गैर जिम्मेवार पोखरा प्याथोलोजी र आयूष फार्मेसीमा ताला

समाधान संवाददाता २०७५ माघ ११ गते ७:१४

समाधान सम्वाददाता

पोखरा महेन्द्रपुलमा रहेका २ प्याथोलोजीमा जिल्ला प्रशासनबाट खटिएको अनुगमन टोलीले बिहीबार सिल लगाएको छ । ल्याबमा प्रयोग भएका विभिन्न औषधीको म्याद सकिएको र आवश्यक कागजात नभएको भन्दै अनुगमन टोलीले सिल लगाएको छ । पोखरामा महेन्द्रपुलमा रहेको पोखरा प्याथोलोजी क्लिनिकले म्याद सकिएको सामग्रीको प्रयोग गदै आएको र स्वीकृति नलिएको कारण सिल लगाइएको छ ।

ल्याबमा प्रयोग गरिने केमिकल लगायतका ७ प्रकारका औषधीको म्याद सकिएको पाइएको जिल्ला प्रशासन कार्यालय कास्कीका प्रशासकीय अधिकृत अनिलकुमार शाहीले बताए । उनका अनुसार पोखरा प्याथोलोजीले स्वीकृति नलिइ व्यवसाय सञ्चालन गरेको छ ।

Advertisement

प्याथोलोजीका सञ्चालकलाई अनुगमनको टोलीले व्यवसायको स्वीकृति लिएर ७ दिन भित्रमा जिल्ला प्रशासन कार्यालय कास्कीमा उपस्थित हुनको लागि निर्देशन दिएको छ । प्याथोलोजीमा मूल्य सूची र साइनबोर्ड नभएको पाइएको छ । उक्त ल्याब ६४ सालदेखि सञ्चालनमा छ ।

टोलीले लाइफ चेक प्याथोलोजीमा पनि बिहीबार सिल लगाएको छ । लाइफ चेक प्याथोलोजीमा पनि म्याद सकिएको सामग्री प्रयोग गरेको पाइएको जिल्ला स्वाथ्य कार्यालयका कास्कीका अधिकृत नानिबाबु ढकालले जानकारी दिए । लाइफ चेकले आवश्यक कागजात अनुगमन टोलीलाई देखाउन सकेन ।

Advertisement

बिहीबारै अनुगमन टोलीले महेन्द्रपुलको आयुष फार्मेसीमा पनि म्याद सकिएको औषधी भेटिएको छ । उक्त फार्मेसी सञ्चालकलाई अनुगमन टोलीले १० भित्र जिल्ला प्रशासन कार्यालय कास्कीका उपस्थित हुन निर्देशन दिएको छ ।

उपझोक्ता मञ्च गण्डकी अध्यक्ष कपिलनाथ कोइरलाले औषधी जस्तो संवेदनशील क्षेत्रमा पनि म्याद सकिएको सामग्री प्रयोग हुने दुखद रहेको बताए । बिरामी भएका उपचारको लागि आउँदा समेत सही उपचार नपाएको बताए ।

तपाईको प्रतिक्रिया