सुनिधिको सफलता

समाधान संवाददाता २०७५ माघ १७ गते १४:२७

अमृता सुवेदी

“सुनिधि ढोका खोल न ।”
ढोका ढक्ढक्याउँदै कराउँछे सुहाना ।
सुनिधि सावर खोलेर सुकसुकमात्रै गरिरहेकी थिई ।
जोड–जोडले ढोका ढक्ढक्याउँदै कराउँछे सुहाना, ‘सुनिधि के भो तिमीलाई ? किन रिसाकी मसँग ?’
झसंग भएर ढोका खोली सुनिधिले, सुहानालाई हेर्दै नहेरी ग्वाम्ल्वाङ अँगालो हाली । पिलपिललाई रहेका आँखा पुछी र बेस्मारी रुन थाली ।

एकछिन छाती कसिलो गरी टाँस्दै दरिलो साथको आभास दिई सुहानाले र सुनिधिका शरीरमा टिलपिलाई रहेका पानीका कणलाई तौलिले पुछ्दै भिजेका बाँकी कपडा फेर्न इसारा गरी । खुला रहेका सावरलाई बन्द गर्दै कोठामा फर्की सुहाना ।

एकछिनमा कपडा फेरेर सुहाना पनि आइपुगी र दुवै जना भित्तामा अडेस लागेर खाटमाथि बसे । सुहाना सोध्न खोज्दै थिई, आजको असन्तुष्टि र निरासा तर सुनिधिले आफैंले खुलाउने इसारा गरी । एकैछिन दुबै आखाँले मात्रै बोलिरहे । बल्ल सुनिधिले आवाज निकाली, ‘किन यी पुरुषहरु हाम्रा स्तन, योनी र पोटिला शरीरमात्रै देख्छन् ?’ सुहाना केही बोल्नै सकिन । किनकी यसको जवाफ उसँग पनि थिएन ।

सुनिधिले आजको इतिवृत्तान्त सुनाई ।

‘….त्यसपछि त्यसले मलाई उसको आफ्नो अफिस कोठामा लग्यो । उसको सामुन्ने अगाडि बसायो र भन्यो, ‘तिम्रा सबै डकुमेन्ट हेरें मैले …. मैले चाहे जस्तो त हैनौं तिमी, ….तर तिमीलाई मैले चाहिं राम्री देखे …झट्ट हेर्दा राम्री पनि हैन, खै किन किन मलाई तिमी राम्रो लाग्यो है ।’

थाहा थियो उसले एक टकसँग मेरा स्तनलाई हेरिरहेथ्यो । म आफूलाई असहज महसुस गरिरहेको थिएँ । ऊ बेला बेला मेरा हात समाउन खोज्थ्यो । म हात आफूतिर तान्थे । मलाई त्यसका कुरादेखि भित्रभित्रै शंका उब्जन थालिसकेको थियो । तर पनि मलाई जागिर खान मनथ्यो । आफ्नै कमाइमा रमाउन मनथ्यो । सोचें ‘दुई चार महिना झेल्न सकियो र काम सिकियो, अनुभव बढाइयो भने त अन्तै पनि पाइहालिएला नि जागिर……’

ऊ भन्दै थियो, ‘मेरा संगतले तिमीलाई म एकदम सफल बनाउँछु । मैले भने जस्तो गर्दै जाऊ काम र पैसा दुबैमा अब्बल । मसँग काम गर्दै गयौ भने तिमीले केहीको चिन्ता लिनु पर्दैन ….।’

