दि गिफ्ट – द्याट् रियल्ली स्विटेस्ट्

समाधान संवाददाता २०७५ माघ ११ गते १४:५१

स्मीता अधिकारी

‘ओ माइ गड, रियल्ली ! यु गेभ दि ग्रेटेस्ट गिफ्ट’ कास्कीमा उत्तर पूर्व रुपाकोट डाँडाबाट पोखरा सहर नियाल्दै १ अमेरिकी सामाजिक अभियन्ता बेन स्मिथ भन्दै थिए । पोखरा साँच्चै नै भगवानको अमूल्य वरदान रहेछ । उनी त्यहाँबाट देखिएका प्रकृतिक दृश्यको स्वस्फूर्त तारिफ गरिरहेका थिए । ‘ह्वाट अ लक्की, आइ फिल टु बि हियर’ केही पल्तिर देखिएकी मार्था स्मिथ भनिरहेकी थिइन्, ‘यस्तो ठाउँ हेर्न पाउनु साँच्चैनै अहो भाग्य हो ।’

त्यहींबाट उत्तरपट्टि देखिएको माछापुच्छ्रे क्यामेरामा कैद गर्न पछि पाइला चाल्दैहिँड्रिहेकी मार्था दृश्यावलोकन गरिरहेका श्रीमान् बेनसँग अचानक ठोक्किइन् । त्यसपछि त्यो जोडी त्यही प्राकृतिक दृश्यलाई कैद गर्दै सेल्फी खिच्न केही बेर व्यस्त देखिए ।

Advertisement

कात्तिक महिनाको बिहानी झुल्के घामसँगै रुपाकोट रिसोर्टको ह्याङगिङ क्याफेमा बिहानी ब्रेकफास्टको बुफे लागिरहेको थियो । बेन स्मिथ जोडीसँगै एउटै टिममा पोखरा घुम्न आएका विभिन्न देशका हाइप्रोफाइलका लागि त्यो वुफे सेटअप गरिएको थियो । तर, उनीहरुका क्रियाकलाप नियाल्दा लाग्थ्यो, उक्त वुफेमा उनीहरुको कुनै लगाव नै थिएन ।

उनीहरुलाई चासो थियो त केवल त्यहाँबाट देखिएको पोखराको प्राकृतिक रुप र सिमसार क्षेत्रको जैविक विविधता । उनीहरु एकपछि अर्को गर्दै रिसोर्टको ह्याङगीङ गार्डेन नियाल्दै पोखराको मनोरम दृश्यमा टहलिरहेका थिए । कोही भने ब्रेकफास्ट हातमै बोकेर गार्डेनमा राखिएको फाइन डाइनिङतिर आउँदै थिए ।

Advertisement

पोखराका २ ठूला ताल बेगनासताल र रुपातालको पूर्ण दृश्य, तिनै २ ताल छुट्याउने पर्खालको रुपमा बीचमा फैलिएको त्यो सुन्दर वस्तीसहितको सुन्दरी डाँडा । अनि वरिपरी फैलिएको हरियो घना जंगल र खेतबारी । त्यहाँबाट हातैले छुन सकिनेझैं गरी नजिकै देखिएका यी प्राकृतिक दृश्य बेनका लागि मात्र होइन, प्राकृतिक मानवीय संवेदना भएका जो कोहीका लागि वास्तवमै मनोरम थिए ।

केही दिनअघि रुपाकोटमा विदेशी पाहुनाको चहलपहल सम्झन योग्य थियो । विदेशी र स्वदेशीबीचको आपसी मित्रता, सौहर्द र भाइचाराका लागि नेपालमा यो वर्ष आयोजना गरिएको विशेष भेटघाटमा भाग लिन उनीहरु नेपाल आएका थिए । अमेरिकाको केन्टुकी राज्यका सामाजिक अभियन्ता बेन स्मिथ र फिलाडेल्फिया राज्यका रियल स्टेट डेभलपर टोड ह्यान्ड्रिक्सको समूहमा अमेरिका, बेलायत, लेबनान लगायतका देशका करिब २० जना प्रतिनिधि सहभागी थिए । उनीहरु प्राय आआफ्नो देशमा सामाजिक काममा सक्रिय व्यक्तित्व थिए । नेपालीसँगको मित्रताको माध्यमबाट नै पोखराको चर्चा धेरै पटक सुनिसकेका थिए उनीहरुले । त्यसैले काठमाडौंको बसाइलाई १ दिन बढी लम्ब्याउँदै पोखरा भ्रमणमा उनीहरु निस्किएका थिए ।

पर्यटनमा यतिखेर भिजिट ट्वेन्टी अभियान चलिरहेको छ । सन् २०२० सम्ममा प्रत्येक वर्ष २ मिलियन पर्यटक भित्र्याउने नेपाल सरकारको लक्ष्य छ । नेपालको भौगर्भिक संरचना र पर्यटकीय गन्तव्य पहिचान, प्रवद्र्धन र यसमार्फत् आर्थिक विकास गर्ने उद्देश्यले यो अभियान थालिएको हो । देशको नीति, नियम, संरचना तथा शासन व्यवस्थामा फेरबदलसहित विकासका लागि फड्को मारिरहेको देशमा हरेक विदेशी पाहुनाका अनुभव चासोको विषय बनेको छ । त्यसैले पनि यहाँ आन्तरिक तथा बाह्य पर्यटकको आगमन महत्वपूर्ण मानिएको हो ।

