विकास तथा समन्वय इकाइ र विद्यालय व्यवस्थापन समितिले पहल सुरु गर्ने जनाएका छन् । तर त्यहाँका विद्यालयले नै मर्ज गरेर पोखरामा घुम्ती कक्षा सञ्चालन गरिसकेका छन् ।
साविकको छोनुप गाविसका ६ वटा आधारभूत विद्यालयका २५ विद्यार्थीलाई पोखरामा एकै ठाउँमा पठनपाठन गराइएको घुम्ती कक्षा सञ्ञ्चालक समितिका अध्यक्ष घ्याल्जेन गुरुङले जानकारी दिए । उनले ६ वटा विद्यालयले जग्गाको जोहो गर्दै आफ्नै भवनमा घुम्ती कक्षा सञ्चालन गरिरहेको जानकारी दिए । ६ वटा विद्यालयले मर्ज गर्दा आपसमा साझा प्रअ र व्यवस्थापन समिति सहमतिबाटै चयन गरेको उनले बताए ।
साविक छोसेर गाविसका ३ विद्यालयका ९४ विद्यार्थीलाई एउटै घुम्ती कक्षामा पठनपाठन गराइएको छ । यस्तै राष्ट्रिय आधारभूत विद्यालय लोमान्थाङले पनि लेखनाथको बेगनास किमबेसीमा घुम्ती कक्षा सञ्चालन गरेको छ ।
लोघेकर दामोदरकुण्ड गाउँपालिकाका ६ वटा विद्यालय पनि यतिबेला घुम्ती कक्षाका रुपमा पोखरामा स्थानान्तरण भएको छ । चराङ, मराङ, यारा, घारा, ढाक्मर र शालिग्राम आधारभूत विद्यालयका घुम्ती कक्षा पनि मर्ज गरिएको छ । यहाँका जम्मा २१ जना विद्यार्थी हेमजास्थित मिलनचोकमा राखेर पठनपाठन गरिएको छ ।
लोकेघरकै २ विद्यालयले बेग्लै घुम्ती कक्षा सञ्चालन गरेका छन् । नवज्योति तथा घमी आधारभूत विद्यालयका घुम्ती कक्षा मर्ज गरिएको घमी आधारभूत विद्यालय प्रअ अमन धितालले जानकारी दिए । उनका अनुसार २ विद्यालयका १ सय १८ जना विद्यार्र्थी तनहँुको दुलेगौंडामा राखिएको छ ।
वारागुङ मुक्तिक्षेत्र गाउँपालिकाको जननर्मल र मुक्तिनमुना आधारभूत विद्यालय झारकोटका करिब १ सय विद्यार्थीका लागि पोखरा छोरेपाटनमा घुम्ती कक्षा सञ्चालन गरिएको छ । तर घरपझोङ र थासाङ गाउँपालिकाका कुनै पनि सामुदायिक विद्यालयले अहिलेसम्म घुम्ती कक्षा सञ्चालन गरेका छैनन् ।
उपल्लो मुस्ताङमा सञ्चालित २० सामुदायिक विद्यालयले दसैंपछि घुम्ती कक्षा सञ्चालन गर्न पोखरा झरेको शिक्षा विकास तथा समन्वय इकाइ प्रमुख मतिलाल चपाईंले जानकारी दिए । घुम्ती विद्यालय फागुन १५ गतेसम्म पोखरामा रहनेछन् । घुम्ती विद्यालयका रुपमा पोखरा झरेका विद्यालयले पुसदेखि नै नयाँ शैक्षिक सत्रको पढाइ सुरु गरिसकेको समन्वय इकाइ प्रमुख चपाईंले जानकारी दिए ।
तपाईको प्रतिक्रिया