अल्ट्रा म्याराथनको उपाधि खगेन्द्र बहादुर रानाभाटलाई

समाधान संवाददाता २०७५ माघ १७ गते १३:२८

कृष्ण न्यौपाने
दमौली

व्यास नगरपालिकाको आयोजनामा बुधबार सम्पन्न ‘दोस्रो व्यास अल्ट्रा म्याराथन’को उपाधि डोटीका खगेन्द्र बहादुर रानाभाटले जितेका छन् ।

व्यास नगरपालिका–५ मानहुँदेखि व्यास नगरपालिका–८ पुलिमराङसम्मको ४४ किमि दूरी २ घन्टा ५३ मिनेटमा पार गर्दै त्रिभुवन आर्मी क्लबका रानाभाटले उपाधि जितेका हुन् ।
प्रतियोगितामा त्रिभुवन आर्मी क्लबकै नवराज साउद ३ घन्टा २ मिनेटमा उक्त दुरी पार गर्दै द्वितीय भएका छन् भने ३ घन्टा १४ मिनेटमा उक्त दुरी पार गर्दै पाँचथरका भूमिराज राई तृतीय भएका छन् ।

Advertisement

३ घन्टा १६ मिनेटमा उक्त दुरी पार गर्दै रुकुमका दुर्गाराज बुढा, ३ घन्टा २० मिनेटमा उक्त दूरी पार गर्दै रामेछापका किरण सिं बोगटी मगर, ३ घन्टा २२ मिनेटमा दूरी पार गर्दै व्यास नगरपालिका–६ का सुरेन्द्र चापागाईं, ३ घन्टा २३ मिनेटमा व्यास नगरपालिका–६ कै विशाल गुरुङ र ३ घन्टा ३५ मिनेटमा उक्त दूरी पार गर्दै सोलुखुम्बुका सुमन कुलुङले सान्त्वना स्थान प्राप्त गरेका छन् ।

पोहोर सम्पन्न प्रथम अल्ट्रा म्याराथनमा त्रिभुवन आर्मी क्लवका नवराज साउदले ३ घन्टा १३ मिनेटमा दुरी पार गर्दै उपाधि जितेका थिए । उनी यसेपालि द्वितीय भए ।

Advertisement

म्याराथनमा प्रथम हुनेले ८० हजार, द्वितीय हुनेले ६० हजार, तृतीय हुनेले ५० हजार र सान्त्वना हुने ५ जनाले १५÷१५ हजार प्राप्त गरेका छन् । विजेताहरुलाई राष्ट्रिय धावक बैकुण्ठ मानन्धर र नगर प्रमुख बैकुण्ठ न्यौपानेले पुरस्कार वितरण गरेका थिए । म्याराथन मानहुँकोट सिद्ध मार्ग हुँदै अलैचे–चापाघाट–अनसन चौतारी–सफासडक–भोर्लेटार चोक–बैरेनी–दुम्सी–कलेस्ती–पाथ्रा–सत्रसय–बानियाँ डिही–बर्लाची–सोतीवेशी–बगुवा रिस्ती–बाहुन पोखरा हुँदै पुलिमराङमा पुगेर टुंगिगएको थियो ।

प्रतियोगितामा १९ जिल्लाका १ सय ४ धावकको सहभागिता रहेको नगरपालिकाका प्रवक्ता एवं व्यास नगरपालिका–५ का वडाध्यक्ष मोहनकुमार श्रेष्ठले जानकारी दिए । प्रतियोगितामा तनहुँ सहित कास्की, बाँके, लमजुङ, झापा, रुकुम, गोरखा, धनकुटा, पाँचथर, भक्तपुर, डोटी, सिन्धुपाल्चोक, ललितपुर जिल्लाका धावकको सहभागिता रहेको थियो ।

प्रतियोगिताको मानहुँमा उद्घाटन गर्दै कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले खेलकुदको क्षेत्रमा नेपालले फड्को मार्न थालेको बताए । खेलकुदमा नेपालले प्राप्त गरेको सफलताले देशको गौरव बढाउन सहयोग पुर्‍याएको भन्दै वरिष्ठ नेता पौडेलले भने, ‘खेलकुदको क्षेत्रबाट नेपाल विश्व समुदाय माझ चिनिन सफल भएको छ । यो सकारात्मक हो ।’

वरिष्ठ नेता पौडेलले खेलकुदको माध्यमबाट पर्यटन प्रबद्र्धन गर्ने उद्देश्य सहित आयोजना गरिएको दौड प्रतियोगिताले व्यास नगरपालिकालाई समेत परिचित गराउन सहयोग पुग्ने बताए । वरिष्ठ नेता पौडेलले मानहुँकोटमा विकासको संरचना विस्तारै खडा हुँदै गएकोले गुरुयोजना बनाएर मानहुँकोटको विकास गर्नुपर्नेमा जोड दिए । मानहुँकोटसम्म पुग्ने कच्ची मार्ग पिच हुँदै गरेकोले यसको यहाँको पर्यटनमा टेवा पुर्‍याउने उनको भनाई थियो ।

बैकुण्ठ र कान्छीमाया सम्मानित
उक्त अवसरमा नगरपालिकाले ख्यातिप्राप्त धावक बैकुण्ठ मानन्धर र कान्छीमाया कोजुलाई सम्मान गरेको थियो । उनीहरुलाई दोसल्ला र सम्मानपत्रले वरिष्ठ नेता पौडेल र नगर प्रमुख न्यौपानेले सम्मान गरेका थिए ।

तपाईको प्रतिक्रिया