अपांगमैत्री शौचालय बनाउँदै पाेखरा महानगर

समाधान संवाददाता २०७५ माघ १७ गते ११:४६

समाधान संवाददाता

लेकसाइडको हल्लनचोक पर्यटकीय दृष्टिकोणले परिचित ठाउँ हो । त्यहाँ दैनिक हजारौंको संख्यामा स्वदेशी÷विदेशी पर्यटकको आउजाउ हुन्छ । तर व्यस्त ठाउँमा पनि अपांगमैत्री शौचालय छैन । शारीरिक रुपमा अपांग भएका व्यक्ति घुम्न आउँदा मर्कामा पर्छन् । मलमुत्र रोकेर बस्नुपर्ने उनीहरुको बाध्यता हुन्छ ।

पोखराका धेरै व्यस्त ठाउँमा सार्वजनिक शौचालय छैनन् । भएका ठाउँमा पनि अपांगमैत्री नहुँदा समस्या ज्यूँका त्यूँ छ । सहरी क्षेत्र भएर पनि कतै कुनो खोज्दै हिँड्नुपर्ने समस्या छ त कतै होटल तथा रेस्टुरेन्टमा भोक नलागे पनि नास्ताको निहुँ बनाएर पस्नुपर्ने हुन्छ ।

गण्डकी प्रदेश सरकारले जनताको गुनासो सुन्न चलाइरहेको ‘हेलो मुख्यमन्त्री’ मा समेत पोखराका शौचालय सम्बन्धी गुनासो आउने गरेका छन् । अब भने पोखरा महानगरले पोखराका विभिन्न व्यस्त ठाउँमा शौचालय बनाउने भएको छ । व्यस्त चोकमा शौचालय बनेपछि पर्यटकको समस्या बिस्तारै हट्दै जाने महानगरको दाबी छ ।

Advertisement

‘पहिल्यै चर्पी भएका ठाउँमा अपांगमैत्री शौचालय बन्नेछन्,’ पोखरा महानगर प्रमुखका स्वकीय सचिव लक्ष्मण तिमिल्सिना भने, ‘बाँकी अन्य ठाउँमा नयाँ संरचनाको शौचालय बनाइनेछ ।’ उनले हल्लनचोक, हरिचोक, राष्ट्रबैंक चोकमा शौचालय बनाउन टेन्डर आह्वानसमेत गरिसकिएको जानकारी दिए । ती ३ ठाउँमा प्रति शौचालय ४० लाख रुपैयाँ खर्च हुनेछ ।

महानगरले बनाउन लागेका अपांगमैत्री शौचालय निर्माण सुरु भएको मितिदेखि ६ महिनाभित्रै सक्ने गरी काम गरिरहेको जनाएको छ । स्वकीय सचिव तिमिल्सिनाले भने, ‘टेन्डर आह्वान गरेका छौं । टेन्डर परेपछि लगत्तै काम सुरु हुनेछ र ६ महिनामै शौचालय बन्नेछन् ।’ उनले शौचालयको बाहिरी स्वरुप गोलो हुने जानकारी दिए ।

Advertisement

पोखराकै दोबिल्ला पार्कमा पिकनिकमा रमाउन जानेहरुको ठूलै घुइँचो लाग्छ । उक्त ठाउँमा शौचालय नहुँदा भने समस्या छ । महानगरले यसै आर्थिक वर्षमा दोबिल्ला पिकनिक पार्क, मिलनचोक, राखीडाँडा, रत्नशोभा मावि माझठाना लगायत ठाउँमा समेत शौचालय बनाउने प्रक्रिया अघि बढाइसकेको जानकारी दिएको छ । ‘अहिले हामी प्रक्रियामा छौं । ती ठाउँका शौचालय एउटाकै लागि १० लाख खर्च हुनेछ,’ तिमिल्निाले भने । चालु आर्थिक वर्षमा बजेट अपुग भएका शौचालयमा आगामी आर्थिक वर्षमा काम सुरु गरिने महानगरले जनाएको छ ।

तपाईको प्रतिक्रिया