ऊ जुरुक्क उठ्यो अनि मेरो पछाडि आयो । म पछि फर्किन लाग्दै थिए तर उसले म बसेको कुर्सी च्याप्प समात्यो र मलाई फर्किन नदिई रोक्यो ।
मेरो जिउ झनै सक्सकायो । उसको मुख मेरो कान नेर ल्याएर बोल्यो, ‘तिम्रो जागिर पक्का गर्दिन्छु म ….तर…….. ……’
ऊ रोकियो बोल्न । मैलेपछि नफर्की प्रश्न गरे , ‘तर के सर ?’
ऊ हड्बडिदै बोल्यो, ‘केही हैन, केही हैन , सामान्य कुरा हो । नेचुरल कुरा, त्यस्तो जटिल केही हैन…। आज तिमी मसँग जानुपर्छ ।’
‘काँ सर ?’ मैले नबुझेझैँ सोधें ।
‘कही हैन क्या, यसो खाजासाजा खा, नयाँ ठाउँ घुम्न जाऊँ न………।’
मैले झर्किएर अझै नबुझे झैँ सोधे, ‘किन सर त्यस्तो ?’
उसले फेरि निहुरिएर मेरो कानमै भन्यो, ‘कस्तो नबुझेकी लाटी तिम्रो जागिर पक्का गर्नु छ भने तिमी मसँग जानुपर्छ ..।’

मैले बुझिसकेकाी थिएँ । उसले आफ्नो यौनको भोक मसँग मेट्न खोज्दै छ । आफ्नो कुरुप मर्दपन मेरो सामु प्रर्दशन गर्दै छ ।
‘मलाई त्यस्ती केटी……।’ म बोल्नै सकिनँ ।

म सिटबाट जुरुक्क उठें । उसले मेरो पाखुरामा समायो । उसका हात झड्कार्दै मैले उसको मुखमा थुक्न खोजें । उसले मेरो मुख आफ्ना हातले छेक्यो । मै उसलाई हुत्याउदै ढोकाबाट बाहिर निस्के हतार हतार । आफ्नो डकुमेन्ट बोकेर एकैचोटि सडकमा पुगें । ट्याक्सी चढेर भागें । नत्र त्यसले मलाई जबरजस्ती जे पनि गर्न सक्थ्यो ।
सुहाना सुनिरहेकी थिई । सुनिधिका लागि सुहानासँग सहानुभूतका शब्द थिएनन् । भित्रभित्रै त्यो पुरुषप्रति आक्रोश उम्लिरहेको थियो

सुनिधि र सुहाना दुबै गाउँबाट उच्च शिक्षाका लागि काठमाडौँ आएका हुन् । उच्च शिक्षासँगै दुबैले आफ्नो करियर बनाउन खोजिरहेका छन् । काठमाडौंको बसाइँ भरपर्दा आफन्तको अभाव र गाउँबाट ल्याएको खर्चले मात्र नपुगेकाले दुबै कामको खोजीमा थिए । सुहानाले उसको साथीको अफिसमा बल्लतल्ल एउटा सानो काम भेट्टाई । तर सुनिधिले भने अहिलेसम्म काम भेट्टाएकी छैन । पढाइ दुबैको राम्रै चलिरहेको छ ।

काम गर्ने उत्साह, जोश र आत्माविश्वास दुबैमा उत्तिकै अब्बल छ तर पनि काठमाडौंले उनीहरुलाई पत्याइरहेको छैन । यस्तो लाग्दै छ उनीहरुलाई सीप क्षमता तीर्खान र उज्ज्वल भविष्यको कल्पना गर्ने गोरेटो समात्न हत्तपत्ति अवसर दिंदैन काठमाडौँ । काठमाडौँ बढ्ता स्वार्थी छ । पैसावालालाई मात्रै ऐस र आनन्दमा रमाउन दिन्छ । महलदेखि चोक, गल्ली र पार्कहरुमा सबैले पौरुषत्वको कामुकता देखाउँदै विवशता अढ्याएर हिंसा दबाएको छ । नारीको विवशतामा पुरुषार्थ देखाइरहेको छ काठमाडौं ।

‘हो सुनिधि…..मेरो त्यो हाकिम भनौँदो पनि बारबार नजानिदो तबरले मलाई छुन खोज्छ र आफ्नो कुरुप कामुकता मतिर फ्याकिरहन्छ …।’ सुहाना विस्तारै आफ्नो व्यथा खोल्छे, एकदमभित्र दबिएको व्यथा ।

‘मलाई अझैं डर लागिरहन्छ सुनिधि, त्यो हाकिमको अुनहार सम्झ्यो कि भित्रभित्रै आगो बल्छ ।’

