घाँसीकुवाबाट लागुऔषध सहित दुई पक्राउ

समाधान संवाददाता २०७५ माघ १३ गते १७:४३

कृष्ण न्यौपाने-दमौली

प्रहरीले लागुऔषध सहित तनहुँको व्यास नगरपालिका–१२ घाँसीकुवाबाट दुई जनालाई शनिबार पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा चितवन जिल्ला भरतपुर महानगरपालिका वडा नं १८ शारदानगर बस्ने ३० वर्षीय मिनबहादुर तामाङ र चितवन घर भई हाल व्यास नगरपालिका वडा नं ४ बस्ने ३३ वर्षीय लक्ष्मण दनुवार रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

Advertisement

भैरहवाबाट पोखरातर्फ जाँदै गरेको लु १ ख ६९२२ नं को यात्रुवाहक बसमा चेकजाँच गर्ने क्रममा बसमा सवार उनीहरुलाई पक्राउ गरिएको प्रहरी निरीक्षक विकास थापाले जानकारी दिए ।

प्रहरीले तामाङको साथबाट ३० थान फेनरागन, ३० थान नुर्फिन र ३० थान डाइजेपाम र दनुवारको साथबाट १५ थान फेनरागन, १५ थान नुर्फिन र १५ थान डाइजेपाम सहित १ सय ३५ थान लागुऔषध समेत बरामद गरेको छ । प्रहरीका अनुसार घटना बारे थप अनुसन्धान भइरहेको छ ।

Advertisement

पृथ्वीराजमार्ग अन्तर्गत पर्ने तनहुँ हुँदै पछिल्लो समय लागुऔषध कारोवारीले पोखरासम्म लागुऔषध विक्री वितरण गर्ने गरेका छन् । सस्तो मूल्यमा खरिद गरेर महङ्गोमा विक्री गर्न पाइने भएपछि युवायुवती लागुऔषधको कारोवारमा लागेको प्रहरीको भनाई छ ।

तपाईको प्रतिक्रिया