सर्वसाधारण कुटपिट गर्ने २ प्रहरी निलम्बित

समाधान संवाददाता २०७५ माघ १० गते १४:१९

समाधान संवाददाता

सामान्य भनाभन हुँदा सर्वसाधारणलाई कुट्ने २ प्रहरी जवानलाई जिल्ला प्रहरी कार्यालय बागलुङले निलम्बन गरेको छ । बालगुङ गलकोट नगरपालिका ६ हरिचौरका सोमबहादुर बस्नेतलाई गम्भीर घाइते हुने गरी कुटपिटमा संलग्न ईलाका प्रहरी कार्यालय हरिचौरमा कार्यरत प्रहरी जवान प्रेमबहादुर विष्ट र बुद्धबहादुर थापाले बस्नेतलाई निलम्बन गरिएको छ । अनुचित बल प्रयोग गरी कुटपिट गरेको पाइएपछि प्रहरी नियमावली अनुसार निलम्बन गरिएको बागलुङ प्रहरी कार्यालयका प्रमुख एसपी विनोद रेग्मीले बताए ।

‘ड्युटीमा खटिएको प्रहरीले उनीहरुलाई कुटेको भन्ने जानकारीमा आएपछि हामीले अनुसन्धान थालेका हौं’, एसपी रेग्मीले भने, ‘सामान्य विषयलाई लिएर राष्ट्रसेवक प्रहरीले अनुचित बल प्रयोग गरेको देखिएपछि निलम्बन गरी थप अनुसन्धान भइरहेको छ ।’

Advertisement

कुटाइबाट गम्भीर घाइते भएका बस्नेतको पोखरास्थित फेवासिटी हस्टिपटलमा मेजर सर्जरी (अप्रेसन) पछि उपचार भइरहेको छ । उनको स्वास्थ्यमा सुधार आइरहेको उपचारमा संलग्न सर्जन डा. सुरेशराज पौडेलले जानकारी दिए । ‘लाइफ सेभिङ अप्रेसन गरिएको थियो, स्वास्थ्यमा धेरै सुधार आएको छ,’ उनले भने, ‘अप्रेसन भएको १० दिन पुगेपछि टाँका खोल्छौं, त्यसको केही दिन भित्रमा नै उहाँलाई डिस्चार्ज गर्न सकिन्छ ।’

प्रहरीले लात्ती र लाठीले हिर्काउँदा बस्नेतको पेटमा ठूलो चोट परेकोले फियो (पेट भित्रको अंग) च्यातिएको थियो । फियो निकालेर पेटमा जम्मा भएको झण्डैं दुई लिटर रगत सफा गरेको डाक्टरको भनाई छ । गएको पुस २९ गते हरिचौरमा भएको घटनापछि घाइते भएका बस्नेतलाई उपचारका लागि ३० गते पोखरा ल्याइएको थियो । बस्नेतको पेटमा ५० भन्दा बढी टाँका लगाइएको छ । घाइते बस्नेतको उपचारका लागि कुटपिटमा संलग्न प्रहरी जवानका परिवारले रकम उपलब्ध गराउँदै आएको प्रहरीले जनाएको छ ।

Advertisement

तपाईको प्रतिक्रिया