शिक्षक, शिक्षण पेसा र शिक्षण विधि

समाधान संवाददाता २०७५ माघ ४ गते १५:०३

राजेन्द्र भण्डारी

मानव सभ्यताको उत्पत्ति र विकासक्रमसँगै शिक्षाको उत्पत्ति र विकास भएको पाइन्छ । अतीतका विभिन्न कालखण्डमा ज्ञानको सञ्चार गर्ने हेतुले चाहे आध्यात्मिक मार्ग चुनेर होस् या भौतिक बाटो समातेर विभिन्नरुपमा मार्गदर्शकको उदय भयो । यिनै रुपहरु मध्ये संसारमा चेतनाको वाहकको रुपमा गुरु शब्दको उदय भयो । ‘गु’ को अर्थ अन्धकार र ‘रु’ को अर्थ प्रकाश हुन्छ । तसर्थ अन्धकाररुपि अज्ञानतालाई प्रकाशतर्फ लैजाने व्यक्तिलाई गुरु भनिन्छ । गुरु शब्दलाई मानव जीवनको विराट् स्वरुपको अस्तित्वसँग जोडिएको पाइन्छ ।

बदलिँदो समयमा अनन्त उद्देश्य र असीम सम्भावनालाई साकारपार्ने एउटा प्रज्ञावान्, ज्ञानदाता, समाज निर्माता, राष्ट्र–अन्तर्राष्ट्रिय समुदायको असल मित्र, बालबालिकाको भविष्य निर्माता, परिवर्तनको वाहक आदिका रुपमा शिक्षकको परिचय दिइन्छ । व्यक्तिगत गुणले भरीपूर्ण, राम्रो, स्वस्थ, आकर्षक व्यक्तित्व, मधुर स्वर, रुचि र उत्साह, धैर्य र सहनशीलता, प्रेम र सहानुभूति, आत्मविश्वास, नैतिकता र चरित्रवान् बन्न शिक्षकले नै सिकाउने विश्वास गरिन्छ ।

Advertisement

शिक्षक एक सामाजिक प्राणी हो र ऊ समाजमा बस्नुको साथै समाजमा समाहित हुन चाहन्छ । समाजका अन्य व्यक्तिको तुलनामा उसका दायित्व र कार्यहरु फरक हुन्छन् । शिक्षकको भूमिकाबाट नै समग्र समाज निर्देशित हुने हुँदा अन्य व्यक्तिका तुलनामा निश्चय पनि शिक्षक अनुकरणीय हुनुपर्छ ।

शिक्षक त्यस समाजको सोच, विचार र दृष्टिकोणको सौर्य हो जसलाई हेरेर समग्र मानवजातिले आफ्नो वर्तमान र भविष्यको लागि सपना बुन्छन् र साकार बनाउनका लागि कोसिस गर्छन् । शिक्षकले सदैव आशावादी र उत्साही भएर कक्षाकोठाभित्र र बाहिरको वातावरणलाई परिवर्तन गराउने माध्यमको रुपमा उपस्थित हुनुपर्छ ।

Advertisement

शिक्षकले शिक्षणको माध्यमबाट सिक्ने, सिकाउने, बन्ने र बनाउने पावनभूमिमा निरन्तर कर्म गर्दै समग्र समाजरुपि विद्यार्थीलाई कक्षाकोठाको सानो झ्यालबाट सारा संसार देखाइरहेका हुन्छन् । एक असल विद्यार्थी, असल समाज र असल राष्ट्र निर्माणको महान अभियानमा अविरल बग्नुबाहेक सच्चा शिक्षकका लागि अर्को कर्म हुन सक्दैन ।

पेसा
शिक्षा दिनु शिक्षकको पेसागत धर्म मानिन्छ । बालबालिका भविष्यका दृष्टिकोण, विचार र स्वप्ना भएको हुँदा उनीहरुका काँधमा जिम्मेवारी, मस्तिष्कमा इमानदारी र अन्तरआत्मामा प्रेमको मार्ग तयार गर्नको लागि निर्देशन गर्ने जिम्मेवारी शिक्षकको हुन्छ । भोलिका दार्शनिक, सामाजिक अगुवा, अर्थविद्, समाजशास्त्री, डाक्टर, इन्जिनियर आदिदेखि परिवर्तनका लागि आवश्यकपर्ने सम्पूर्ण जनशक्ति तयार गर्ने व्यक्ति शिक्षक र पेसा शिक्षण नै हो । शिक्षक केवल १० बजेदेखि ४ बजेसम्म हप्तामा २५÷२६ पिरियड लिने पात्र मात्र होइन । ऊ समाजको विभिन्न पक्षहरुसँग अन्तरसम्बन्धित भएर समग्र समाजको प्रतिनिधित्व गर्ने मूर्त बिम्ब पनि हो ।

