अन्ना हजारेद्वारा आमरण अनसन आरम्भ

समाधान संवाददाता २०७५ माघ १७ गते ११:५१

भारत, (एएनआई)

भारतका प्रख्यात सामाजिक अभियन्ता अन्ना हजारेले बुधबारदेखि आफ्नै गाउँमा आमरण अनसन सुरु गरेका छन् । केन्द्रमा लोकपाल र प्रदेशमा लोकायुक्तहरु नियुक्त गर्ने व्यवस्थासहितको लोकपाल विधेयक कार्यान्वयन गर्न माग गर्दै उनले अनसन थालेका हुन् ।

भ्रष्टाचार विरुद्धका काम गर्न मोदी नेतृत्वको सरकार असफल भएको भन्दै उनले स्वतन्त्र लोकपाल र लोकायुक्त नियुक्त गर्नुपर्ने माग गरेका छन् । ‘कुनै सर्वसाधारणले प्रमाणसहित उजुरी दियो भने लोकपालले प्रधानमन्त्रीलाई पनि छानबिन गर्न सक्दछ, त्यसैगरी लोकायुक्तले मुख्यमन्त्री, अन्य मन्त्रीहरु र प्रदेश सभाका सांसदहरुलाई पनि छानविन गर्न सक्छ,’ आफ्नै गाउँमा अनसन शुरु गर्नुअघि उनले भने ।

Advertisement

आफूमाथि नै छानबिन गर्ने भएकाले उनीहरुले यस्तो व्यवस्था गराउन नचाहेको उनको आरोप छ । उनले यस्तो व्यवस्था कुनैपनि पार्टीको चाहनामा नपरेको बताउनुभयो ।

लोकपाल विधेयक सन् २०१३ मा नै संसदले पारित गरिसकेको भएपनि सरकारले अहिलेसम्म त्यसमा भएको व्यवस्था अनुसार लोकपाल र लोकायुक्त नियुक्त नगरेकाले फेरि अनसनमा बस्नु परेको उनको भनाई छ ।
आफ्ना पूर्व समर्थकहरु, जो अहिले राजनीतिमा छन्, उनीहरुले पनि अनसनमा साथ दिन सक्ने बताउँदै उनले भने,‘हाम्रो मञ्चमा अब कुनै राजनीतिक नेताहरुलाई ठाउँ छैन ।’ उनले थपे, ‘लोकपाललाई निषेध गर्नेगरी ३ दिन भित्रमा उनीहरुले अर्को कानुन पारित गरेका छन्, त्यसमा राष्ट्रपतिले पनि लालमोहर लगाइसकेका छन् ।

Advertisement

तर पनि लोकपाल नियुक्त गरिएको छैन ।’ ५ वर्षसम्म पनि उनीहरुले यस बारेमा केही गरेनन्, त्यसैले राजनीतिक नेताहरुलाई हाम्रो ठाउँमा आउन दिदैनौं,’ हजारेले भने । भारतमा सहिद दिवसको रुपमा समेत मनाइने महात्मा गान्धीको स्मृति दिवस जनवरी ३० को दिन पारेर आफूले अनसन सुरु गरेको पनि उनले बताए ।

तपाईको प्रतिक्रिया