सफलताको ‘आकार’ साेंचमा भरपर्छ

समाधान संवाददाता २०७५ माघ ७ गते ११:३७

बुद्धि मल्ल

यो संसारमा भोकै बस्नुपर्ने मानिसदेखि अर्बपति–खर्बपति जस्ता सबै प्रकारका मानिस छन् । एउटै सहर, गाउँ, टोल, कम्पनीमा पनि कुनै १ व्यक्तिले महिनामा लाखाैं कमाइरहेका हुन्छन् भने कुनैले हजार कमाउन पनि धौ–धौ परिरहेको हुन्छ । यसरी एउटै वातावरण, एउटै परिवेश, एउटै स्थानमा पनि मानिसबीचको सफलतामा फरक आउनुको मुख्य कारण उनीहरुको सोंचमा रहेको भिन्नताले गर्दा हो । ठूलो सोंच्ने व्यक्तिको सफलता पनि ठूलै हुन्छ भने सानो सोंच्ने व्यक्तिको सफलता पनि उसको सोंच अनुसारको सानै हुन्छ ।

१ जना एकदमै गरिब केटा जागिरको खोजीमा सहरमा यताउता भौंतारिंदै थियो । बाटोमा हिँड्दा–हिँड्दै थकाई मार्न एउटा प्रतिक्षालयमा बस्यो र भोकाएकोले झोलाबाट टिफिन बक्स निकाल्यो । टिफिनमा भएको एउटामात्रै रोटी भए पनि निकालेर खान थाल्यो । उसको खाने तरिका भने निक्कै गज्जबको थियो । उसले रोटी टुक्रा पाथ्र्याे र टिफिनभित्र लैजान्थ्यो र रोटीसँग केही मिलाएर खाएको जस्तो गरेर खान्थ्यो जबकि उसँग रोटी बाहेक अन्य केही खानलाई थिएन ।

Advertisement

उसको क्रियाकलाप देखेर प्रतिक्षालयका अन्य व्यक्तिहरु चकित परे र १ जनाले त्यसो गरेर खानुको कारण सोधे । केटोले जवाफ दियो– सर, म यो कल्पना गर्छु कि, यो टिफिनभित्र अचार छ र यो रोटीसँग अचार राखेर खाँदैछु । व्यक्तिले फेरि सोध्यो– तिमीलाई अचारको स्वाद आइरहेको छ त ? केटोले जवाफ दियो– अँ । मलाई अचारको स्वाद आइरहेको छ ।

व्यक्तिले भन्यो– हेर भाई ! तिमीलाई कल्पना नै गर्नुछ भने अचारमात्र किन ? स्वादिष्ट मासु, मटर–पनीरसँग खाएको कल्पना गर न । कल्पना गर्नु नै छ भने किन सानो चिजको कल्पना गर्नु ? ठूलो चिजको कल्पना गर ।

Advertisement

माथिको गरिब केटोको कथाले अधिकांश मानिसको प्रतिनिधित्व गर्छ । विभिन्न वातावरणीय प्रभावले गर्दा पनि हामीहरु ठूलो सोंच्न सक्दैनौं ।

सामाजिक मूल्य–मान्यता तथा विभिन्न वातावरणिय तत्वहरुले हामीलाई ठूलो सोंच्नको लागि रोकिरहेको छ र यसको सुरुआत परिवारबाट पनि सुरु हुन्छ किनभने आमाबुबाले आफ्ना छोराछोरीलाई अरुको छोराछोरीभन्दा कमजोर ठान्छन् । छिमेकी तथा साथीभाइको छोराछोरीले आफ्ना छोराछोरीभन्दा बढी अंक ल्यायो भने आफ्ना छोराछोरीलाई नालायक भन्ने संस्कारबाट उनीहरुको मनोबल गिराउने कार्य हुन्छ । छोराछोरीलाई नालायकको दर्जा दिनुभन्दा उनीहरुलाई हौसला प्रदान गरी अझ राम्रो गर्न, ठूलो सोंच्न प्रोत्साहन गर्नु जरुरी हुन्छ ।

हाम्रो सोंच सेतो छाला भएको व्यक्ति देख्ने बित्तिकै हामीभन्दा बढी जान्ने, सुन्ने जस्तो लाग्छ । अलि अंग्रेजी बोल्ने व्यक्ति धेरै पढेलेखेका र स्मार्ट लाग्छन् र यही सोंचले गर्दा पनि हामीले आफूलाई अन्यभन्दा कमजोर ठान्छौं र ठूला–ठूला उपलब्धि हासिल गर्ने सोंच्न सक्दैनौं । नेपालीमा एउटा भनाई छ, ‘सूर्यलाई ताकेर झटारो हान्यो भने अग्लो रुख त पक्कै भेटिन्छ ।’ ठूलो सोंच अथवा लक्ष्य बनायौं भने साना तथा मझौला लक्ष्यहरु त सजिलै भेटिन्छ तर सानो लक्ष्य बनायौं भने ठूलो लक्ष्य प्राप्त गर्न असम्भव हुन्छ । हामीले आफूलाई अरुभन्दा कमजोर ठान्नु हुँदैन । आफूलाई पनि सक्षम ठानी आत्मविश्वास कायम गरी ठूलो सोंच्नुपर्छ ।