जसले अपनाएको पेसाले विद्यालयलाई समाजसँग जोड्ने र समाजलाई विद्यालयसँग जोडी विद्यार्थीलाई सामाजिकीकरण गराउने महत्वपूर्ण भूमिका खेल्छ । समाजमा थुप्रै पेसा र व्यवसाय गर्ने मानिस हुन्छन् । एउटा डाक्टरले मात्र रोगको निराकरण गर्न सक्छ, एउटा वकिलले मात्र मुद्दामा बहस पैरबीका साथ छिनोफानो गर्न सक्छ, एउटा किसानले मात्र बाली उत्पादन गर्न सक्छ, एउटा योद्धाले युद्ध जितेर देखाउन सक्छ तर एउटा शिक्षकले साधारण मानिसलाई असाधारण बनाई समग्र मुलुकको परिवर्तन गराउने क्षमता राख्छ । परिवर्तनको वाहक र एउटा कर्तव्यनिष्ठ व्यक्तिको रुपमा शिक्षकलाई लिन सकिन्छ । शिक्षकले अपनाएको शिक्षण पेसालाई समाजको उच्च स्तरीय, मर्यादित र सम्मानित तथा अब्बल पेसा मान्न सकिन्छ ।

विधिः
शिक्षण विधिको इतिहासलाई हेर्ने हो भने यसको अस्तित्व मानव सभ्यताको प्रारम्भिक चरणदेखि रहेको देखिन्छ । अर्ति उपदेश तथा एक अर्कोको व्यवहार नक्कल गर्ने कार्यबाट प्रारम्भ भएको शिक्षण विधि आजको २१ औं शताब्दीसम्म आइपुग्दा सूचना प्रविधिसँग सम्बन्धित नयाँ–नयाँ विधिहरु प्रतिपादन भइसकेका छन् । शिक्षण विधि पठनपाठनमा अवलम्बन गर्न सकिने विभिन्न शिक्षण कलाहरुको अध्ययन गर्ने विज्ञान हो ।

शिक्षण विधि शिक्षणकार्यलाई प्रभावकारी बनाउने तरिकाको रुपमा लिइन्छ । शिक्षण विधि भनेको विद्यार्थीको व्यवहार परिवर्तन गर्न वा निर्धारित उद्देश्य पूरा गर्न कक्षाभित्र सञ्चालन गरिने एक प्रकारको सञ्चार प्रणाली हो । उपयुक्त सञ्चार प्रणालीको छनौटले मात्र विद्यार्थीमा अपेक्षित परिवर्तन आइ समग्र मुलुकले खोजेको नागरिक तयार हुन्छन् । शिक्षण कार्यको प्रमुख उद्देश्य विद्यार्थीको व्यवहारमा परिवर्तन ल्याउनु हो । तसर्थ विद्यार्थीको व्यवहारमा परिवर्तन ल्याउनका लागि अपनाइने विधि नै शिक्षण विधि हो ।

शिक्षण सिकाइको महत्वपूर्ण साधनको रुपमा पाठ्यक्रमलाई मानिन्छ । पाठ्यक्रममा राखिएका सोच, विचार र दृष्टिकोणलाई विद्यार्थीले परीक्षाको माध्यमबाट कापीमा उतार्नुमात्र नभइकन समग्र मानव जीवनको उन्नयनमा सहभागी गराई हरेक चुनौतीलाई सामना गर्दै सफल बनाउनका लागि उपयुक्त शिक्षण विधि आवश्यक छ । प्रभावकारी शिक्षण विधिको अभावमा पाठ्यक्रममा राखिएका उद्देश्य पूरा हुन सक्दैनन् । उपयुक्त शिक्षण विधिको प्रयोगबाट नै कक्षाकोठाभित्रको शैक्षणिक व्यवस्थापन प्रभावकारी हुन गइ शिक्षण क्रियाकलाप फलदायी बन्ने देखिन्छ भने यसको उचित प्रयोग गर्न नसक्दा शैक्षणिक उद्देश्यमात्र प्राप्त हुन नसक्ने होइन कि शिक्षकको शिक्षण पेसामाथि पनि प्रश्न चिह्न उठ्न सक्ने अवस्था देखापर्छ ।

