अर्यालकाे लाखौं ठगेर नेपाल फरार

समाधान संवाददाता २०७५ माघ ५ गते १०:२६


विकास रोकामगर
प्रदर्शनी केन्द्र नजिकै केही दिन अघि बालुवा डिपो देखिन्थ्यो । महानगरले सडक व्यवस्थापन गर्ने भन्दै उक्त ठाउँको ‘बालुवा हटाउनू’ भन्दै पत्र काट्यो । महानगरले उक्त ठाउँमा पार्किङस्थल बनाउने योजना बनाएको छ । अहिले उक्त ठाउँमा बालुवा हटिसकेको छ । तर उक्त जग्गाको विवाद भने बढेर गएको छ ।

Advertisement

जनकपुर चुरोट कारखानाको स्वामित्वमा रहेको उक्त जग्गामा व्यापार गर्न २ जनाले सहमति गरेका थिए । तर तीमध्ये एक नुवाकोटका यमप्रसाद नेपालबाट आफू ठगिएको अर्का साझेदार महेश्वर अर्यालले बताएका छन् । तरकारी बजार खोल्न २ जनाबीच सम्झौता भएर आफूले १० लाख रुपैयाँ दिएकोमा नेपाल अचेल सम्पर्कविहीन भएको अर्याल बताउँछन् ।

नुवाकोटका यमप्रसाद नेपालले २०७२ सालमा पोखराका महेश्वर अर्यालसँग भेटे । नेपालले पोखराका विभिन्न ठाउँमा व्यापारिक केन्द्र र सटर खोलेर व्यापार गरिरहेका थिए । त्यही बेला नेपाल र अर्यालको भेट भएको थियो । अर्याल आफू पनि पोखरामा केही व्यापार गर्न उपाय खोजिरहेका थिए । नेपालसँगको भेटले अर्याललाई आत्मविश्वास बढ्यो । किनभने नेपालले अर्याललाई सहकार्यमूलक व्यापारका लागि ‘अफर’ गरेका थिए ।

‘सब्जी मन्डी खोलौं भन्नुभयो । साझेदारी भएपछि मैले पनि हुन्छ भनें,’ अर्यालले शुक्रबार समाधानसँग भने । नेपालले प्रदर्शनी केन्द्रनजिक रहेको उक्त जग्गाको कागजपत्रसमेत देखाएका थिए । उनले विश्वास गरे र साउन १ गते अदालतमा गएर साझेदारी सम्झौता गरे ।

अदालतमा पेस भएको सम्झौतापत्र अनुसार २०७० चैत १६ गते ऋषिराम कोइरालासँग नेपालले जग्गा करारमा लिएको उल्लेख छ । तर अर्यालले भने आफूलाई जनकपुर चुरोट कारखानाको कागजपत्र देखाएको दाबी गरेका छन् । उनले सुरुमा २० लाखको लगानीमा मन्डी खोल्ने सम्झौता भएको र आफूले सोही अनुरुप १० लाख रुपैयाँ बुझाएको जानकारी दिए । ‘सबै काम प्रक्रियामा बराबर हक लाग्ने गरी सहमति गरेका थियौं । तर केही महिनामा नै नेपाल गायब भयो,’ उनले भने, ‘सम्झौता गर्दा नै हामीले १० लाख क्यास बुझाएका थियौं ।’

Advertisement

सम्झौता भएको जग्गामा नोक्सानी भएपछि त्यसको पूर्ति गर्न आफूहरुले बालुवा बिक्री डिपो राखेको पनि उनले खुलाए । ‘पैसा लगेर भागेपछि त्यसको परिपूर्ति गर्न बालुवा डिपो रोखेर बिक्री वितरण थालेका हौं । अहिले महानगरले पत्र पठाइसकेपछि सबै हटाइसकेका छौं,’ उनले भने ।
नेपाल फरार भइसकेपछि आफूहरुले जिल्ला प्रहरी कार्यालय र सिडिओ कार्यालयमा पनि उजुरी दिएको अर्यालले सुनाए । उनले भने, ‘तत्कालीन इन्स्पेक्टर देवी पौडेलले सिडिओ कार्यालयमा पठाउनु भयो । सिडिओ कार्यालय पनि आफैं समस्या सुल्झाउन भन्नुभो ।’ उनले यमप्रसाद नेपालले पोखराका धेरै क्षेत्रमा ठगी गरेर भागेको समेत आरोप लगाए ।

अर्यालले आफूले नुवाकोट नै पुगेर नेपालको खोजी गरेकोसमेत सुनाए । ‘नुवाकोट नै पुग्यौं । तर उहाँ त्यहाँ हुनुहुँदो रहेनछ । सालो र ससुराले हामीलाई झापा भएको जानकारी दिएका थिए,’ उनले भने । काठमाडौंमा व्यापार गरिरहेका राम नेपाल यमको दाइ भएको दाबी गर्दै उनले रामले समेत आफ्नै भाइलाई चिन्दिनँ भनेको उनले सुनाए ।

२ पक्षीय व्यापारिक फर्म सञ्चालन गर्न भएको उक्त सम्झौतामा स्याङ्जाको तत्कालीन टक्सार गाविस निवासी चन्द्रबहादुर विक, ललितपुरको तत्कालीन देवीचौर गाविस निवासी रोशन लोप्चन साक्षी छन् । उक्त सम्झौतापत्र कानुन व्यवसायी सन्तोष चापागाईंले तयार पारेका छन् । स्रोतका अनुसार यम अहिले नुवाकोटमै रहेको देवीघाटमा नदीजन्य व्यवसाय गर्दै आएका छन् । सम्पर्क गर्न खोज्दा उनको मोबाइल नम्बर अफ थियो ।

तपाईको प्रतिक्रिया