तनहुँदेखि सिंगापुर

समाधान संवाददाता २०७५ माघ १६ गते १२:३८

विनोदकुमार विक (विकास)

छाता संगठन तनहुँ सुनचाँदी व्यवसायी संघको अध्ययनबाट यो निष्कर्ष निक्ल्यो कि समयसापेक्ष व्यवसायको आधुनिकीकरण तथा प्रबद्र्धन गर्न विकसित राष्ट्ररुको भ्रमण गर्न अवाश्यक छ । फलत व्यावसायिक वैदेशिक भ्रमण गर्ने योजना बन्यो ।

वास्तवमा भ्रमणको प्रमुख उद्देश्य भनेको ती राष्ट्रको व्यावसायिक गतिविधि, व्यापारशैली लगायतका धेरै विषयको सुक्ष्म अवलोकन गर्ने र त्यसका सबल पक्ष पहिचान गरी सोहीअनुरुप नेपालमा लागु गरी व्यवसायको स्तर उन्नति गर्नु थियो । तसर्थ संघमा आबद्ध सम्पूर्ण सदस्यको समयानुकूलतालाई मध्येनजर गरी मिति ०७५ पुस २५ देखि माघ २ गतेसम्मका लागि तनहुँदेखि सिंगापुरसम्मको ८ दिने भ्रमण गर्ने निधो भयो ।

संघका अध्यक्ष कृष्ण सुनारको संयोजकत्वमा ९ सदस्यीय टोली भ्रमणका लागि तयार भयौं । प्रारम्भिक चरणको उडान पुस २५ गते बिहिबार बेलुकी १०ः४० बजे भएकोले २५ गते नै तनहुँबाट काठमाडौंतर्फ प्रस्थान गर्दा कागजपत्र तथा विविध कार्यहरु गर्न अलि हतार र असम्भव हुन्छ भन्ने महसुस गरी भ्रमणमा सहभागी हुने सदस्यको सल्लाह बमोजिम पुस २४ गते काठमाडों जाने निर्णय गरियो ।

तयारी टोलीलाई संघका पूर्व अध्यक्ष तेजबहाुदर विक तथा शुभेच्छुकले हाम्रो सुरक्षित यात्रा र सफल भ्रमणको कामना गर्दै हामी विदाइ भयौं ।
पुस २४, दिउँसो ३ः३५ बजे हाम्रो टोली २ वटा गाडीमा यात्रा सुरु गर्‍यौं । हामीलाई आफन्त तथा व्यवसायीको शुभकामना–आशीर्वादले थप जिम्मेवार, हौसला मात्र नभई भावुक बनायो ।

गाडी आफ्नो गतिमा गुडिरह्यो र हामी पनि गाडीको चालसँगै कुदिरहेका थियौं । यात्रा हाम्रो लागि महत्वपूर्ण थियो । वैदेशिक यात्रा हाम्रो लागि पहिलो र नौलो भएकोले हामीमा उत्सुकता, खुसी पैदा हुनु स्वभाविक थियो । यात्रासँगै समय बितेको पत्तै भएन । गोधुली साँझसँगै भोक पनि बढ्दै गयो । हामीले धादिङमा रहेको एउटा खाजा घरमा खाजा खायौं । र यात्रालाई पुन निरन्तरता दियौं ।

यात्राले गति लिँदै गर्दा हामी रातको करिब १०ः३५ बजे काठमाडौंको सुन्धारा स्थित बुद्ध प्यालेसमा बास बस्नतर्फ । होटलमा खाना खाई आ–आफ्नो कोठातर्फ सुत्न गयौं । भोलि उडान भएकोले होला राति अबेर सुत्दा पनि निन्द्राले हामीलाई बिहानको ५ बजे नै उठायो ।

