जापानिज भाषाबारे भ्रममा नपर्न भाषा संघ नेपालकाे आग्रह

समाधान संवाददाता २०७५ माघ ९ गते १३:४४

समाधान संवाददाता

जापान र नेपालबीच श्रम सम्झौता भएसँगै विभिन्न सञ्चारमाध्यममा भाषासम्बन्धी भ्रामक समाचार बाहिर आइरहेको भन्दै भाषा संघ नेपालले आपत्ति जनाएको छ । जापानिज भाषा पढाउन पोखरामा इजाजत र नेपाल सरकारको स्वीकृतिबिना अनाधिकृत रुपमा पठनपाठन भइरहेको संघले जानकारी दिएको छ ।

‘जापानिज भाषा पढाउन ‘नाट थ्री’ परीक्षा पास भएको हुनुपर्छ,’ संघका अध्यक्ष युवराज खनालले भने, ‘तर पोखराका होटेलदेखि कम्युटर सेन्टरसम्मकाले भाषा पढाउने घोषणा गरिरहेका छन् ।’ उनले योग्यता बिना भाषा पढाउनालाई विद्यार्थीलाई समस्या पर्ने बताए । भाषा पढ्दा नेपाल सरकारले सूचिकृत गरेको संस्थाबाट मात्र पढ्नु उत्तम हुने उनको भनाइ थियो ।

Advertisement

संस्थाका सचिव मोतीप्रसाद श्रेष्ठले आफूहरुले अनाधिकृत रुपमा खुलेको भाषा संस्थालाई पटक पटक सूचना जारी गरिसकेको जानकारी दिए । ‘हामीले सबैलाई सूचना दिइसकेका छौं । उहाँहरुले नमानेमा कारबाही हुनेछ,’ उनले भने । उनले आफू ठगिनबाट बच्न पहिल्यै शिक्षा मन्त्रालयबाट स्वीकृत लिएका संस्थामा मात्र अध्ययन गर्न जानकारी दिए ।

जापानिज भाषा परीक्षा अनलाइनमार्फत पोखराबाटै
मोग सर्भिस प्रालिले अनलाइनमार्फत पोखराबाटै भाषा परीक्षा दिन पाउने व्यवस्था सुरु गरेको छ । अहिलेसम्म भाषा परीक्षा कागजमा गरिँदै आएकोमा पोखराबाटै अनलाइनमा परीक्षा दिने व्यवस्था गर्ने पहिलो संस्था भएको प्रालिले दाबी गरेको छ ।

Advertisement

‘विद्यार्थी तथा अन्य सेवाग्राहीलाई सजिलो होस् भनेर यो प्रक्रिया सुरु गरेका हौं,’ प्रालिका सिइओ ओमहरि प्रजापतिले भने, ‘यो प्रक्रियाबाट परीक्षा दिने बित्तिकै नतिजा पाउन सकिनेछ र केही हप्तामै प्रमाणपत्र पनि प्राप्त गर्न सक्नेछन् ।’ जापानको एनएसजी ग्रुपद्वारा सञ्चालित सर्टिफाई इन्कसँगको सहकार्यमा प्रालिले यस्तो सुविधा ल्याएको जनाएको छ ।

जापानको अध्यागमन विभागबाट पनि मान्यता पाइसकेको दाबी गर्दै सिइओ प्रजापतिले विद्यार्थीले प्रत्येक हप्ता परीक्षा दिन पाउने जानकारी दिए । उनले भने, ‘पोखरामा फ्रेब्रवरी १६ देखि परीक्षा दिन पाइनेछ । यसले जापानिज परिक्षामा प्रयोग हुने एन फाइभ र एन थ्री लेबलसम्मको जाँच एकै पटक गर्न पाउनेछन् ।’

तपाईको प्रतिक्रिया