सिकारु विद्यार्थीको अभ्यास
खगराज बराल
२०४९ साउनदेखि मैले पृथ्वीनारायण क्याम्पसमा आंशिक प्राध्यापकको रुपमा काम गरेको थिएँ । त्यसअघि पनि सिकाइ सम्बन्धी तीता अनुभवहरु नभएका होइनन् । तर क्याम्पस पढाउन थालेपछि भने यसको तिक्ष्ण अनुभव बढ्दै गयो । अंग्रेजी विषय विभागका प्रमुख देवेन्द्र अधिकारीको आग्रह स्वीकार्दै बिहान स्नातकोत्तर तहको विद्यार्थी, दिउँसो नवीन माध्यमिक विद्यालयको शिक्षक र बेलुकी पृथ्वीनारायण क्याम्पसमा अध्यापन जस्ता दैनिक ३ वटा भूमिका निर्वाह गरेको थिएँ त्यस समय ।
शिक्षाशास्त्र संकायअन्तर्गत हरेक तहको अन्त्यमा ‘शिक्षण अभ्यास’ को अनिवार्य कार्यक्रम राखिएको छ । शिक्षण अभ्यासले अभ्यासरत विद्यार्थीलाई सीप विकासमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने अपेक्षा गरिएको हुन्छ । यस्तै शिक्षण अभ्यासका २ टा अविस्मरणीय अनुभव छन् मसँग, सधैं ताजा ।
०५० सालतिर पोखरामा शिक्षण कार्यमा संलग्न हुँदा बालबालिकाको हितका लागि गठित बाल विकास सांस्कृतिक समाजको सहसचिवको नाताले मेरो संयोजकत्वमा गठित कविता प्रतियोगिताको निमन्त्रणा वितरण गर्न पोखराका माध्यमिक विद्यालय घुम्दै थिएँ । त्यसै क्रममा बाराही माध्यमिक विद्यालय जान पोखरा बागवानी केन्द्र नजिकै पुगेको थिएँ, १ जना पूर्वविद्यार्थीसँग भेट भयो । उनको शिक्षण अभ्यासको आन्तरिक सुपरिवेक्षण मैले गरेको थिएँ ।
पृथ्वीनारायण क्याम्पस, शिक्षाशास्त्र संकायको शिक्षण अभ्यास समितिका प्रमुख चूडामणि सोतीले मलाई नवीन माध्यमिक विद्यालय र छिमेकी विन्ध्यावासिनी माध्यमिक विद्यालयमा प्रवीणता प्रमाणपत्र र स्नातक तहका विद्यार्थीको नेपाली र अंग्रेजी विषयको आन्तरिक सुपरिवेक्षण जिम्मा दिनुभएको थियो । बागवानीको गेटमा भेट भएका ती विद्यार्थीले आफू प्रवीणता प्रमाणपत्र तह दोस्रो वर्षमा अनुत्तीर्ण भएको र त्यसमा पनि शिक्षण अभ्यासमा अनुत्तीर्ण भएको जानकारी गराउनुभयो । मलाई निज विद्यार्थी किन अनुत्तीर्ण हुनुभयो होला भन्ने लाग्यो । म उहाँको शिक्षण अभ्यासलाई स्मरण गर्ने कोसिस गर्दै आफ्नै काममा लागें– ‘एहे ! त्यसो नहुनुपर्ने, किन त्यस्तो भयो त ? म बुझ्ने प्रयास गर्छु ।’
केही पर पुगेपछि म फर्किएँ र उनलाई पुन बोलाएर सोधें– ‘तपाईं यहाँ के गर्दै हुनुहुन्छ ? के तपाईं यहींको स्टाफ हो ?’
