कालीगण्डकी प्रभावित स्थानीय आन्दोलित

समाधान संवाददाता २०७५ माघ १४ गते ११:४६

सुशील सुवेदी
वालिङ

नेपालकै ठूलो जलविद्युत्त आयोजना कालीगण्डकी ‘ए’ प्रभाव क्षेत्र बेलटारीका स्थानीय आन्दोलित बनेका छन् । उनीहरुले विद्युत् सेवा, सिँचाइ, सडक लगायतका विषयलाई केन्द्रित गरी माग उठाएका छन् ।

प्रभावित क्षेत्रका सर्वसाधारणले कालीगण्डकी जलविद्युत आयोजनाकै ट्रान्सर्फमरबाट विद्युत सेवा पाउनुपर्ने माग राखेका छन् । सिँचाइका लागि पाइप , बेलटारी चोकदेखि इरिखोलासम्म पक्की सडक लगायत माग राखेर उनीहरुले बेलटारी पावर हाउस जाने सडक नै अवरुद्ध गरेका छन् ।

Advertisement

कालीगण्डकी प्रभावित क्षेत्रका स्थानीयले बुटवल पावर कम्पनी बिपीसी अन्तर्गतको अाँधीखोला जलविद्युत्त आयोजनाबाट उत्पादित विद्युत उपयोग गर्दै आएका छन् ।
‘प्राधिकरणबाट पाएको सुविधा किन कटौती भयो, यसैले आन्दोलन गर्नु परेको हो ।’, स्थानीय मन्दिरा पाण्डेले बताइन् । सार्वजनिक स्थल तथा मन्दिर, विद्यालयमा आएको पिउने पानीसमेत कटौती गरेकोमा स्थानीय आक्रोशित बनेका हुन् ।

स्थानीयले आयोजनासँग छलफल नगरी आन्दोनमात्र गरेकाले किन आन्दोलन गरिएको हो भन्ने स्पष्ट नभभएकोे कालीगण्डकी ‘ए’ जलविद्युत आयोजना प्रमुख राजेश पाण्डेले बताए । उनले २ महिना अगाडि केही माग आएकोमा सम्बोधन भैसकेको तर सडक निर्माण आयोजनाले गर्न नसक्ने बताए । उनले भने, ‘आन्दोलन गरेर निष्कर्ष आउँदैन, छलफल गर्न स्थानीय आएकै छैनन् । ’

Advertisement

सिँचाइका लागि पाइप र निरन्तर बिजुलीबत्तीका लागि निर्णय भइसकेकाले कार्यान्वयन प्रक्रियामा रहेको उनले बताए ।

तपाईको प्रतिक्रिया