तरुणको प्रदर्शनलगत्तै पोखरा आएका नेपालले भने, कांग्रेसको आन्दोलन औचित्यहीन

समाधान संवाददाता २०७५ माघ १३ गते ७:१४

समाधान संवाददाता

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का वरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले नेपाली कांग्रेसले गर्ने आन्दोलनको कुनै अ‍ौचित्य नभएको बताएका छन् ।
प्रेस संगठन नेपाल कास्कीले शनिबार आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा नेता नेपालले आन्दोलनको बाटो नरोज्न प्रमुख विपक्षी नेपाली कांग्रेसलाई सुझाव दिए । चिकित्सा शिक्षा विधेयक पारित गर्ने क्रममा सरकारले अधिनायकवादी चरित्र देखाएको आरोप लगाउँदै कांग्रेसले चरणबद्ध आन्दोलन गर्ने चेतावनी दिएको थियो ।
चिकित्सा शिक्षा विधेयक विधि र प्रक्रिया पु¥याएर पारित गरेको दाबी गर्दै नेता नेपालले देश निर्माण र विकासमा जुट्नुपर्ने बेला आन्दोलन गर्ने कांग्रेसको सोच गलत भएको उल्लेख गरे । ‘चुनाव हारेको कारण कांग्रेस हतास हुने होइन,’नेता नेपालले भने, ‘चित्त नबुझेको कुरामा छलफल गरौं । म कांग्रेसलाई आन्दोलनको बाटोमा नलाग्न आग्रह गर्दछु ।’ प्रतिपक्षलाई पन्छाउने सरकार र नेकपाको कुनै सोच नरहेको दाबी गर्दै नेता नेपालले विधि अनुसार अघि बढ्दा संसदमा अवरोध नगर्न कांग्रेसलाई सुझाव दिए । नेता नेपालले कांग्रेसलाई चित्त नबुझे फेरि पनि छलफल र वार्ताबाट सम्झौता गरेर अघि बढ्न सकिने बताए । उनले प्रतिपक्षलाई पन्छाउनभन्दा साथमा लैजाने नीति रहेको उल्लेख गरे ।
नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले डा. गोविन्द केसीसँग भएको सम्झौता अनुसार नै चिकित्सा शिक्षा विधेयक आएको बताए ।
डा. केसीसँग भएको सम्झौताको शत प्रतिशत कुरालाई समेट्न नसके पनि मर्म र भावना सबै समेटिएको उल्लेख गर्दै नेता श्रेष्ठले संसदको सार्वभौम अधिकारको सबालमा अरु राजनीतिक विषय नजोड्न डा. केसीलाई सुझाव दिए । चिकित्सा शिक्षाको गुणात्मक सुधारको लागि सक्रिय रुपमा लाग्ने डा. केसी लगायत सबैलाई धन्यवाद दिँदै प्रवक्ता श्रेष्ठले सम्झौताको मुल पक्ष सही भएको दाबीसमेत गरे ।
फरक प्रसंगमा वरिष्ठ नेता नेपालले जिल्ला तहमा पार्टी एकीकरण गर्दा निश्चित मापदण्ड पालना गर्न सुझाव दिए । प्रदेश कमिटीमा सिनियर नेता नअटेको र छुटेको भए समेटिनु पर्ने प्रस्ताव गर्दै नेता नेपालले जिल्ला तथा गाउँपालिका स्तरको एकीकरण गर्दा विधि र प्रक्रियाको पालना गर्नु पर्ने उल्लेख गरे । कम्युनिस्ट पार्टी सामूहिक नेतृत्वमा चल्नुपर्ने चर्चा गर्दै नेता नेपालले विधि र प्रक्रियालाई अवलम्बन नगरिए अराजकता बढ्ने तर्क गरे ।
पार्टी स्थायी समितिका सदस्य तथा गण्डकी प्रदेश र प्रदेश नम्बर ५का मुख्यमन्त्री क्रमश पृथ्वीसुब्बा गुरुङ र शंकर पोखरेलले दोहारोे जिम्मेवारी लिएको प्रति चर्को असन्तुष्टि किन भन्ने पत्रकारको प्रश्नमा नेता नेपालले व्यक्ति विशेषको बारेमा सबाल नउठाएको तर्क गरे । ‘कमरेड शंकर र पृथ्वीसुब्बासँग हाम्रो लडाइँ होइन । उहाँहरु हाम्रा कार्यकर्ता हुनुहुन्छ,’ नेता नेपालले भने, ‘सबाल विधि र प्रक्रियाको हो । पार्टी विधान र नियमावली अनुसार १ व्यक्ति १ भन्दा बढी कार्यकारी पदमा हुन भएन ।’
पार्टी प्रवक्ता श्रेष्ठले सांगठनिक एकीकरणको प्रक्रियालाई छिटो टुंग्याएर सिंगो पार्टी पंक्तिलाई एकजुट गराउने बताए । प्रवक्ता श्रेष्ठले जनादेश अनुसार गठन भएको सरकारको कामलाई प्रभावकारी बनाउन पार्टीमा सकारात्मक छलफल भएको उल्लेख गरे । कार्यक्रममा प्रेस संगठनमा नेपाल कास्कीमा आबद्ध पत्रकार माधव बराल, सन्देश श्रेष्ठ, कृष्ण दवाडी लगायतले बोलेका थिए ।

