फागुन दोस्रो सातादेखि पोखरा रंगशालामा आहा रारा गोल्ड कप

समाधान संवाददाता २०७५ माघ १३ गते ७:४१

समाधान संवाददाता

मोफसलकै प्रतिष्ठित आहा रारा गोल्ड कप फुटबल प्रतियोगिता फागुन दोस्रो सातादेखि हुने भएको छ । फागुन ९ गतेबाट चल्ने प्रतियोगिताको पुरस्कार राशिमा समेत वृद्धि गरिएको छ ।

प्रतियोगितामा विजेताले उपाधिसहित ८ लाख १ हजार र उपविजेताले भने ४ लाख १ हजार रुपैयाँका साथमा ट्रफी मेडल प्रमाण पत्र प्राप्त गर्नेछन् । यस वर्ष विजेतालाई १ लाख र उपविजेतालाई ५० हजार पुरस्कार राशिमा वृद्धि गरिएको हो ।

Advertisement

प्रतियोगितामा ए डिभिजनका क्लब, आयोजक सहारा क्लब सहभागिता हुने क्लबका अध्यक्ष केशवबहादुर थापाले बताए । एन्फाको कारण यस पटक प्रतियोगिताको अवधि १० दिनमा खुम्चिन पुगेको उनले गुनासो गरे । ‘आहा रारा फुटबल प्रतियोगिताको इतिहासमै १२ दिनसम्म सञ्चालन हुँदै आएको प्रतियोगिता यस पटक एन्फाले खेल तालिका १० दिनका लागि मात्र दिएको छ,’ उनले भने, ‘अब यसमा हामीले १० देखि १२ टिमसम्म सहभागी गराउने प्रयास गरेका छौं ।’ यस अघि आहा रारामा १२ टिमको सहभागिता हुने गरेको थियो ।

पोखरा रंगशालामा चल्ने प्रतियोगिताबाट १ करोड ३० लाख १ हजार आम्दानी गर्ने लक्ष्य राखिएको क्लबका महासचिव विश्वराज बरालले बताए । उनका अनुसार प्रतियोगिता सम्पन्न गर्न करिब ९७ लाख ९८ हजार लाग्ने भएको छ भने प्रतियोगिताबाट ३२ लाख २ हजार रुपैयाँ बचत गरिने लक्ष्य राखिएको छ । बचत रकमलाई क्लबले कठिन परिस्थिति एवं विपन्न वर्गका बालक सम्मिलित सहारा फुटबल एकेडेमीमा लगानी हुने वरिष्ठ उपाध्यक्ष हरिराम गुरुङले बताए ।

Advertisement

हाल तेस्रो व्याचको एकेडेमीमा १६ जिल्लाका २८ जना बालक आश्रित छन् । हिमश्री फुड्स प्रालिको उत्पादन आहा तथा रारा तयारी चाउचाउको मुख्य प्रायोजनमा उक्त प्रतियोगिता हुन लागेको हो । प्रतियोगितामा उत्कृष्ट हुने खेलाडीलाई मोटरसाइकल वा स्कुटर मध्ये १ पुरस्कार प्रदान गरिने छ । प्रतियोगिताको अवधिमा सर्वोत्कृष्ट राष्ट्रिय फुटबल खेलाडी २०७५ बाट १ जनालाई नगद ३५ हजारको साथमा सम्मान गरिने क्लबले जनाएको छ ।

हरेक खेलमा प्रदान गरिने म्यान अफ दी म्याच ट्रफी समेत हस्तान्तरण गरिएको छ । सहारा युकेका महासचिव धनु थकालीले क्लबका अध्यक्ष थापालाई उक्त ट्रफी हस्तान्तरण गरेका हुन् ।

यस अघि माघ २९ देखि फागुन ११ गतेसम्म आहा रारा गोल्ड कप हुने भनी एन्फा केन्द्रले खेल तालिका सार्वजनिक गरेको थियो ।

तपाईको प्रतिक्रिया