माघ २५ देखि समरलभ

समाधान संवाददाता २०७५ माघ १० गते १२:३८

समाधान संवाददाता

साहित्यकार सुविन भट्टराईको उपन्यासमाथि बनेको फिल्म ‘समर लभ’ माघ २५ मा प्रदर्शन हुने भएको छ । युवा पुस्तामा आफूलाई ‘बेस्ट सेलर लेखक’का रुपमा उभ्याइसकेका भट्टराईको उपन्यासलाई पर्दामा निर्देशक मुस्कान ढकालले उतारेका हुन् ।

फिल्म प्रचारका लागि देश दौदाहमा निस्केको फिल्म युनिटले बुधबार पोखरामा गरेको पत्रकार सम्मेलनमा कुरा गर्दै निर्देशक ढकालले समरलभ बनाउन सोचेकोभन्दा बढी गाह्रो भएको खुलाए । ‘यो फिल्म बनाउन मलाई २५ वटा फिल्म बनाएको भन्दा बढी गाह्रो लाग्यो,’ उनले भने, ‘अरु फिल्ममा अप्ठेरो परेको ठाउँमा सिन फेर्दा पनि दर्शकलाई थाहा हुँदैनथ्यो । तर कृतिमाथि फिल्म बनाउँदा त्यस्तो हुँदैन रहेछ ।’

Advertisement

नाइटिङगेल इन्टटेन्मेन्टको प्रस्तुतीमा आउन लागेको फिल्मकी नायिका रेवती क्षेत्रीले आफू फिल्ममा सायाको भूमिकामा रहेको जानकारी दिइन् । ‘फिल्मको अफर आउनुभन्दा अघि मैले उपन्यास पढेकी थिइनँ । अफर आइसकेपछि अडियो सुनेर फिल्म खेल्नुपर्छ भन्ने लागेको हो,’ उनले भनिन् । फिल्ममा आफ्नो भूमिका ‘च्यालेन्जिङ’ भएपनि काम गर्न सहज भएको अनुभव सुनाइन् ।

फिल्मको मुख्य नायिका खोज्नै १६ महिना लागेको निर्माण युनिटको दाबी छ । फिल्ममा अतितका रुपमा भूमिका निभाइरहेका आशिष पियालाई भने चक्लेटी अनुहार भएपनि संयोगबस भेटाएको निर्देशक ढकालले सुनाए । समरलभले पाठकको माया पाएकाले दर्शकको पनि माया पाउनेमा आफू ढुक्क रहेको अभिनेता पियाले विश्वास व्यक्त गरे ।

Advertisement

२ करोड ८० लाख रुपैयाँ बजेटमा बनेको फिल्म काठमाडाैं, पोखरा, सिंगापुर, नर्बेमा सुटिङ गरिएको निर्माण पक्षले जानकारी दिएको छ । फिल्ममा पुष्पण प्रधानको पाश्र्व गायन छ ।

तपाईको प्रतिक्रिया