फिनल्यान्डको शिक्षा प्रणालीः संसारकै उत्कृष्ट हुनुको कारण

समाधान संवाददाता २०७५ माघ १५ गते १३:४७

माइक कोलग्रोसी

जब औद्योगिक देशका विद्यार्थीको गणित र विज्ञानको क्षमताबारे वर्गीकरण हुन्छ तब अमेरिकी विद्यार्थी पटक–पटक उक्त सूचीको बीचतिर वा पुछारमा पर्ने गर्छन् । ‘दी प्रोग्राम फर इन्टरनेसनल स्टुडेन्ड एसेसमेन्ट (पिआइएसए) ले ‘अर्गनाइजेसन फर इकोनोमिक को–ओपरेसन एन्ड डिभलपमेन्ट (ओइसिडी) सँगको सहकार्यमा नियमित रूपमा डेटा प्रकाशन गर्छ । यो डेटाले विभिन्न शैक्षिक प्रदर्शन मूल्यांकनमा अमेरिका पटक–पटक पछि पर्ने गरेको बताउँछ ।

शैक्षिक क्षेत्रमा परिवर्तन गर्नुपर्ने आह्वान र अन्तर्राष्ट्रियस्तरमा निरन्तरको फिक्का प्रदर्शन पश्चात् पनि अमेरिकाले यसको सुधारमा कुनै ठोस कदम उठाएको छैन । पुराना समाजमा जुन तौरतरिका अपनाइएका थिए, त्यसलाई अहिलेसम्म पनि निरन्तरता दिइँदै छ । अमेरिकाजस्तो शक्तिशाली र विकसित देशमा त शिक्षा प्रणालीको यस्तो स्थिति छ भने नेपालजस्तो विकासशील देशको स्थिति कस्तो छ, त्यो तपाईं हामीले भोग्दै आएका छौं ।

Advertisement

नेपालमा घोकन्ते विद्यालाई प्रोत्साहन दिइन्छ । जसले पढाएको कुरा फरर भन्न र लेख्न सक्छ, उनीहरू राम्रा विद्यार्थी कहलाइन्छन्, कक्षामा प्रथम पनि उनीहरू नै हुन्छन् । यहाँ निजी विद्यालयको हालिमुहाली छ । सरकारी विद्यालयको स्तर दिनानुदिन घट्दो छ । समग्रमा भन्ने हो भने नेपालको शिक्षा प्रणालीमा अत्यधिक सुधारको खाँचो छ ।

यसका लागि हामीले फिनल्यान्डबाट सिक्न सक्छौं । फिनल्यान्डको शिक्षा प्रणाली संसारकै उत्कृष्ट हो । आखिर किन ?
कुनै निश्चित मापदण्ड तोकिएका परीक्षा छैनन् अहिलेको शिक्षा प्रणालीले ठूलो फड्को मारिसक्यो तर नेपालमा भने पुरानै मोडलले पढाइन्छ । हामीले प्रयोगात्मक शिक्षा अँगाल्न सकेका छैनौं । अझै पनि किताबी ज्ञान र घोकन्ते विद्यालाई नै प्रोत्साहन दिइरहेका छौं । यहाँ विद्यार्थीको क्षमता केमा छ, त्यो हेरिँदैन, डिग्री बढी महत्वपूर्ण हुन्छ । विद्यार्थीलाई परीक्षा पास गराउने उद्देश्यले मात्रै पढाइन्छ । विद्यार्थी पनि परीक्षा पास गर्नकै लागि टुप्पी कसेर पढ्छन् । यहाँ परीक्षा निकै महत्वपूर्ण छ ।

Advertisement

तर फिनल्यान्डमा भने त्यस्ता कुनै परीक्षा हुँदैनन् । यहाँ एउटै मात्र परीक्षा हुन्छ, जसलाई ‘नेसनल मेट्रिकुलेसन इक्जाम’ भनिन्छ । यो नेपालमा विद्यार्थीले कक्षा १२ पास गरे सरह हो । फिनल्यान्डका सबै विद्यार्थीलाई व्यक्तिगत रूपमा शिक्षकले तोकेअनुसार ग्रेड दिइन्छ । यो सबै प्रक्रिया शिक्षा मन्त्रालयद्वारा निरीक्षण गरिन्छ ।

शिक्षक जवाफदेही हुनुपर्दैन
विद्यार्थीले राम्रो गर्न नसक्दा धेरैजसो अवस्थामा शिक्षकलाई नै दोष दिइन्छ । तर फिनल्यान्डमा शिक्षकलाई यसो गर्न पाइँदैन । पासी साल्बर्ग, फिनिस शिक्षा मन्त्रालयका निर्देशक एवं ‘फिनिस लेसन्सः ह्वाट क्यान दी वल्र्ड लर्न फ्रम एजुकेसनल चेन्ज इन फिनल्यान्ड ?’ का लेखक शिक्षकको जवाफदेहिता बारे यसो भन्छन्ः