‘सरकार अधिनायकवादी हुनै सक्दैन ’
यसैबीच दमौलीमा भएको १ कार्यक्रममा वरिष्ठ नेता एवं पूर्व प्रधानमन्त्री नेपालले कम्युनिस्ट सरकार अधिनायकवादी हुन नसक्ने बताएका छन् ।
कम्युनिष्ट नेता एकदेव आलेको ५० औं स्मृति दिवसको अवसरमा एकदेव आले स्मृति तथा चिन्तन प्रतिष्ठान तनहुँको भवन उद्घाटन तथा स्मारिका विमोचन कार्यक्रममा शनिबार प्रमुख प्रतिपक्षी दलले भने जस्तो अधिनायकवादी हुन नसक्ने बताए । हुकुमी शासन लाद्ने र देशमा अधिनायकवाद आउने कसैले सोचेको छ भने त्यस्तो सोच त्याग्नुपर्नेमा उनले जोड दिए ।
चुनावबाट काङ्ग्रेस विस्थापित भएपछि छटपटाएको आरोप लगाउँदै वरिष्ठ नेता नेपालले जनताकै सेवाको लागि सरकार गठन भएकोले वर्तमान सरकार जनताबाट टाढा भाग्न नसक्ने बताए ।उनले सरकारबारेका गुनासा जायज भए सम्बोधन गर्न सरकार तयार रहेका जनताको सेवा गर्ने भावनाबाट पछि हट जनताले विश्वास नगर्ने बताए ।
उनले पार्टी एकीकरणमा ढिलाइ हुँदा अलमल भएको भन्दै चाँडै नै तल्लो तहसम्मको एकता प्रक्रिया टुङ्गोमा पुग्ने बताए । असम्भव ठानिएका कामलाई सम्भव बनाउने क्षमता स्व.एकदेव आलेमा रहेको चर्चा गर्दै उनले एकदेव आलेको साधा जीवनलाई सबैले अङ्गीकार गर्नुपर्नेमा जोड दिए ।
कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रवक्ता नारायणकाजी श्रेष्ठले सामाजिक न्यायसहितको समृद्धि अहिलेको आवश्यकता रहेकोले त्यसतर्फ सरकार अघि बढेको बताए ।
सरकार गठन भएको छोटो अवधिमा सरकारले धेरै काम गर्न नसकेपनि राम्रो काम गरेको चर्चा गर्दै उनले सरकारलाई सफल बनाउनेतर्फ सबैले ध्यान दिनुपर्ने बताए । सङ्घीयतालाई गलत ढंगले बुझ्न नहुनेमा उनको जोड थियो ।
कार्यक्रममा नेकपा मालेका महासचिव सीपी मैनालीले सैद्धान्तिक सहमति भए नेपाल कम्युनिष्ट पार्टीसँग सहकार्य गर्न तयार रहेको बताए ।

Advertisement

तपाईको प्रतिक्रिया