१८ अर्बको लागतमा पोखरा र शुक्लागण्डकी समेटेर नयाँ चक्रपथ

समाधान संवाददाता २०७५ माघ १८ गते ७:३९

समाधान संवाददाता

पोखराका केही यस्ता योजना छन्, वर्षौंदेखि चर्चा भइरहेको छ । पोखरेलीले सपना देखिरहेका छन् तर काम अघि बढ्दैन । त्यसमध्येको एउटा योजना हो, पोखरा चक्रपथ । जुन योजना र सपना २० वर्षअघिको हो तर काम अघि बढेन । बरु ५ डिजाइन फेरिए । ती योजना अहिलेसम्म कागजमै सीमित रहे ।

पोखरा चक्रपथको अवधारणा सबैभन्दा पहिले २०५८ सालमा तत्कालीन जिल्ला विकास समितिले ल्याएको थियो । तत्कालीन जिविस सभापति पुण्य पौडेलले जिल्ला परिषदबाट परित नै गराएर कार्यान्वयनमा लैजाने बताएपछि पोखरा चक्रपथको विषयले चर्चा कमाएको थियो । त्यसयता पोखरा चक्रपथको विषयमा चर्चामा मात्रै रहँदै आएको छैन, त्यसको अध्ययनका लागि भनेर बजेट पनि विनियोजन हुँदै आएको थियो ।

Advertisement

तत्कालीन लेखनाथ नगरपालिका र पोखरा उपमहानगरपालिकाका सबै गाउँलाई जोडेर एकीकृत चक्रपथको अवधारणा ल्याइएको थियो । सबै गाउँलाई जोडेर ७६ किलोमिटरको चक्रपथ निर्माण गर्ने योजना कार्यान्वयन हुन नसकेको तत्कालीन जिविस सभापति पौडेल बताउँछन् । पौडेलले त्यतिबेला विभिन्न ठाउँमा पोखरा चक्रपथबारेर बहस पनि चलाए । गाउँका मान्छेलाई गाउँमै उद्यम गर्न सघाउने र आफ्ना आवश्यकता पूरा गर्न सहरसँग छोटो र सजिलो पहुँच गराइदिएर पोखरालाई अस्तव्यस्त हुनबाट जोगाउने गरी चक्रपथको परिकल्पना गरेको पौडेलको भनाइ छ ।

पौडेलको नेतृत्वमा परिकल्पना गरिएको ७६ किलोमिटरको चक्रपथमा ४ वटा ठूला पुल र एक सय ५४ वटा साना पुल बनाउने इस्टिमेट थियो । यो इस्टिमेट चर्चामा रह्यो तर कार्यान्वयनमा गएन । त्यसको ११ वर्षपछि चक्रपथको अर्को इस्टिमेट गरियो । दोस्रोपटक आवधिक योजनाका रुपमा सहरी विकास तथा डिभिजन कार्यालयले सुरुको भन्दा १ किलोमिटर दूरी घटाएर ७५ किलोमिटरको चक्रपथको प्रस्ताव ल्याएको थियो ।

Advertisement

यो प्रस्ताव आएको १ वर्षपछि चक्रपथको फेरि अर्को योजना इस्टिमेट सार्वजनिक गरियो । २०७० सालमा सडक विभागले नै डिजाइन तयार गरेको थियो । पहिलेको भन्दा १० किलोमिटर थप गरेर ८५ किलोमिटरको लामो चक्रपथ निर्माण गर्ने योजनासहित डिजाइन तयार पारियो ।

तत्कालीन क्षेत्रीय प्रशासक दिनेशकुमार थपलियाको अगुवाइमा २०७१ सालमा समितिले उपत्यका नगर विकास समितिका पूर्वअध्यक्ष विश्वप्रकाश लामिछानेको संयोजकत्वमा गठितत समितिले पुनः अर्को प्रस्ताव अघि सा¥यो । फास्ट ट्र्याक र बाइपास रोड हुने गरी ७३.४ किलोमिटरको चक्रपथ प्रस्ताव त्यो बेला गरिएको थियो । त्यो बेला पनि चक्रपथको नयाँ प्रस्तावमात्रै आएर चर्चा पनि उत्तिकै कमायो ।

चक्रपथको नयाँनयाँ योजना र इस्टिमेट आउने तर कार्यान्वयन नहुने क्रम चलिरह्यो यता पोखरा बढ्दो सहरीकरण र मान्छेका चापले जाम हुने र अस्तव्यस्त हुने क्रम थपिइरह्यो । पोखरा जोड्ने मुख्य ३ राजमार्ग आउजाउ गर्ने वैकल्पिक मार्ग छैन । सिद्धार्थ राजमार्ग, भूपी शेरचन राजमार्ग हुँदै आउजाउ गर्न पृथ्वीचोक नपुगी सुखै छैन । त्यो पोखराका विभिन्न ठाउँसम्म आउजाउ गर्ने अर्को वैकल्पिक मार्ग पनि नहुँदा पोखरा अहिले ट्राफिक जाम र अस्तव्यवस्ताबाट गुज्रिन थालेको छ ।