पुसको जाडो, बिहानको समय र काठमाडौंको ठाउँ चिसोले सताइ नै रह्यो । बिहानको नृत्य कर्म गरी होटलबाट घुम्न भनी बाहिर निस्कियौ । ११ः५० भइसकेछ । हामीलाई पत्तै भएन । खाना खाने समय भएकोले सुन्धाराकै एक थकाली भान्छा घरमा खाना खायौं ।

भ्रमणको लागि हाम्रो तयारी भइसकेको थिएन । हाम्रा महत्वपूर्ण काम बाँकी नै थियो । यी सबै कुराका बाबजुत सबैको सल्लाह बमोजिम हवाइ टिकट लिनुलाई पहिलो प्राथमिकतामा राखी सोह्रखुट्टे स्थित ट्राभल्स एजेन्सीमा गएर टिकट लियौं । नेपाली मुद्राबाट विदेशमा विनिमय सम्भव थिएन । तसर्थ लाजिम्पाट स्थित माछापुच्छ्रे बैंकको केन्द्रीय कार्यालयमा गएर अमेरिकी डलर साट्यौं ।

जब हामीले नेपाली मुद्रा दिएर डलर हातमा लियौ तब मनमा अनेक खुल्दुली र दुख पैदा हुन थाल्यो । त्यो के थियो भने हामी स्वाभिमानी नेपाली र स्वतन्त्र देश हुँदाहुँदै पनि हाम्रो देशको मुद्रा किन अन्य देशमा नचल्ने ? यद्यपि नेपाली मुद्रा र विदेशी मुद्रा वास्तवमा मुद्रा नै हो भने नेपाली मुद्रा माथि किन विभेद हुन्छ ? किन हाम्रो मुद्रा माथि प्रतिबन्ध ? किन विदेशी मुलुकमा नचल्ने ? यसको कारण के हो ? किन हाम्रो देश यति कमजोर छ ? किन यस विषयमा राज्यले पहल नगरेको ? भनेर भित्रै प्रश्न उब्जिएको थियो ।

यी सबै कुरा जे–जे भए पनि हाम्रो उद्देश्य विदेश भ्रमण गर्नु थियो । तसर्थ हामी आ–आफ्नो व्यवस्थापन गर्ने कार्य पूरा गरी विमानस्थल प्रवेशतर्फ लाग्यौं । संयोगवश त्यही दिन भ्रमण टोलीका सदस्य हाम्रा अनन्य मित्र मनोजकुमार सुवर्णकारको ३८ औं शुभ जन्मदिन परेकोले उहाँको जन्मजयन्ती बडो धुमधामका साथ मनायौं । र उडानको लागि करिब ७ः३५ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलतर्फ लाग्यौं ।

विमानस्थल के प्रवेश गरेका थियौं, त्यहाँ त हाट बजार चलिरहेको जस्तो देख्न्थिो । हजारौं युवा विदेश यात्राको लागि हातमा पासपोर्ट, हवाइ टिकट र लगेज लिएर लाइनमा बसेका । लाइन हेर्दा अधिकांश युवाको अनुहार मलिन देखिन्थ्यो । अधिकांश युवा रोजगारको लागि र आंशिक युवा अध्ययनको शिलशिलामा जान लागेका रहेछन् ।

भीडबाट सहजै आंकलन गर्न सकिन्थ्यो कि रोजगार दिने सवालमा हाम्रो देश कति असक्षम रहेछ, जसले गर्दा युवा रोजगारका लागि विदेशिन बाध्य हुँदैछन् । यही कारणले होला नेपालका बृद्धि, विवेक, सिप, क्षमता भएका बहुसंख्यक दक्ष जनशक्ति विदेशी भूमिमा रगत र पसिना बगाउन बाध्य भएको ।

त्यो भीडदेखेर मनले पटक्कै शान्ति पाएन । मन भित्रभित्रै जलिरह्यो । मैलें सोचे, हामी १ हप्ताको लागि विदेश भ्रमणमा निस्कदा त हाम्रो मनमा कति दुख र नरमाइलो छाइरहेको थियो भने पढ्ने, लेख्ने, बढ्ने बेलाका युवा रोगले छटपटाइ रहेका बृद्धबृद्धा, बाबाआमा, जीवनसंगिनी, नाबालक छोराछोरी, साथीभाइ, इष्टमित्र र आफू जन्मेको जन्मभूमि छाडेर वर्षैको लागि विदेशिनु पर्दा उनीहरुको मन कति दुख्यो होला ?