उहाँको जवाफ थियो– ‘सर ! म यो बागवानीभित्र ज्यालादारी मजदुरी गर्छु । फलफूलका बोट वरिपरिको घाँस काट्ने र झार उखेल्ने काम गर्दै पढ्दै आएको छु । काम नगरी पढ्न सक्ने उपाय छैन ।’
ज्यादै माया लाग्दो पाराले आफ्नो व्यथा सुनाए उनले । ट्वाल्ल परेर हेरेको हेर्यै भएँ म । ‘हुन्छ, भाइ ! अर्को वर्ष प्रयास गर्नुहोला । अवश्य सफल हुनुहुनेछ । केही कारण थियो होला । म बुझ्ने प्रयास गर्छु ।’
म त्यहाँबाट त हिँडें तर पटक्कै जाँगर चलेन, बागवानी नजिकैको चौतारीमा बसेर सोच्न थालें– ती विद्यार्थी शिक्षण अभ्यासमा अनुत्तीर्ण हुनुको कारण के होला ? केहीबेर सोचेपछि मलाई पूर्वदीप्ति भयो ।
आफू अध्यापन गर्ने विद्यालयबाट शिक्षण अभ्यासको सुपरिवेक्षणका लागि म विन्ध्यवासिनी माध्यमिक विद्यालय गएको थिएँ । मालेपाटनमा भेट भएका विद्यार्थीसहित ९–१० जनाको कक्षा अवलोकन गर्ने, पृष्ठपोषण दिने र बाह्य सुपरिवेक्षकलाई आन्तरिक सुपरिवेक्षकको जानकारी उपलब्ध गराउने मेरो काम थियो । अरु विद्यार्थीको कक्षा अवलोकन गरे पनि निज विद्यार्थीको कक्षा अवलोकन गर्ने अवसर त्यस दिन मिलेन । नमिल्नाको कारण थियो विद्यालयमा त्यस दिन उनको अनुपस्थिति ।
दोस्रो चरणको सुपरिवेक्षणमा उनी उपस्थित थिए तर कक्षाकोठामा गएर अवलोकन गर्दा म अन्योलमा परें । पाठयोजनाको रजिस्टरको अन्तिम योजना र उनले पढाएको कुरा मिल्दै मिलेन । मैले त्यसको मिति हेरें, १० दिनपछिको रहेछ । पढाउँदै गरेका व्यक्तिलाई सोध्ने कुरा पनि भएन । अगाडिको मितिका योजनाका पाना पल्टाउँदै जाँदा बल्ल त्यस पाठको योजना भेटियो ।
उद्देश्यदेखि मूल्यांकनसम्म कुनै पनि लेखाइ मिलेको थिएन । अध्यापन पनि प्रभावकारी हुन सकेन । कुनै शिक्षण सामग्री प्रयोग गरिएको थिएन । विद्यार्थी उत्प्रेरित देखिँदैनथे । विद्यार्थीको शून्य सहभागिताले कक्षामा हल्ला भइरहेको थियो । कक्षा अवलोकनको समय सकिएपछि म उनको पाठयोजना रजिस्टर लिएर शिक्षण अभ्यासका सहभागी बसेको कक्षतिर गएँ ।
एकान्तमा राखेर उनलाई सोधें– ‘तपाईंले ३० दिनको पाठयोजना तयार पार्नुभएको रहेछ । १ दिन बसेर ३० सै दिनको पाठयोजना बनाउन त मिल्दैन नि । आज पढाएको आधारमा भोलिको पाठयोजना बनाउने हो । त्यसैले यसलाई दैनिक पाठयोजना भनिएको हो । यो तपाईंले गलत गर्नुभयो ।’ अनुहार रातो पार्दै उनले भने– ‘सर, गल्ती भयो तर बाध्य छु । फुर्सदै हुँदैन ।’
‘तपाईं अध्ययन गर्न आएको विद्यार्थी हो । शिक्षण अभ्यासमा तपाईंलाई फुर्सद छ–छैन भनेर हेर्न मिल्दैन । प्रणालीअनुसार काम गर्नुपर्छ । यसले राम्रो नतिजा दिँदैन । तपाईंले धेरै कुरामा सुधार गर्नुपर्छ । तपाईंको पाठयोजनाको रजिस्टरमा लेखिदिएको छु । पढेर सुधार गर्नुहोला । अर्कोपटक गल्ती नदोहोर्याउनुहोला ।’
