धवलागिरी गाउँपालिकाले तोक्यो एस्काभेटर भाडादर

समाधान संवाददाता २०७५ माघ ८ गते ८:२६

राकेश शर्मा- म्याग्दी

म्याग्दीको पश्चिममा रहेको धवलागिरी गाउँपालिकाले निर्माण कार्यमा प्रयोग हुने निर्माण उपकरणको भाडादर तोकेको छ । गाउँपालिकाको. कार्यपालिका बैठकले उपकरणहरुको मूल्य निधारण गरेको हो ।

बैठकले सडक निर्माणमा प्रयोग हुने एस्काभेटरको भाडादर कायम गरेको हो । गाउँपालिकाले बजेट बिनियोजन गरेका योजनामा बकेट प्रयोग गर्दा प्रतिघण्टा ५ हजार २ सय रुपैयाँ र ब्रेकर प्रयोग गर्दा प्रतिघण्टा ६ हजार २ सय रुपैयाँ भाडा कायम गरिएको कार्यपालिकाका प्रवक्ता झकबहादुर छन्त्यालले जानकारी दिए ।

Advertisement

उपभोक्ता समितिले घटिघटाउको आधारमा एक्साभेटर भाडामा लिनुपर्नेछ । निर्माण उपकरण प्रयोगलाई व्यवस्थित, पारदर्शी र एकरुपता काय गर्न भाडादर तोकिएको हो । कार्यपालिकाले निर्धारण गरेको भाडादर गत वर्षको भन्दा कम रहेको गाउँपालिका अध्यक्ष थमसरा पुनले बताइन् ।

पर्यटकको तथ्यांक राख्ने, चेकजाँच, परामर्श र अप्ठ्यारो परेको अवस्थामा सहयोग गर्न २ नम्बर वडा लमसुङ र ४ नम्बर वडा मुदीको जेल्तुङमा पर्यटक सूचना केन्द्र स्थापना गर्ने निर्णयसमेत भएको छन्त्यालले बताए । जेल्तुङ धौलागिरि हिमाल आरोहण र चक्रीय पदमार्ग भित्रिने मुख्य नाका हो । लमसुङ गुरिल्ला पदमार्ग, ढोरपाटन शिकार आरक्ष र गुर्जा जाने नाकामा पर्छ । आगामी शनिबार तय गरिएको गाउँसभालाई माघ १३ गते गण्डकी प्रदेशका मुख्यन्त्री पृथ्वीसुब्बा गुरुङले सम्बोधन गर्ने कार्यक्रम छ ।

Advertisement

म्याग्दीको पर्यटन, जलविद्युत, वनपैदावार, कृषि सम्भावना, विकासको समस्या र चुनौतीप्रति प्रदेश र संघीय सरकारको ध्यानाकर्षण गराउन मुख्यमन्त्रीलाई प्रमुख अतिथि बनाउन लागिएको अध्यक्ष पुनको भनाइ छ । गाउँपालिकाले सञ्चालन गर्ने झोलुंगे पुल क्षेत्रगत कार्यक्रम कार्यान्वयन गर्ने गैरसरकारी संस्था छनोटका लागि इन्जिनियरको नेतृत्वमा समिति गठन गरेको बैठकले अपांगता र ज्येष्ठ नागरिक परिचयपत्र वितरणसम्बन्धी कार्यविधि पारित गरेको छ ।

कार्यपालिका बैठकमा पेश भएको गत आर्थिक वर्षमा खर्च हुन बाँकी १ करोड ८८ लाख रुपैयाँ बिनियोजन गर्ने निर्णय भएको छ । त्यस्तै गाउँसभाले जुवातास नियन्त्रणसम्बन्धी प्रस्तावको आगामी गाउँसभामा छलफल गर्ने निर्णय गरेको छ । 

तपाईको प्रतिक्रिया