भइरहेका प्राकृतिक संरचना बिगारेर नयाँ बनाउनुमात्र विकास होइन, बरुजस्तो छ त्यसैलाई सकारात्मक उजागर गर्नु विकास हो भन्ने भाव यी पाहुनाका भलाकुसारीमा झल्किएको थियो। यहाँबाट देखिने हिमाल, यहाँको वनजंगल, तालतलैया, टारी, खेत र जैविक विविधता एकैसाथ अवलोकन गर्ने ठाउँ उनीहरुले नियालिरहेका थिए । ‘यहाँको भौगर्भिक बनावटमात्र होइन, सामाजिक रहनसहन र आतिथ्य सत्कार वास्तवमै प्रकृतिको उपहार हो ।

यसलाई आर्थिक उपार्जनमा उपयोगी बनाउनुपर्छ’, त्यही समूहमा आएका बेलायत विश्वविद्यालयका प्रोफेसर पिटर कोनलेनले भने । पोखरामा अबको काम भनेको प्राकृतिक संरचनालाई जस्तो छ त्यस्तै रुपमा उजागर गर्नु र सुविधाका लागि प्राकृतिक रुप नबिग्रने गरी थप संरचना बनाउनुपर्ने कुरामा जमघटको माहोल केन्द्रित थियो ।

‘पोखराको सुन्दरता साँच्चै नै अविष्मरणीय छ साथै यहाँको राजनीतिक परिवर्तन र सामाजिक अवस्थाले पनि यहाँ आशाका नयाँ किरणहरु थपेका छन्’, अमेरिकाको प्रसिद्ध अमेरिकन एक्सप्रेस बैंकका पूर्व सिइओसमेत रहेका बेनले त्यही माहोलमा भने । रिसोर्टको फाइन डाइनिङमा उनकै सम्मुख बसेकी उनकी पत्नी मार्थाले पनि सामाजिक सेवामा आफ्नो अनुभव सुनाउँदै थिइन् ।

१० वर्ष लामो शिक्षण पेसा पूरा गरेपछि उनी सामाजिक सेवामा लागेकी रहिछन् । केन्टिुकी वुमन ग्रुपसँग आवद्ध रहेर पनि स्थानीय सामाजिक सेवामा समर्पीत रहिछन् । केही समय अघि सिरिया युद्धमा पीडित बालबालिकाका लागि उचित गासबास र कपासको व्यवस्थापनसम्बन्धी काम उनले गरेकी थिइन् ।

अमेरिकामा आफूले गरिरहेको काम, मिलेसम्म नेपालका लागि पनि उपयोगी बनाउने योजना बनाएका छन् यी दम्पतीले । सामाजिक विकासका लागि आफूले दिएको करिब २ दशकको समयले विशेषगरी मानव विकास र विश्वभर मानवता प्रवद्र्धन गर्न प्रेरणा दिएको अनुभव सुनाए बेनले । उनले अमेरिकामा विशेषगरी उद्यमशीलता, बालअधिकार र मानव अधिकारको क्षेत्रमा काम गर्दै आएका छन् । त्यहाँ करिब २० हजार जना टुहुरालाई उनले उद्दार गरेका छन् ।

बेनको अनुभव अनुसार, पछिल्लोसमय अमेरिकामा देखिएको सबैभन्दा नराम्रो प्रवृति भनेको बालअधिकारको विषयमा परिवारका सदस्य र अभिभावक संवेदनशील नहुनु हो । बालबालिकालाई सरकारलेनै संरक्षण दिए पनि कतिपय अभिभावक स्वयंले ८ वर्ष पनि नपुग्दै उनीहरुलाई हेरचाह गर्न छोडिदिन्छन् । यसकारण सानै उमेरमा कामप्रति जिम्मेवार त हुन्छन् तर कतिपयलाई विभिन्न मानसिक समस्याले गाँजेको छ । त्यसैले मानवीय व्यवहार, आत्मियता र प्रेम हरेक बालबालिकाको नैसर्गिक अधिकार हुनुपर्छ बेनले भनेका थिए ।

त्यस्तै कारागारका कैदीबन्दीलाई असल बाटोमा ल्याउनु अर्को चुनौती बेनको राज्यमा छ । जेलबाट सजाय भुक्तान गरेर छुटेका कैदीहरु प्राय पुन जेल गएका पाइन्छन् । जेलबाट छुटे पनि उनीहरुसँग कुनै आफन्त नजिकिन तयार हुँदैनन् न त उनीहरुको पृष्ठभूमि थाहा पाएका नयाँ साथीले नै राम्रो व्यवहार देखाउँछन् । पछि उनीहरु मानसिक रुपमा झनै विछिप्त हुन्छन् र पुन अपराधिक क्रियाकलापमा संलग्न हुन्छन् । हामीले त्यस्तै कैदीहरु जम्मा पारेर उद्यमशिलता पढाउछौं र रोजगारीमा लगाउँछौं ।

उनीहरु मध्य कतिपय पर्यटन, व्यवसाय, होटल व्यवसाय र कन्स्ट्रक्सन कम्पनीमा काममा इन्गेज भएका पनि छन् । यी मामिलामा नेपालमा कम्तीमा त्यहाँको जस्तो अवस्था छैन । ‘यहाँका मानिस प्रेमिल छन्, आत्मीय छन् र सरल छन् त्यसैले यहाँ मानवविकासले छिट्टै गति लिने सम्भावना देखिन्छ,’ नेपाली जन–परिवेश त्यहिमाथि मनोरम भौगर्भिक बनावटले नेपाल अझ बढी सजिएको बताउँदै बेनले भने– ‘गड गेभ हर दि गिफ्ट, द्याट रियल्ली स्विटेस्ट् ।’ अर्थात् नेपाल देश भगवानको अतुलनीय वरदान हो ।

तपाईको प्रतिक्रिया