‘फिनिसका लागि जवाफदेहिता भन्ने शब्द नै छैन । जब उत्तरदायित्व घट्छ तब मात्र जवाफदेहिता भन्ने शब्द बाँकी रहन्छ ।’
शिक्षण पेसामा लाग्नुअघि प्रत्येक शिक्षकले स्नातकोत्तर सिध्याउनुपर्छ । यदि कुनै शिक्षकले राम्रो गरिरहेका छैनन् भने त्यहाँका प्रधानाध्यापकले समस्या समाधान गर्नुपर्छ ।

प्रतिस्पर्धा होइन, सहयोग
नेपालमा विद्यार्थीलाई परीक्षामा सबैलाई हराउँदै पहिलो नै हुनुपर्छ भन्दै प्रोत्साहन दिइन्छ । यहाँ परीक्षामार्फत विद्यार्थीबीच एक–प्रकारको प्रतिस्पर्धा नै गराइन्छ तर फिनल्यान्डमा त्यस्तो हुँदैन । साल्बर्गले सामुली प्यारोनेनको वाक्य सापटी लिँदै भन्छन्ः
‘वास्तविक विजेताले प्रतिस्पर्धा गर्दैनन् ।’
फिनल्यान्डमा उत्कृष्ट क्षमता प्रदर्शन गर्ने विद्यार्थी र शिक्षकको सूची हुँदैन । विद्यालयमा एकअर्कासँग प्रतिस्पर्धा होइन, एकअर्कालाई सहयोग गर्न सिकाइन्छ ।

मूलभूत कुरालाई प्राथमिकता दिने
थुप्रै विद्यालयले विद्यार्थीलाई हिसाब र विज्ञानमा कसरी बढी अंक ल्याउन सकिन्छ भनेर सिकाइरहेका बेला उनीहरूले विद्यार्थीलाई पढ्नका लागि रमाइलो र स्वस्थ वातावरण कसरी सिर्जना गर्न सकिन्छ भन्ने विषयमा ध्यान दिन भ्याउँदैनन् । थुप्रै वर्षअघि फिनिस विद्यालयलाई पनि यस्तै गम्भीर सुधारको आवश्यकता थियो ।

त्यतिबेला फिनल्यान्डले मूलभूत कुरालाई प्राथमिकता दिनेबारे सोच्यो । उनीहरूले विद्यालयको वातावरणलाई कसरी सहज र विद्यार्थीका लागि मनोरम बनाउन सकिन्छ भन्ने बारे सोचे ।

सन् १९८० देखि फिनिस शिक्षाविद्ले यी मूलभूत कुरालाई प्राथमिकता दिएः
– समाजमा विद्यमान असमानतालाई चिर्न शिक्षा एक हतियार हुनुपर्छ ।
– सबै विद्यार्थीका लागि विद्यालयमा निशुल्क खाजाको व्यवस्था,
– स्वास्थ्योपचारमा सहज पहुँच,
– मनोवैज्ञानिक परामर्श
– व्यक्तिगत मार्गनिर्देशन

विद्यालयमा ढिला भर्ना
फिनिस शिक्षा प्रणालीमा सुधारका लागि निकै सुक्ष्म ढंगले अघि बढे । त्यहाँका बच्चालाई ७ वर्ष भएपछि मात्र विद्यालयमा भर्ना गरिन्छ । उनीहरूलाई सानै उमेरमा अनिवार्य शिक्षाको डोरीमा बाँधिँदैन । यो देशमा बच्चालाई बच्चा नै हुन दिइन्छ ।

फिनल्यान्डमा बच्चाले ९ वर्षको भएपछि मात्र अनिवार्य शिक्षा लिनुपर्छ । उनीहरूका लागि १६ वर्षको उमेरमा ९ कक्षा पास गरेपछि जे पनि ऐच्छिक हुन्छ । मनोवैज्ञानिक दृष्टिकोणले हेर्ने हो भने यसले विद्यार्थीलाई स्वतन्त्र महसुस गराउँछ । धेरै विद्यार्थीले आफूहरू विद्यालय वा कलेजमा हुँदा जेलमा भएको जस्तो महसुस गर्ने कुरा यहाँ नकार्न सकिन्नँ । फिनल्यान्ड यस्तो दबाबबाट टाढै रहन्छ र आफ्ना विद्यार्थीलाई वास्तविक संसारसँग पैंठेजोरी गर्न सिकाउँछ ।

कलेज डिग्रीपछि व्यावसायिक विकल्प पनि प्रदान गर्नु
जो विद्यार्थी उच्च शिक्षा हासिल गर्न चाहन्छन् उनीहरूका लागि पनि फिनल्यान्ड सरकारले विभिन्न विकल्प प्रदान गर्छ जुन उनीहरूका लागि लाभदायक हुन सक्छ । यहाँ कलेज–शिक्षित र काम गर्ने वर्ग भनेर भेदभाव गरिँदैन । दुवै वर्गलाई समान रूपमा व्यावसायिक र करियरमा सफल हुन सिकाइन्छ ।