शिक्षणमार्फत सिप प्रस्तुत गर्ने गहन जिम्मेवारी बोकेका सिपालु शिक्षकहरुले समयको मागसँगै शिक्षण गर्ने शैली, प्रयोग गर्ने शैक्षिक सामग्री र समग्र शिक्षण विधिमा परिवर्तन गर्र्नुपर्ने देखिन्छ । समयले हिजोका हाम्रा कतिपय प्रयोगलाई आज गलत प्रमाणित गरिदिएको छ । हामी आज पनि हिजोकै धरातलमा उभिएर प्रस्तुत भइरहँदा हाम्रो प्रस्तुति ठीक छ–छैन भनेर आत्मसमीक्षाको जरुरी छ । शिक्षण विधि तथा तरिकाको उचित ज्ञान भएको शिक्षकले नै समय र परिस्थिति अनुकूलको प्रभावकारी शिक्षण गर्न सक्छ ।

एउटा शिक्षकले आफ्नो कक्षा शिक्षणलाई व्यवस्थित र अनुशासित बनाउनको लागि सबैभन्दा पहिले शैक्षिक उद्देश्य निर्धारण गर्नुपर्छ । यस्ता उद्देश्यहरु निर्धारण पश्चात् उपयुक्त शिक्षण विधिको प्रयोग गरी आकर्षक र प्रभावकारी तरिकाले उपयुक्त शैक्षिक सामग्रीको प्रयोग गर्दै शिक्षण क्रियाकलापलाई मुल्यांकन प्रक्रियासम्म लैजानुपर्छ । तसर्थ शैक्षणिक उद्देश्य प्राप्त गर्न वैज्ञानिक र व्यावहारिक शिक्षण विधिको प्रयोग गर्दै लैजानुपर्छ ।

अवको शिक्षण विधि
बालमैत्री विहीन घर, परिवार र समाजको व्यवहार साथै हामीले निर्माण गरेका परम्परागत र संकुचित संरचना साथै प्रतिकूल प्राकृतिक वातावरण भित्र उब्जिएका मानसिक तथा शारीरिक दबाबबीच कसरी एउटा शिक्षक कक्षाकोठा भित्र इमानदार रुपमा अडिएर पेसारुपी कर्म, आदत, विचार र चरित्रका कुराहरु गरी विद्यार्थी, अभिभावक र समग्र मुलुकको भाग्य निर्माण गर्ने अभियानमा समाहित भइरहेका छन् ? यो नै सोचनीय विषय बनेको छ ।

यदि साँच्चै नै हामीले सबैको भाग्य निर्माणको यात्रा तय गर्ने हो भने सर्वप्रथम हामी र हाम्रो समुदायको वातावरण सुधार गर्न आवश्यक छ । हाम्रा सागुरा मानवीय तथा भौतिक सिर्जनालाई परिमार्जित गर्न जरुरी छ । हामीले गर्दै आएका शिक्षण र हाम्रा कक्षाकोठामा गरिने शिक्षण विधिका सबालमा मसिनोभन्दा मसिनो बहस चलाई निष्कर्ष निकाल्न अति जरुरी छ । २१ औं शताब्दीको शिक्षालाई कक्षाकोठाबाट ज्ञान हस्तान्रण गर्ने भन्दा पनि आफै उत्सुक र सक्रिय भएर सिक्ने वातावरण निर्माण गरी विद्यार्थीलाई सभ्य र सुसंस्कृत नागरिकदेखि राष्ट्र निर्माण गर्ने अभियानमा विद्यार्थी क्रियाकलापमुखी बनाइ बालकेन्द्रित, व्यवहार र सहभागितामूलक क्रियाकलाप, सामग्री र प्रविधिमैत्री केन्द्रित शिक्षणमा जोड दिन जरुरी देखिन्छ ।