१९६२ मा क्यानाडामा जन्मेका जिम केरी सानोमा हुँदा गरिबीको कारणले गर्दा स्कुलको फि तिर्नको लागि १५ वर्षको उमेरमा ट्वाइलेट सफा गर्ने काम गरे । जिम सानोदेखि नै एउटा राम्रो कलाकार बन्ने सपना देख्थे र अभिनय कला सिक्दै रहे । सन् १९९० मा जब जिम हलिउडमा अभिनय गर्ने लक्ष्यका साथ विभिन्न संघर्ष गरिरहेका थिए, एकदिन उसले आफैंले आफूलाई उत्प्रेरित गर्नको लागि आफ्नै नाममा ५ वर्ष पछाडि अर्थात् सन् १९९५ को मिति राखेर १० मिलियन डलरको चेक काटे र पर्समा राखे । केरीलाई ५ वर्षपछि आफूले उत्कृष्ट कलाकारको रुपमा १० मिलियन बराबर रकम पुरस्कार पाउँछु भन्ने विश्वास थियो र सोहीअनुसार आफूलाई तयारी गर्दै थिए ।

त्यतिबेला जिम जस्तो गरिब परिवारको व्यक्तिले १० मिलियन डलरको सपना देख्नु एकदमै ठूलो कुरा थियो । ऊ त्यतिबेला सामान्य व्यक्ति थियो तर, उसको सोंच ठूलो थियो । १९९० मा नै उसले ५ वर्षपछि अभिनयवापत १० मिलियन डलरको चेक प्राप्त गर्नुपर्छ भन्ने लक्ष्यका साथ आफैंले आफ्नै नाममा काटेको चेक पर्समा राखेर हिँड्थ्यो र दिनदिनै त्यो चेक हेरेर उत्प्रेरित हुन्थ्यो । १९९४ सम्म जिम केरीले टिभी सिरियल तथा केही फिल्ममा काम गरिरहे । जिमको सपना अनुसार १९९५ मा ‘डम्ब एन्ड डम्बर’ भन्ने फिल्ममा मुख्य भूमिका निर्वाह गरे जुन फिल्म सुपरहिट भयो र उसलाई १० मिलियन डलर पारिश्रमिक प्राप्त भयो ।

जिम केरीको उदाहरणले बुझ्न सकिन्छ कि हामी जति ठूलो लक्ष्य लिन्छौ, त्यति नै ठूलो सफलता प्राप्त गर्छाै । तर, लक्ष्य लिएर मात्र हुँदैन, उक्त लक्ष्य प्राप्तिको लागि निरन्तर लागिरहनुपर्छ । लक्ष्य लिएपछि मेहनत र दृढताका साथ लागिपर्ने हो भने अवश्य पनि लक्ष्य प्राप्त हुन्छ । जिम केरीको आफैं आफैलाई उत्प्रेरणा दिलाउन दिनदिनै चेक हेर्ने र मेरो लक्ष्य यो हो भनेर आफैंले आफैलाई स्वनिर्देशित गर्ने तरिका गज्जबको छ । मानिस सफल हुनको लागि उत्प्रेरणको आवश्यक पर्छ र त्यो पनि स्वउत्प्रेरणा त झनै आवश्यक पर्छ । प्रत्येक ठूला कार्यहरु प्रत्येक ठूला सफलताहरु एउटा ठूलो सपनाबाट सुरु हुन्छ, एउटा ठूलो लक्ष्यबाट हुन्छ ।

संसारका ख्यातिप्राप्त मोटिभेटरहरुले भन्ने गर्छन्– लक्ष्य त्यत्रो बनाउनु कि, जबसम्म मानिस तिम्रो लक्ष्य सुनेर तिमीलाई पागल भन्दैनन् । यदि तिम्रो लक्ष्य सुनेर तिमीलाई पागल भन्दैनन् भने तिम्रो लक्ष्य सानो छ भनेर बुझ्नु । विभिन्न सफल व्यक्तिको जीवनीलाई अध्ययन गर्ने हो भने पनि उनीहरुले आफ्नो लक्ष्य अरुलाई सुनाउँदा धेरै व्यक्तिले उनीहरुलाई उडाएका थिए ।