त्यसपछि प्रधानाध्यापकसँग पनि यसै विषयमा छलफल भयो । शिक्षण अभ्यासमा आएका विद्यार्थीको नियमिततामा चासो दिन अनुरोध गरें । उहाँले पनि निज विद्यार्थी नियमित नभएको, पठनपाठन राम्रो नभएको बताउनुभयो । निज विद्यार्थीलाई केही समयका लागि कक्षामा अभ्यास गर्न दिए पनि आफूहरुले पुन दोहोर्याउनेसमेत जानकारी दिनुभयो ।
शिक्षण अभ्यासको अन्तिम समय आयो । बाह्य सुपरिवेक्षकका रुपमा ठाकुरराम बहुमुखी क्याम्पसबाट दाह्री पालेका १ जना उपप्राध्यापक आउनुभयो । मैले पढाउने विद्यालयमा अभ्यासरत विद्यार्थीको कक्षा अवलोकन गर्नुभयो । छोटो कुराकानी गरी मेरो आन्तरिक सुपरिवेक्षण प्रतिवेदन लिनुभयो ।
दुवै जनाको सहमतिमा अंक प्रदान गर्यौं, तर विन्ध्यावासिनी माध्यमिक विद्यालयको शिक्षण अभ्यासको अन्तिम अवलोकन गर्दा खबर गर्नु भएन । केही सोध्नु भएन र आन्तरिक सुपरिवेक्षण प्रतिवेदन पनि लिनु भएन । आफ्नै किसिमले अंक हाल्नुभयो ।
शिक्षण अभ्यासमा अनुत्तीर्ण विद्यार्थीका उत्तीर्ण हुनुपर्ने पर्याप्त आधार त थिएनन् तर अनुत्तीर्ण नै होला भन्ने मैले सोचेको थिइनँ । बाह्य सुपरिवेक्षकले अनुत्तीर्ण गर्ने रहेछ । यो रहस्य मालेपाटनको बागवानीमा निज विद्यार्थीलाई भेटेपछि थाहा पाएँ ।
शिक्षण अभ्यासमा तोकिएका सर्त गम्भीरतापूर्वक पालना नभएमा असफल भइँदो रहेछ भन्ने उदाहरण हुन् ती विद्यार्थी । बेरोजगारी र गरिबीसँग जोडेर भावनात्मक रुपमा उत्तीर्ण गराउन सकिँदैन । हिजोआज त शिक्षाशास्त्रमा अध्ययन गर्ने विद्यार्थीले शिक्षण अभ्यासमा उपस्थितिमात्र जनाएर वा कहिलेकाहीं मात्र उपस्थित भएर पनि उत्तीर्ण भएको जानकारी पाएको छु ।
शिक्षण अभ्यासका सन्दर्भमा अर्को अनुभव पनि छ मसँग ।
कुरा ०५० सालतिरकै हो । नवीन माध्यमिक विद्यालय र विन्ध्यावासिनी माध्यमिक विद्यालयमा स्नातक तहका ४ जना विद्यार्थीको माध्यमिक तहको शिक्षण अभ्यास आन्तरिक सुपरिवेक्षण गर्नुपर्ने थियो । नवीन माविमा नेपालीका २ र अंग्रेजीका १ जना एवं विन्ध्यावासिनीमा नेपाली विषयका १ जना विद्यार्थी थिए । सुपरिवेक्षणकै क्रममा आफू अध्यापनरत विद्यालयमा नियमित र विन्ध्यावासिनी माविमा ३÷४ पटक कक्षा अवलोकन गरें ।
विभिन्न पक्षमा सुधारका लागि प्रशस्त सुझाव र पृष्ठपोषण दिएँ । प्रारम्भका तुलनामा निकै सुधार पनि देखिए । शिक्षण कार्यक्रमको प्रकृतिअनुसार ४५ दिन पुग्ने बेलामा नेपाली विषयको बाह्य सुपरिवेक्षकका रुपमा सानोठिमी क्याम्पसका माधव वाग्ले सर आउनुभयो । संयोग नै भन्नुपर्यो, मेरो प्रवीणता प्रमाणपत्र तहको शिक्षण अभ्यासको बाह्य सुपरिवेक्षक वाग्ले सर नै हुनुहुन्थ्यो ।