फिनल्यान्डमा ३ वर्षे प्रोग्राम छ । यसलाई ‘अपर सेकेन्डरी स्कुल’ भनिन्छ । यसले विद्यार्थीलाई म्याट्रिकुलेसन टेस्टका लागि तयार गराउँछ । म्याट्रिकुलेसन टेस्टले उनीहरूका लागि विश्वविद्यालयको मार्ग प्रशस्त गर्छ ।

अर्को, त्यहाँ व्यवसायका लागि पनि शिक्षा दिइन्छ । यो ३ वर्षे प्रोग्रामले विद्यार्थीलाई विभिन्न करियरका लागि तालिम दिन्छ । यदि कोही विश्वविद्यालयमा पढ्न चाहन्छन् भने उनीहरूलाई पनि मेट्रिकुलेसन परीक्षाको विकल्प दिइएको हुन्छ ।

फिनिस विद्यालय ढिला सुरु हुन्छन्, चाँडै बन्द हुन्छन्
स्कुल बस समयमै समात्नका लागि बिहान चाँडै उठ्नुपर्ने, स्कुलमा पनि बिहान र बेलुकाका अतिरिक्त क्रियाकलापमा भाग लिनुपर्ने बाध्यताले विद्यार्थीलाई निकै तनावमा पारेको हुन सक्छ । अझ कतिपय कक्षा त बिहान ६ बजेदेखि सुरु हुन्छन्, जसले गर्दा विद्यार्थीको निन्द्रा नै गडबड भएको पनि हुन सक्छ ।

फिनल्यान्डका विद्यालय ९ देखि ९ः४५ को बीचमा सुरु हुन्छन् । विभिन्न अनुसन्धानका अनुसार बिहान चाँडै विद्यालय सुरु हुँदा यसले विद्यार्थीको स्वास्थ्य र परिपक्वतालाई हानि पुर्‍याइरहेको हुन्छ । फिनिस स्कुल ढिला सुरु हुन्छन् र दिउँसो २ देखि २ः४५ मा बन्द हुन्छन् । उनीहरूका कक्षाको अवधि लामो हुन्छ र ब्रेक पनि लामा नै हुन्छन् ।

एउटै शिक्षकबाट लगातार निर्देशन
फिनल्यान्डका स्कुलमा निकै कम शिक्षक र विद्यार्थी हुन्छन् । यहाँका विद्यार्थीलाई ६ वर्षसम्म एउटै शिक्षकले पढाइरहेका हुन्छन् । यतिबेला ती शिक्षकले मेन्टरको भूमिका पनि निर्वाह गर्छन् भने त्यही शिक्षकले परिवारको भूमिका पनि निभाइरहेका हुन्छन् । यो अवधिमा दुवैबीच विश्वास र माया पलाउँछ, जसका कारण दुवैले एकअर्कालाई आत्मैदेखि आदरसमेत गर्छन् ।

सिक्ने शैली विद्यार्थीपिच्छे फरक हुन्छ । फिनिस शिक्षकले आफ्ना विद्यार्थीको शैली बुझेर उनीहरूलाई त्यही अनुरूप शिक्षा दिन्छन् । उनीहरूले आफ्ना विद्यार्थीको केयर गरेर उनीहरूलाई आफ्नो उद्देश्य प्राप्तिमा सहयोग गर्छन् ।

आनन्ददायी वातावरण
फिनल्यान्डले विद्यालयको वातावरणमा निकै ध्यान दिने गरेको छ, कम तनाव, कम नियन्त्रण र धेरै हेरचाह । विद्यार्थीले एक दिनमा २ वटा कक्षा मात्रै लिनुपर्छ । उनीहरूसँग खाजा खाने, मनोरञ्जनात्मक क्रियाकलापमा भाग लिने र रिल्याक्स गर्ने पर्याप्त समय हुन्छ ।

यस्तै वातावरण शिक्षकका लागि पनि प्रदान गरिएको हुन्छ । प्रत्येक फिनिस विद्यालयमा शिक्षक कोठा बनाइएका हुन्छन्, जहाँ उनीहरू रिल्याक्स गर्न सक्छन् । समय तालिका बनाउन सक्छन् र यत्तिकै कुराकानी गरेर बस्न सक्छन् ।

कम गृहकार्य
ओइसिडीका अनुसार फिनल्यान्डका विद्यार्थीलाई संसारको कुनै पनि विद्यार्थीभन्दा निकै कम गृहकार्य दिइन्छ । उनीहरूले स्कुलले दिएको गृहकार्यमा आधाघन्टा समय खर्च गरे पुग्छ । फिनिस विद्यार्थीका कुनै ट्युटर (निजी शिक्षक) पनि हुँदैनन् ।

फिनिस विद्यार्थीले पढाइसम्बन्धी आफ्नो सबै काम कुनै दबाब बिना स्कुलमा नै सिध्याउँछन् । यसरी पनि उनीहरूले पढाइमा उत्कृष्ट गरिरहेका छन् ।
वल्र्ड इकोनोमिक फोरमबाटक

तपाईको प्रतिक्रिया