१८ अर्ब रुपैयाँ लागतको नयाँ चक्रपथ प्रस्ताव
पोखरा चक्रपथको योजनाले अहिले आएर अर्को मोड लिएको छ । तनहुँको शुक्लागण्डकी नगरलाई समेत समेटेर चक्रपथको नयाँ परिकल्पना गरिएको छ । यसपटक चक्रपथको विषयमा गण्डकी प्रदेश सरकारले आफैं चासोमात्रै लिएको छैन, सम्भाव्यता अध्ययनका लागि नेपाल सरकारसँग अनुमतिसमेत मागेको छ ।

१ सय २० किलोमिटर लामो चक्रपथको अध्ययन र निर्माणमा सघाउन चिनिया टोलीसमेत इच्छुक देखिएको छ । चिनियाँ टोलीसँग प्रदेश सरकार र पोखरा महानगरले चक्रपथ निर्माणको छलफल गरेको गण्डकी प्रदेश सरकारका प्रवक्ता रामशरण बस्नेतले जानकारी दिए ।

‘प्रस्तावित चक्रपथमा चिनियाँ कम्पनी पावर चाइना सिपिङ पावर लाइन हाडवेयर कम्पनी लिमिटेडले चासो देखाएको छ,’ भौतिक पूर्वाधार विकास मन्त्रीसमेत रहेका बस्नेतले भने, ‘चिनिया टोलीसँगको छलफलमा चक्रपथको प्रस्तावित नमूनासमेत देखायौं ।’

तनहुँको शुक्लागण्डकी नगर र पोखरा महानगरपालिकालाई समेट्ने यो चक्रपथमा १ सय १२ किलोमिटर सडक र ८ किलोमिटर सुरुङमार्ग हुने प्रस्तावित इस्टिमेटमा छ । कास्कीको तल्लो गगनगौंडाबाट सुरु हुने रिङरोड तनहुँको गाछेपानी हुँदै सेतीनदीको पुलबाट पुनः कास्की छिर्ने छ । त्यहाँबाट लामगादी चोक, माथिल्लो पुँडीटार, भरतपोखरी, कृस्ती, फुस्रेखोलाबाट पुम्दीभुम्दी हुँदै फेवातालसम्म १.६ किलोमिटर लामो सुरुङबाट चापाकोट निकालिने प्रस्तावित योजनामा छ । भदौरे हुँदै हर्पनखोला, घाँटीछिनाबाट ३.३ किलोमिटर लामो सुरुङ खनेर घट्टेखोला निकालिने योजना चिनियाँ टोलीसामु प्रस्तुत गरिएको छ ।

घट्टेखोलाबाट मध्यपहाडी लोकमार्गमा जोडेर हेमजा, पुरुञ्चौर, अकला मन्दिर, ठूलीपोखरी, बाटुलेचौर, भलाम, माटेपानी, काहुँखोला हुँदै विजयपुर खोलाबाट १.७ किलोमिटर लामो सुरुङ खनेर मादी करिडोरमा जोड्ने योजना छ । मादी करिडोर हुँदै माधवबेसी निस्केर भगवतीटारमा २.६ किलोमिटर सुरुङ र स्याङ्खुदी हुँदै सुन्दरीडाँडा, तालबेसी, रुपाताल, सातमुहानेबाट फेरि तल्लो गगनगौंडा पुगेर चक्रपथ टुंगिने पछिल्लो डिजाइनमा समावेस गरिएको छ ।

प्रस्तावित नयाँ इस्टिमेट अनुसार सडक ४ र सुरुङमार्ग २ लेनको हुनेछ । ११ वटा पक्की मोटरेबल पुल र ७ वटा कल्भर्ट निर्माण गर्नुपर्ने अध्ययनले देखाएको छ । पोखरा महानगरले तयार पारेको इस्टिमेटअनुसार यो चक्रपथ निर्माणमा १८ अर्ब रुपैयाँ लाग्ने छ । १ सय १२ किलोमिटर सडक निर्माण गर्न ५ अर्ब ६० करोड र ८.२ किलोमिटर सुरुङमार्गका लागि १२ अर्ब ३० करोड लाग्ने अनुमान गरिएको छ ।

तपाईको प्रतिक्रिया