उहाँले मेरो कक्षा अवलोकन गरी बाह्य सुपरिवेक्षकका रुपमा मलाई औसत अंक दिनुभयो । त्यस समयमा पनि मेरो कक्षाको बाह्य सुपरिवेक्षणको समयमा आन्तरिक सुपरिवेक्षकको उपस्थिति थिएन ।
गुरुचेला दुवैको सल्लाह र सहमतिमा कक्षा अवलोकन भयो । ‘बरालजी, तपाईं यो विद्यालयको शिक्षक र आन्तरिक सुपरिवेक्षक दुवै हो । यो विद्यालयमा तपाईंको सुपरिवेक्षणमा राम्रो अभ्यास भएको छ । विद्यार्थी तपाईंको निर्देशन र नियन्त्रणमा काम गरेका छन् । तपाईं नै भन्नुहोस् कति अंक दिने ? म त्यसैमा सहमत छु,’ माधव सरले भन्नुभयो ।
‘विद्यार्थीले मिहिनेत गरेकै हुन्छ तर सबै समान हुँदैनन् । प्रस्तुतिका आधारमा न्यायोचित अंक दिउँ न सर !’ मैले भनें ।
हामी दुवै सहमत भयौं । अंक प्रदान गरियो । आन्तरिक सुपरिवेक्षकको भूमिकालाई सम्मान गरेकामा गर्विलो महसुस गरें । त्यसपछि हामी विन्ध्यावासिनी माध्यमिक विद्यालय गयौं । अवलोकनका लागि कक्षा ८ मा शिक्षण गर्ने विद्यार्थी शिक्षकको कक्षामा प्रवेश गर्यौं । विद्यार्थीले उठेर अभिवादन गरे । अभ्यासरत शिक्षक पनि पूरा तयारीमा थिए । नेपाली किताबको ‘नीतिशतकबाट’ शीर्षकको कविता शिक्षण गर्ने जानकारी निज शिक्षकले कालोपाटीमा लेखेको पाठ शीर्षक र मितिले जनाउँथ्यो । विद्यार्थी शिक्षकले आफ्नो पाठयोजनाको रजिस्टर हामीलाई बुझाएर कक्षा सञ्चालन गर्न थाले ।
चक्रपाणि चालिसेद्वारा लिखित अनुष्टप् छन्दको यस कवितालाई लयबोध, शब्दार्थ, वाक्यगठन र भावबोध गराउने विशिष्ट उद्देश्य निर्धारण गरी शिक्षण गर्ने योजना बनाइएको रहेछ । ती अभ्यास शिक्षकले लयबोधका लागि आफूले सस्वर वाचन गरे तर गति, यति र लयमा ध्यान दिएनन् । छन्दोबद्ध कवितामा सकेसम्म लयबोधका चरण अनुसरण त गरे तर उनलाई तोकिएको छन्दमा लयबोध गराउन कठिन भएको महसुस भयो । त्यसलाई पनि ठूलो विषय बनाइएन, लयबोध तोकिएको लयमा भए राम्रो हुन्थ्यो ।
अभ्यास शिक्षक जब शब्दार्थ शिक्षणमा पुगे, समस्या त्यहाँ देखियो । कतिपय शब्दहरुको अर्थ शब्दार्थ पत्तीबाट दिए । उनको शब्दार्थ पत्ती यति सानो थियो कि पछाडिका विद्यार्थी र हामीले पनि देख्न मुस्किल भयो । १ जना विद्यार्थीले ‘सुत’ शब्दको अर्थ सोधे । ती शिक्षक अलमलमा परे । उनले ‘सुत’ शब्दको अर्थ भन्नै सकेनन् । ‘नीतिशतक’ कविताको श्लोकमा थियो त्यो शब्दः
‘मूर्ख पुत्र हजारौंमा वेश यौटै गुणी सुत ।’
तपाईको प्रतिक्रिया