पोखराले जन्माउँदै भूगर्वविद्

समाधान संवाददाता २०७५ माघ १६ गते १२:१०

स्वस्तिक सुवेदी ’अपार’

नेपालमै भूगर्वविद् उत्पादन हुन्छन् भन्ने सुनेको झन्डै ४ वर्ष भयो । एउटा संयोग मानौं, आफ्नै समयमा आफ्नै सहरमा भूगर्व विज्ञान अध्ययन गर्ने अवसर प्राप्त भयो । यो मौका जुराइदियो पृथ्वीनारायण क्याम्पसले । भौगोलिक जटिलताका बाबजुद प्रशस्त सम्भावनाहरु बोकेको नेपालले आफ्नै कोखमा भूगर्वविद् जन्माउँदा थुप्रै आशा राख्न सकिन्छ ।

सन् १८६७ मा त्रिभुवन विश्वविद्यालय अन्तर्गतको त्रिचन्द्र क्याम्पसमा सबैभन्दा पहिले भूगर्व विज्ञान अध्ययन अघ्यापनको कार्यक्रम सुरु भएको थियो । समयले अझ धेरै भूगर्वविद्को माग गर्न थाल्यो, त्रिचन्द्र क्याम्पसबाट उत्पादित जनशक्तिको माग देश तथा विदेशमा बढ्न थालेपछि सन् २०१२ मा विरेन्द्र बहुमुखी क्याम्पस चितवन, सन् २०१३ मा केन्द्रीय प्रविधि क्याम्पस, हात्तिसार धरान हुँदै सन् २०१६ मा पृथ्वीनारायण क्याम्पस (पोखरा) मा भूगर्व विज्ञानको पढाई सञ्चालन हुन थाल्यो ।

Advertisement

अहिले पृथ्वीनारायण क्याम्पसमा तेस्रो भर्ना समूहका लागि भर्ना कार्यक्रम सञ्चालन भइरहेको छ । सुरुआती चरण निकै कठिन हुने र यस विषयलाई पोखरामा सफल बनाउने उद्देश्य बोकेर क्याम्पस प्रशासनसँगै नजिक भएर सहकार्य गरीरहेको विद्यार्थीको भनाइ छ । अत्याधुनिक प्रविधि र मल्टिमिडियाको उचित प्रयोगका साथै स्तरीय प्रयोगशाला भएकाले पनि पोखराले छोटो समयमा दक्ष भूगर्वविद् जन्माउने धेरै अभिभावकको मत छ ।

तत्कालीन क्याम्पस प्रमुख देवेन्द्रबहादुर लामिछाने बताउनुहुन्छ, ‘त्यसबेला म स्वयं पनि दोधारमा थिएँ, जतिबेला यो विषय सञ्चालनको प्रस्ताव क्याम्पसमा ल्याइएको थियो । आन्तरिक स्रोत जुटाउनपर्ने कठिनाइ र सुरुआती चरणबाटै स्तरीय शिक्षाका लागि प्रयोगात्मक कक्षाको व्यवस्थापनका लागि भरपर्दो आधारस्तम्भ नहुँदासमेत हिम्मत जुटाइयो, अहिले छोटो समयमा धेरै प्रगति भएको छ । साथै तपाईलाई उज्ज्वल भविष्यको धेरै शुभकामना छ ।’

Advertisement

क्याम्पस प्रमुख प्राडा चन्द्रबहादुर थापा बताउनुहुन्छ, ‘विद्यार्थी उजुरी लिएर आइरहन्छन्, हामीले सकेसम्म समस्याको हल गरिरहेका छौं र यो प्रयास अझ जारी छ ।’ सहायक क्याम्पस प्रमुख नन्दलाल अधिकारी बताउनुहुन्छ, ‘कक्षाकोठा व्यवस्थापन र सम्बन्धित शिक्षकको अभावमा हाम्रो झन्डै २ वर्ष बितिसक्यो । अब भने यो समस्या समाधान भएको छ र हामी छिट्टै छुट्टै ‘भूगर्व विभाग’ गठन गर्नेछौं ।’

बिएससी अन्तर्गत सञ्चालन हुने भूगर्व विज्ञानको कक्षाकोठा व्यवस्थापनका लागि आधुनिक प्रविधियुक्त कोठा ‘भूगोल’ विभागले प्रदान गरेको छ । विद्यार्थी व्यवस्थापन, शिक्षकको नियमित कक्षा लगायतका थुप्रै गतिविधि अवलोकन र नेतृत्व गर्न विद्यार्थी कल्याणकारी समूह ‘जयो सर्कल’ गठन गरीएको छ । जसको अध्यक्षता विद्यार्थी अशोक ढकालले गरिरहनु भएको छ ।

