गुणस्तरहिन मिनरल वाटर उत्पादन गर्ने ४ कम्पनीमा ताला

समाधान संवाददाता २०७५ माघ १७ गते ११:४५

समाधान संवाददाता , बागलुङ

Advertisement

निर्देशिका पालना नगरेको भन्दै बागलुङ र पर्वतका ४ पानी उत्पादक कम्पनीलाई उत्पादनमा रोक लगाइएको छ । ‘प्रशोधित पिउने पानी उत्पादन मापदण्डसम्बन्धी निर्देशिका, २०७४’ कार्यान्वयन नगरेको भन्दै पर्वत जिल्लाका २ र बागलुङका २ उत्पादक कम्पनीलाई रोक लगाइएको हो ।खाद्य, प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय बागलुङले उत्पादनमा रोक लगाएको जनाएको छ ।

कार्यालयले अनुगमनका क्रममा निर्देशिका पालना नगरेको पाइएकाले उत्पादन बन्द गर्न निर्देशन दिइएको खाद्य, प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय बागलुङका निमित्त प्रमुख केदार पौडेलले जानकारी दिए । निर्देशिका अनुसार बोलतको सफाइ, फिलिङ र क्यापिङको काम स्वचालित मेसिनबाट गर्नुपर्ने प्रावधान छ ।

शुद्ध पानीको उत्पादनका लागि कृषि मन्त्रालयले असल उत्पादन अभ्यासका लागि नयाँ निर्देशिका बनाएको थियो । निर्देशिका कार्यान्वयन नगर्ने कम्पनीको अनुमति पत्र नवीकरण नगर्नेदेखि कारवाहीका लागि सिफारिस गर्नेसम्मको प्रक्रिया रहेको पौडेलले बताए ।

बागलुङमा सञ्चालित बागलुङको महालक्ष्मी मिनिरल वाटर एन्ड वेबरेजद्वारा उत्पादित कालिका पानी, कार्की मिनिरल वाटर गल्कोटद्वारा उत्पादित ‘कार्की पिउने पानी, पर्वतको मुक्तिनाथ फुट एन्ड वेवरेज प्रालि र कर्मचार्य ब्रदर्स मिनिरल वाटर एन्ड वेवरेज इन्डस्ट्रिजलाई बोतलको पानी उत्पादन नगर्न निर्देशन दिइएको छ ।

Advertisement

उद्योगको वास्तविक अवस्थाबारे तयार गरिएको प्रतिवेदन जिल्ला प्रशासन कार्यालय बागलुङ र पर्वतलाई जानकारी गराइएको छ । जिल्ला प्रशासन कार्यालय बागलुङले उद्योगका सञ्चालकलाई आगामी आइतबारसम्म सम्पूर्ण कागजातसहित कार्यालयमा उपस्थित हुन पत्र काटेको प्रशासकीय अधिकृत धीरेन्द्रराज पन्तले जानकारी दिए ।

तपाईको प्रतिक्रिया