बँधुवा मजदुरीको दुश्चक्र तोड्दा

समाधान संवाददाता २०७५ माघ ४ गते १४:५०

अमर लाल

मेरो बालापन निकै ढिलो सुरु भयो । राजस्थानको ढुंगा खानीमा काम गर्ने गरिब परिवारमा मेरो जन्म भएको थियो । मैले आफ्नो नाम लेख्न जान्नुभन्दा पहिले नै ढुंगा फुटाउनु जानिसकेको थिएँ । मेरा आमाबाबु बँधुवा मजदुर थिए भने हातमा घन समात्न सक्ने हुनेबित्तिकै म पनि बँधुवा मजदुरै भएको थिएँ । हामीलाई अत्यन्त कम ज्याला दिइन्थ्यो र त्यसबाट खान पनि मुस्किलले पुग्थ्यो । मैले सम्झने सबैभन्दा पुरानो कुरा नै आफू कसैको दास भएको हो । मेरा सासहरू त मेरै थिए तर मेरो शरीर र आत्मा भने मेरा थिएनन् ।

मेरो परिवारको र कयौं पुस्तादेखि हाम्रो खलकले यही दुखद नियति भोग्नु परेको थियो । आश्चर्यजनकरूपमा अन्तत म उम्कें । भारतका अधिकांश बँधुवा मजदुर दुश्चक्रबाट उम्किनै सक्दैनन् ।

Advertisement

कुनै पनि प्रकारको दासता अपमानपूर्ण हुन्छ । त्यसमा पनि परिवारको रिन तिर्न बालकलाई बधुँवा मजदुर बनाउनु क्रूरतम दुव्र्यवहार मध्येको हो । बँधुवा मजदुरीको दुश्चक्र यस प्रकारको हुन्छ– परिवारले खानै नपाएपछि चोके ब्याजमा रिन लिन बाध्य हुनुपर्छ । अनि रिन तिर्न नसकेपछि धरौटी राख्ने पनि केही नहुँदा आफू र परिवारका सदस्यलाई नै बन्धकी राख्नुपर्ने हुन्छ । रिन तिर्न नसकेरै मरिन्छ ।

रिनको पासोमा फसेपछि सबै प्रकारको दुव्र्यवहार भोग्नुपर्ने हुन्छ । बँधुवा मजदुर राख्ने साहुले माफियाका गुन्डाको जस्तो व्यवहार गर्छन् । बँधुवा मजदुरलाई तिनका दलालहरूले सधैं सताइरहेका हुन्छन् । यस्ता रिनहरू अधिकांश कहिल्यै चुक्ता हुँदैनन् र रिनमा डुबेरै मर्नुको साटो अर्को पुस्तालाई रिन बोकाइन्छ । यस्तो अवस्थामा भएकाहरूले पुन सामान्य जीवन बिताउने कल्पना पनि गर्न सक्दैनन् ।

Advertisement

खानीहरूबाहेक कपडा बुन्ने, जुत्ता सिउने, गहना बनाउने, खेलकुदका सामग्री निर्माण गर्ने कयौं कारखानाहरू अँध्यारो साँगुरा कोठमा दयनीय अवस्थामा काम लगाएर बँधुवा मजदुरको शोषण गर्ने गरिन्छ । दुर्घटना भइरहन्छ । जोखिमपूर्ण मेसिनहरूमा काम गर्दा बालबालिका मरेको, घाइते भएको घटनाका बारेमा मैलै धेरै सुनेको छु । दुर्घटनापछि पनि काम ढिलो हुने भन्दै कारखाना मालिकहरूले घाइते भएकाहरूको उपचार गर्न मान्दैनन् ।