आधुनिक विधिअन्तर्गत शैक्षिक वातावरण, कक्षाकोठाको उचित व्यवस्थापन, शैक्षणिक समाग्रीको प्रयोग, सरल अर्थपूर्ण प्रस्तुति, शिक्षक र विद्यार्थीबीचको मैत्रीपूर्ण व्यवहार, विद्यार्थीको पूर्वज्ञानको आधारमा उमेर, सिकाई क्षमता आदिलाई ध्यान दिँंदै पाठ्यक्रममा निर्धारित उद्देश्यहरु सूरा गराउनको लागि अभिनय, प्रर्दशन, अन्तक्र्रिया, विद्यार्थी सहभागिता, सहपाठी अन्तक्रियात्मक शिक्षण सिकाइमा जोडदिनु आवश्यक छ । परियोजना कार्य र घटना अध्ययनका साथै निरन्तर अभिभावकसँगको भेटघाट जस्ता कार्यहरुलार्ई इमानदारिताका साथ पालना गर्दै कक्षाकोठा र पाठ्यपुस्तकलाई प्रविधिसँग जोडी मोबाइल, कम्प्युटर र मल्टिमिडियामा रुपान्तरण गरी ई–लर्निङ र यु–लर्निङ विधि अपनाउन आवश्यक छ ।

हाम्रा धार्मिक ग्रन्थ तथा शास्त्रमा आधारित पात्रहरुका भूमिकालाई सिक्ने र सिकाउने कार्यमा समावेश गराई अनुशासित र नैतिकवान समाज निर्माणमा सहभागी गराउनुपर्ने देखिन्छ । सिक्ने कार्यको सफलता किताब पढाएरमात्र प्राप्त हुँदैन तसर्थ अबको शिक्षाको स्वरुपलाई हासिल गर्ने परिवेशमा जीवनका गतिविधि, वरिपरिको प्रकृति र बालबालिकाका स्वतन्त्रता तथा वर्तमान जीवनको महत्वका साथै वैज्ञानिक दृष्टिकोणलाई केन्द्र राखी विद्यार्थीलाई आज्ञाकारी होइन, सिर्जनात्मक बनाउन, विद्यार्थीलाई निष्क्रिय होइन बनाउनुका साथै धैर्य, करुणा, सहिष्णु, समझदारी खोजी गर्न सक्ने प्रवृत्ति, आलोचनात्मक चिन्तन जस्ता गुणहरुको विकास शिक्षण विधिको माध्यमबाट गर्न सक्नुपर्छ ।

अन्त्यमा, यो सबै गर्ने शिक्षकले नै हो । शिक्षकले आँटेमा सम्भव छ । अबका दिनमा कक्षाकोठा भित्रबाहिर र समाजका दायाँबायाँ मोडमा प्रस्तुत भइरहदा एक उत्तम र प्रतिबद्ध व्यक्तित्वको रुपमा चित्रित हुन जरुरी छ । एउटा शिक्षकको प्रतिबद्धता भित्र समग्र राष्ट्रको अवसरका वर्तमान र सम्भावनाको क्षितिज देखिएकोे हुन्छ । म एक आर्कषक व्यक्ति हुँ जसले सबैलाई आकर्षित गर्न सक्छु, मसँग मिठो भाषिक अभिव्यक्ति र कला छ, सबैलाई एकत्रित गर्न सक्छु साथै मसँग स्नेही स्वभाव, उच्च नैतिकता, आत्मविश्वास, नेतृत्वसिप, स्पष्टवादीता, सहयोगी, विनयशील, जिज्ञासु, शिक्षणकला जस्ता गुणहरु विद्यमान छन् भन्ने कुरामा विश्वस्त हुँदै शिक्षण कार्य गरिएमा निश्चय पनि सुधारको सूर्योदय हुनेछ ।

शिक्षक बन्न सजिलो होला तर असल शिक्षक बन्न सहज छैन । यसका लागि हजारौं नियमितता, आत्मचिन्तन, र प्रतिबद्धताको स्थिर यात्रा तय गर्न आवश्यक छ । शिक्षकको प्रतिबद्धतामा कहीं कतैबाट धुमिल बादलका कणहरु देखिन गएमा समग्र मुलुकको वर्तमानलाई त असरपार्छ नै भविष्यलाई समेत पछाडि धकेल्छ । नयाँ शिक्षक, नयाँ विद्यालय र नयाँ मुलुकको निर्माणका लागि कक्षाकोठालाई प्रारब्धको बिन्दु बनाई आजैबाट जुटौं ।
भण्डारी अरण्यज्योति पुस्तकालका अध्यक्ष हुन् ।

तपाईको प्रतिक्रिया