पुस २५– राति १०ः३० बजे विमानभित्र गरिने चेकजाँच प्रक्रिया पूरा गरी १०ः४८ बजे ओडी १८१ नम्बरको मालिन्डो नामको विमानमा हाम्रो मेलिसिया (क्वालालाम्पुर) को लागि उडान भयो । हवाइयात्राको पहिलो अनुभव, हामीमा कतै खुसी छाएको थियो त कतै डर पैदा भइरहेको थियो । नेपाली समयअनुसार पुस २६ गते बिहान २ः३० बजे क्वालालम्पुरमा हामी सवार विमान अवतरण भयो । मलेसिया घुम्ने कार्यक्रम नभए पनि त्यहाँको बजार स्थिति त्यहाँको विमानस्थलको अवस्थाले पक्कै पनि मलेसिया विकसित छ भन्ने लाग्यो ।

मलेसियामा जम्मा ४ घन्टाको ट्रान्जिट भएकोले नेपाली समयअनुसार करिब ६÷७ बजे सिंगापुरका लागि हाम्रो उडान थियो । हामी १ घन्टाको अवधिमा सिंगापुरको चेङगाइ विमानस्थलमा पुगी चेकजाँच प्रक्रिया सकेर बजारतर्फ गयौं । बजार अत्यन्तै व्यवस्थित, मनमोहक र विकसित देखिन्थ्यो । हामी सिंगापुरको होटल मुन २३ मा सामान राखी त्यहींको एक होटलमा खाना खाएर अवलोकन भ्रमणमा निस्क्यौ । ३ दिनको सिंगापुर बसाइमा त्यहाँका धेरै ठाउँको अवलोकन गरियो । उक्त अवलोकनबाट प्राप्त अनुभव सविस्तार गर्न खोजेको छु ।

सिंगापुरको भौगोलिक अवस्था नियाल्दा चारैतिरबाट पानीले घेरिएको टापु र क्षेत्रफलको हिसाबमा निकै सानो भएको पाइयो । सहरको सुन्दरतामा निखार ल्याउन रुख–बिरुवाको विशेष भूमिका हुनाले यसलाई प्रमुख प्राथमिकतामा राखिएको थियो । भवनहरु आधुनिक र निकै ठूला ठूला थिए । सडक सफा, सुन्दर र व्यवस्थित थियो । सिंगापुर पर्यटकीय देश भएको र त्यहाँ विधिको शासन व्यवस्था थियो ।

त्यहाँका जनता अत्यन्तै अनुशासित र मिहेनेती छन् । तुलनात्मक हिसाबमा नेपालभन्दा निकै महंगी र कानुनको दृष्टिमा सबैलाई समानका र समानतामा रहेको पाइयो । त्यहाँको कुनै पनि व्यवसायमा भारतीय मुलका मानिसको सहभागिता बढी थियो भने नेपालीका न्यून थिए । सुनचाँदी तथा हिरा ज्वाहारतका पसलहरु अधिकांश एकै स्थानमा व्यवस्थित रुपले सञ्चालन भएका थिए । व्यवसायीले जुनसुकै समयमा पनि आवश्यकताअनुसार काँचो सुन खरिद गर्न पाउने व्यवस्था रहेको, गहनाको प्रकृति हेरी ज्याला लिने र शान्ति सुरक्षा निकै चुस्त पाइयो ।