बँधुवा मजदुरका लागि आधारभूत मानवोचित सुविधा नै हुँदैनन्, पढ्ने मौकै पाइँदैन र अधिकांश बालबालिका कुपोषित हुन्छन् । कुपोषण र एउटै थलामा धेरै लामो समय बस्नुपर्दा उनीहरू शरीरै कुरुप बन्न पुग्छ ।
मानव बेचबिखन र ओसारपसार अपराध, भ्रष्टाचार र करचोरीबाट हुने अवैध आर्जनपछि ‘कालो धन’ को तेस्रो सबैभन्दा ठूलो स्रोत मानिन्छ । अन्तर्राष्ट्रिय श्रम संगठनको अनुमानअनुसार बँधुवा मजदुरीबाट बर्सेनि १ सय ५० अर्ब डलर अवैध धन आर्जन गरिन्छ ।

त्यस रकममा अधिकांश पैसा भारतसँग सम्बन्धित छ । भारतमा प्रत्येक घन्टा ८ जना बालबालिका हराउँछन् र चौपायाभन्दा पनि सस्तो मूल्यमा तिनको किनबेच हुन्छ । अपराधी गिरोहको पासोमा परेपछि यी बेचिएका बालबालिकाले दिनको १६ घन्टा काम गर्नुपर्छ र मानसिक, शारीरिक र यौन दुव्यर्वहार सहनुपर्छ । कारखाना मालिकहरूले कति बालिकाहरू त वेश्यालय बेचिन्छन् वा भारतका ठूला सहरहरूमा घरेलु कामदारका रूपमा बेचिन्छन् । यस्ता बालबालिकाको स्वतन्त्रतामात्र होइन बालापनसमेत उनीहरूबाट लुटिन्छ ।

म भने भाग्यमानी भएँ । सन् २००१ को मेमा म ७ वर्षको छँदा बालमजदुर विरोधी अभियन्ता कैलाश सत्यार्थीका साथीहरूले म बँधुवा मजदुर भएको जयपुरको ढुंगा खानीमा छापा मारे । सत्यार्थीलाई बाल मजदुरको उद्धारका लागि उनको गरेको योगदानको कदरस्वरूप सन् २०१४ मा नोबेल शान्ति पुरस्कारबाट सम्मानित गरिएको थियो । सत्यार्थीले मलाई उनले स्थापना गरेको ‘बचपन बचाओ आन्दोलन’ नामको बालमजदुरीबाट पीडितहरूको हितका लागि गठित संस्थाबाट सञ्चालित ‘बाल आश्रम’ पुनस्र्थापना तथा तालिम केन्द्रमा भर्ना गरे ।

यसको लगत्तै मैले औपचारिक शिक्षा प्राप्त गर्ने मौका पाएँ र गत वर्ष म जनहित ल कलेजबाट कानुनमा स्नातक तह उत्तीर्ण भएँ । सत्यार्थी जन्मका कारण कोही पनि जीवनभर दासतामा बाँच्नुपर्छ भन्ने छैन भन्ने ठान्छन् । उनको यही प्रतिबद्धताका कारण मजस्ता हजारौं बालबालिकाले सपनामा पनि नचिताएको जीवनयापन गर्न पाएका छौं । वास्तवमा शान्तिपूर्ण र समृद्ध भविष्यको आधार त बालबालिका नै हुन् । भारतका प्रत्येक बालबालिका स्वतन्त्र, शिक्षित र स्वस्थ भएमात्र भारत सबल, सम्पन्न र जीवन्त हुने सुनिश्चित हुन्छ ।

आज म स्वतन्त्र, शिक्षित र स्वस्थ भएको छु । परन्तु, मुलुकभरमा कयौं बालबालिका बँधुवा मजदुरीको दुस्वप्नमा बाँचिरहेका छन् । उनीहरूलाई दासत्वबाट मुक्त हुन हामीले मद्दत गर्नुपर्छ । हामी सफल भयौं भने शताब्दीयौंदेखि करोडौं मानिसको जीवन बर्बाद गर्ने यो प्रथा मेरै पुस्ताबाट सधैंका लागि अन्त्य हुनेछ । प्राजेक्ट सिन्डिकेटबाट

(अमर लाल कानुन व्यवसायी तथा मानव अधिकार अभियन्ता पूर्व बँधुवा मजदुर हुन् ।)

तपाईको प्रतिक्रिया