के ठान्छन् है यी लोग्ने मान्छेहरु हामीलाई ? साँच्चै निर्जीव खेलौँनामात्रै ठान्छन् ।
अब पनि यसरी नै सहेर नै बस्ने त यिनका यौनको भोक र नारीको शोषण ……।
उनीहरुभित्रभित्रै मुमुर्रिएका छन् । महिलामाथि हुने यौन हिंसाप्रति । आजकल चारैतिर सुनिएको हिंसाको चर्को आवाजले मस्तिष्क शिथिल बनाएको छ ।

सुनिधि गाउँ फर्कन्छे । तीन चार महिना गाउँमै बस्छे । प्रौढ कक्षा पढाउछे गाउँमा बसुञ्जेल । महिलालाई यौनहिंसा प्रति जागरुक गराउँछे पनि । त्यस क्रममा उसले महिला र यौनहिंसाका विभिन्न रुप सुन्छे । उसका साथी पनि पीडित भएको थाहा पाउछे । अब चूप बस्नुहुन्न भन्ने लाग्छ उसलाई । सुनिधि र उनीहरुको सबै हिंसापीडित साथिहरु मिलेर यौनहिंसा विरुद्ध जागरण फैलाउने एउटा संस्था दर्ता गर्ने निस्कर्षमा पुग्छन् ।

५ वर्षपछिको घटना हो । सुनिधि दंग छे आज । यति छिट्टै यत्रो उपलब्धि हासिल गरौंला भन्ने उसले सोचेकै थिइन । तर पाँच वर्षको अन्तरालमै उसले नसोचेको सफलता पाई । महिला यौन हिंसा विरुद्ध चेतना अभिवृद्धि र महिला जागरणमा उल्लेख्य सुधार गरेवापत उसको संस्थालाई प्रतिष्ठित महिला हिंसा विरुद्धको अन्तर्राष्ट्रिय पुरस्कार प्राप्त भएको छ ।

सुहाना पनि उसको अभियानमा सँगै थिई केही समय । तर अहिले ऊ बिहे गरेर व्यक्तिगत जीवन विताइरहेकी छे । अनि त्यो जागिर लगाउन प्रलोभन दिने बहानामा यौन शोषण गर्न खोज्ने हाकिम जेलमा छ यतिबेला । बालिका बलात्कार अभियोग प्रमाणित भएर सजाए भोगिरहेको । यस्ता धेरै यौन पिपासुले सजाय पाएकाले यतिबेला काठमाडौं पनि गर्व गर्न योग्य लाग्न थालेको छ । लाग्छ, काठमाडौंमा आजकाल नारीलाई सम्मान र इज्जत बढेको छ । महिला यौन हिंसाको दर घटेको छ । आजकाल त काठमाडौंमा नारी जुनसुकै बेला निस्फ्रीक्री एक्लै हिड्न सक्छन । त्यही भएर विदेशतिर सुनिन्छ रे, ‘काठमाडौँ संसारकै एक महिलामैत्री सहर हो ।’

सुनिधिलाई धेरै अप्ठ्यारा नआएका होइनन् । धेरै आरोप पनि नखेपेकी होइन उसले । तर ऊ कदापि विचलित भइन् । डलरवादीको आरोपलाई पनि उसले चूपचाप सुनेर कामले नै जवाफ दिई । पुरुष विरोधी अल्ट्रा फेमिनिस्टको आरोप पनि उसले सुन्दै पुरुषकै साथ र सहयोगमा विभिन्न रचनात्मक काम गरेरै पचाइ दिई । धेरै पुरुषहाट प्रेरणा लिई । धेरै पुरुषबाट ज्ञान, विवेक सिकी । धेरै पुरुषहाई आदर्श मानी । ती सबै पुरुषप्रति ऊ गर्व गर्छे, जो उसका हरेक अभियानमा साथ, सहयोग, हौसला, प्रेरणा, प्रोत्साहन र आदर्श बनेर आए ।

सुहानालाई धेरै सम्झिरहेकी छ यतिबेला, जो जीवनमा हर अप्ठ्यारामा मौन साथ रहन्थी । अब त बाँकी जीवन व्यक्तिगत सुन्दर भविष्यतर्फ किन नसोचोस् सुनिधिले ?
काँडाघारी, काठमाडौं

तपाईको प्रतिक्रिया