भाषा अंग्रेजी, काम र पेसाको सम्मान, कुनै भेदभाव नरहेको, वर्गीय जातीय, भाषिक, धार्मिक विभेद रहितको समानतामूलक समाज थियो । सबैले काम गरेर खानुपर्छ भन्ने मान्यता रहेको, कर नै देश विकासको आधार हो भन्ने मान्यता राखी करको सही सदुपयोग भएको, विश्वको जो कोही ख्याती प्राप्त व्यक्तिको सम्मान गरिएको बुझियो ।

सिंगापुर ३ दिनको बसाइपश्चात् हाम्रो यात्रा थाइल्यान्ड थियो । तसर्थ हामी पुस २८ गते बिहान विमानबाट थाइल्यान्डतर्फ लाग्यौं । विमानस्थलमा अवतरण भएपछि हाम्रो बसाइ थाइल्यान्डको पटैया शहर स्थित फुफैया रिसोर्टमा तय भइसकेकोले माइक्रोबसमा ३ घन्टाको अवधिमा उक्त रिसोर्ट पुग्यौं । निरन्तर ४ दिनसम्म थाइल्यान्डका विभिन्न सहरको भ्रमण गर्‍यौ । त्यहाँ अधिकांश मंगोल सम्प्रदायका मानिसको बसाइ थियो । त्यहाँको सुनचाँदी, हिरामोती विभिन्न पत्थरको अवलोकन गर्दा विश्वकै एक प्रख्याती ठाउँ भएको बजार थियो । हामी माघ २ गते बैंककबाट नेपालको लागि उडान लियौं ।

जब विमानबाट नेपाल धर्ती हाम्रो पाइला के परेको थियो हामी भित्र भित्रै खुसीले गद्गद् थियौ । तर मेरो मनले हाम्रो देशका शासक र राजनीतिक दलका नेताज्यूहरुलाई प्रश्न गर्‍यो, देश विकास र समृद्धिको लागि हजारौं नेपालीले बलिदान दिएर मुलुकमा ऐतिहासिक राजनीतिक परिवर्तन ल्याए । तर त्यो बलिदानबाट जनताले आखिर के पाए ? नेपाल प्राकृतिक स्रोत–साधनले भरिपूर्ण छ र विकासको सम्भावना बोकेको मुलुक पनि हो । तर विकासलाई केले छेक्यो ? स्रोत–साधनलाई उपयोग गर्न कसले दिएन ? किन विज्ञान र प्रविधिको युगमा पनि हामी गरिबी, बेरोजगार, अशान्ति र असुरक्षा सहेर बाँच्न बाध्य छौ ?

यद्यपि हाम्रा नेताज्यूहरुले बुझेरै होला, बेला–बेलामा नेपाललाई अमेरिका, बेलायत, सिंगापुर, स्वीजरल्यान्ड जस्तो बनाउँछौ भनेर भाषण गर्छन् । वास्तविकता के हो भने इच्छा राख्ने हो भने नेपालका लागि त्यो असम्भव छैन । तर उहाँमा देश विकासका निम्ति संवेदनशिलता छैन । यो दुखको विषय हो ।

अन्त्यमा, विगतमा हामी जो कोहीबाट जस्तो सुकै गल्ती कमजोरी भए पनि त्यसको समीक्षा गरी विकसित देशको विकास र समृद्धिका कुरालाई अनुशरण गरी नेपालमा भएको प्रचुर विकासको सम्भावनालाई सही सदुपयोग गर्नेतर्फ लाग्नु हाम्रो प्रमुख दायित्व हो । सबै नेपालीले हातेमालोको माध्यमबाट कोही कसैमा वर्गीय, जातीय, धार्मिक, भाषिक, कुरीति र अन्धविश्वासको अवशेष छ भने त्यसलाई त्यागेर खुल्ला भावले अगाडि बढौं । यसबाट देशको विकास हुनेछ । तपाई हाम्रो विकास हुनेछ ।
धन्यवाद !

तपाईको प्रतिक्रिया