भूगर्व विज्ञान अध्ययनका लागि विज्ञान समूहमा १० जोड २ उत्तीर्ण गरी कम्तिमा ‘सि’ ग्रेड ल्याएको हुनुपर्छ। ‘फिजिक्स’ तथा ‘बायो’ समूह दुवैबाट भूगर्व विज्ञान अध्ययन गर्न मिल्ने शिक्षक नवराज सापकोटा बताउनुहुन्छ । त्रिभुवन विश्वविद्यालयले लिने प्रवेश परीक्षा उतिर्ण गरी प्राप्त अंक अनुसारको रोलक्रममा भर्ना लिइने क्याम्पस प्रशासन बताउँछ । पृथ्वीनारायण क्याम्पसमा तत्काललाई ४० कोटामा भूगर्व विज्ञानको विद्यार्थी भर्ना लिइन्छ ।

स्नातक तहको पढाई समापनपछि एमएससी इन्जिनियरिङ जिओलोजी त्रिचन्द्र क्याम्पसमा र कीर्तिपुर क्याम्पसमा पढ्न सकिन्छ । यसका साथै कीर्तिपुर क्याम्पसमा एमएससी जिओलोजीसमेत अध्ययन गर्न सकिने शिक्षक ईश्वर अधिकारी बताउनुहुन्छ । नेपाल बाहेक अन्य मुलुकमा जिओकेमिस्ट, फिल्ड सिस्मोलोजी, जियो साईन्स, हाईड्रो जिओलोजी, मडलगर, वेलसाईट जिओजोजीलगायतका विविध विषयमा दक्षता प्राप्त गर्न सकिन्छ । नेपालमा खानी तथा भूगर्व विभाग अन्तर्गत तथा थुप्रै जलविद्युत परियोजना लगायतका क्षेत्रमा समेत प्रशस्त सम्भावना छन् ।

आन्तरिक स्रोतबाट नै जुटाएर शिक्षकको व्यवस्थापन गर्नुपर्ने, प्रयोगात्मक कक्षाका लागि अत्यावश्यक सरसामग्री बेला–बेलामा थप्नुपर्ने जस्ता जटिल समस्या यो कार्यक्रम सञ्चालन गर्दा भोग्नुपरेको क्याम्पस प्रशासनको बुझाई छ । यसै वर्षदेखि लागु हुने गरी तथा पछि कुनै प्रकारको सहयोग कहीं कतैबाट मिलेको खण्डमा घटाउन मिल्ने गरी विद्यार्थी तथा क्याम्पस प्रशासनको सहमती र विज्ञहरुको सल्लाहमा ४ वर्षको शुल्क निर्धारण गरिएको छ । पछिल्लो समयमा सरकारी क्याम्पस त्यसै माथि पनि चर्को शुल्क भन्ने नारा लिएर विद्यार्थी संगठन विरोधमा उत्रिएको अवस्थामा सम्पूर्णले अध्ययन गर्नुपर्ने विषय र यसका आन्तरिक समस्याको बारेमा नजिकबाट नियाल्नुपर्ने हुन्छ ।

विद्यार्थी हकहितमा केन्द्रित हुनुपर्ने विद्यार्थी संगठन बिना बुझाइ विरोधमा उत्रनु त्यति शोभनीय होइन । जुनसुकै यात्रामा मार्गदर्शकहरुले अन्य भन्दा बढी नै समस्या भोग्नुपर्ने यथार्थलाई नकार्न सकिंदैन । यसैको एक उदाहरण हामी पनि हौं । पहिलो र दोस्रो भर्ना समूहका विद्यार्थी साथीले सुरुवाती चरणदेखि भोगेका अनेकन कठिनाइलाई हल गर्दै विद्यार्थी, अभिभावक, शिक्षक वर्ग र क्याम्पस प्रशासन सबै एकजुट भएको खण्डमा मात्रै पृथ्वीनारायण क्याम्पसमा यो विषयले सार्थकता पाउने कुरामा कुनै दुविधा छैन । विश्वास गरौं, अब छिट्टै नै पोखराले उत्कृष्ट तथा दक्ष भूगर्वविदे जन्माउने छ । के अब तपाई नबन्ने त भूगर्वविद् ?

[email protected]

तपाईको प्रतिक्रिया