पाकिस्तानको क्रिकेट टिमबाट रिटायर्ड भएपछि इमरान खानले राजनीतिक पार्टी खोलेर देश परिवर्तन गर्ने लक्ष्य सुनाएका थिए, त्यतिबेला इमरान खानलाई धेरैले साथ दिएका थिएनन् तर, अहिले इमरान खान बहुमत नजिकको पार्टीको हिसाबले पाकिस्तानको प्रधानमन्त्री छन् । जब सर एडमन्ड हिलारीले सगरमाथा चढ्ने लक्ष्य सुनाएका थिए, धेरैको नजरमा यो आत्महत्या गर्न जानु सरह थियो ।

कसैलाई पनि थाहा थिएन कि, सगरमाथा चढ्ने बाटोमा के–के छन्, कस्तो छ । त्यतिबेला त्यति विकसित नभइसकेको प्रविधि तथा कम संशाधन तथा कम सूचनाको साथमा हिलारीले सगरमाथा चढ्ने निर्णय गरे, वास्तवमा त्यो ज्यादै ठूलो लक्ष्य थियो र आखिरमा उनले तेन्जिङ नोर्गे शेपासँग सगरमाथाको सफल आरोहण गरी इतिहास रचेरै छाडे ।

ठूलो सफलताको लागि ठूलै लक्ष्य आवश्यकपर्छ तर, लक्ष्य ठूलो बनाउँदैमा सुरुआत नै ठूलोबाटै गर्नुपर्छ भन्ने होइन । सानोबाट सुरु गरेरै पनि ठूलो लक्ष्यमा पुग्न सकिन्छ । नेपालको भाटभटेनी सुपरमार्केट यसको एउटा गतिलो उदाहरण हो । सानोबाटै सुरु गरे पनि निरन्तरको बृद्धिले ठूलो लक्ष्यमा पुग्न सकिन्छ । अलिबाबा ग्रुपका कार्यकारी अध्यक्ष तथा चीनका सबभन्दा धनी व्यक्ति ज्याक माले पनि अलिबाबा ग्रुप सुरु सानो समूहबाटै सुरु गरेका थिए । त्यसरी नै नेपालको टेलरिङ व्यवसायमा सबभन्दा स्थापित नाम श्रेष्ठ टेलरिङका बाबुकाजी शाक्यले ६० रुपैयाँबाट व्यवसाय सुरु गरेका थिए ।

लक्ष्य सानो र ठूलो कस्तो हुने भन्ने व्यक्ति विशेषमा भरपर्छ । एउटा व्यक्तिलाई ठूलो लाग्ने लक्ष्य अर्काे व्यक्तिलाई सानो लाग्न पनि सक्छ तर, यदि तपाई कुनै कम्पनीमा सानो कर्मचारीको रुपमा छिर्नु भएको छ भने त्यहाँको म्यानेजर बन्ने लक्ष्य राख्नुहोस् । यदि म्यानेजर हुनुहुन्छ भने मालिक बन्ने लक्ष्य राख्नुहोस् ।

तपाई जुन क्षेत्रमा हुनुहुन्छ भने पनि त्यो क्षेत्रको माथिल्लोस्तरमा पुग्ने लक्ष्य राख्नुहोस् । तर, लक्ष्य राख्नासाथ जे बन्ने लक्ष्य लिनुभएको छ, सोहीअनुसार व्यवहार पनि गर्न थाल्नुहोस् । जस्तै– म्यानेजर बन्ने लक्ष्य राख्नुभएको छ भने आजैबाट म्यानेजर जस्तै सोंच र व्यवहार गर्नुहोस् । मालिक बन्ने सोंच राख्नुभएको छ भने आजैबाट मालिकले जस्तै सोच्ने, मालिकले जस्तै कम्पनीलाई माया गर्ने गर्नुहोस् ।

तपाई जुन हैसियतमा हुनुहुन्छ निरन्तर त्योभन्दा १ कदम माथि जाने लक्ष्य राख्नुहोस् । जागिर गर्नुहुन्छ, सहायक हुनुहुन्छ भने अधिकृत हुने लक्ष्य राख्नुस्, अधिकृत हुनुहुन्छ भने म्यानेजर हुने लक्ष्य राख्नुस् । म्यानेजर हुनुहुन्छ भने कार्यकारी हुने लक्ष्य राख्नुहोस् । तर, तपाई मुख्य लक्ष्य अर्थात् ठूलो लक्ष्य त कार्यकारी हुने नै राख्नुहोस् । जति ठूलो लक्ष्य राखिन्छ, त्यति नै ठूलो विश्वास कायम राख्नुपर्छ र त्यति नै ठूलो योजना बनाउनुपर्छ । यदि यसो गरिए त्यति नै मात्राको उपलब्धि अर्थात् लक्ष्य हासिल गर्न सकिन्छ । ठूलो लक्ष्य लिऔं ठूलो उपलब्धि प्राप्त गरौं ।

मल्ल ओम डेभलपमेन्ट बैंक लिमिटेडका नायव प्रमुख कार्यकारी अधिकृत हुन् ।

तपाईको प्रतिक्रिया