चर्पीको चर्चा
सरकारले एक ताका खुला दिसामुक्त क्षेत्र अभियान चलायो । त्यही अनुसार दिसा घोषणा हुनेमा कास्की मुलुककै पहिलो बन्यो । गाउँ सहरका प्रत्येक घरमा कम्तीमा एउटा चर्पी बनिसकेपछि घोषणा खुला दिसामुक्त घोषणा गरियो । त्यसो गरिरहँदा सार्वजनिक चर्पीतिर सरकारको ध्यान पुग्न सकेन । अरु त अरु पर्यटकीय सहर पोखरामै सार्वजनिक चर्पी नहुँदा पर्यटक भौतारिनु परेका खबर अहिले पनि सार्वजनिक भइरहेका छन् ।
यसले गर्दा कतिपय योजना र घोषणा प्रचारका लागि मात्र गरिन्छन् भन्ने तथ्यलाई प्रमाणित गरिरहेको छ । चर्पी आधारभूत आवश्यकता हो । अनि सभ्यताको नमुना पनि । यो केबल सभ्यतासँग मात्र जोडिएको छैन । मानव विकास सूचकांकको महत्वपूर्ण पक्ष पनि हो । चर्पी प्रयोगले मानिसको स्वास्थ्यमा समेत प्रभाव पारेको हुन्छ ।
चर्पी प्रयोग गर्दा ५ वर्ष मुनिका १ तिहाई बालबालिकालाई झाडापखलाबाट हुने मृत्युबाट बचाउन सकिने १ अध्ययनले देखाएको छ । सरकारी तथ्यांक अनुसार २०६७ सालसम्म नेपालमा ५ घर मध्ये २ घरमा मात्र चर्पी थिए । तर अहिले आएर १ सयमध्ये ९८ घरमा चर्पी छन् । विद्यालय र स्वास्थ्य संस्थामा ५ मध्ये ४ वटामा मात्र चर्पी भएको तथ्यांकले देखाएको छ ।
संयुक्त राष्ट्र संघले चर्पीलाई दीगो विकासको लक्ष्यसँग जोडेको छ । सन् २०३० सम्ममा सबैको लागि दिगो खानेपानी र सरसफाईको व्यवस्थापन गरी दिगो विकास लक्ष्य हासिल गर्न नेपाल सरकारले पनि कसरत गरिरहेको छ । विगत ५ वर्षको अवधिलाई हेर्दा नेपालमा ५ वर्ष मुनिका बालबालिकामा झाडापखालाको प्रकोप १४ प्रतिशतबाट झरेर ८ प्रतिशतमा आएको तथ्यांक छ । चर्पीको प्रयोग र खानेपानीको उपलब्धताका कारण यो प्रगति भएको सरकारको दाबी छ ।
व्यक्तिगत घरहरुमा चर्पीको प्रयोग बढे पनि सार्वजनिक चर्पीको अभावमा गाउँ सहर र राजमार्ग आसपास दुर्गन्धित हुने गरेको सबैले देखेकै कुरा हो । चर्पी भएको ठाउँमा पनि पर्याप्त पानी नहुँदा समस्या आउने गरेको छ । सरकारले सार्वजनिक शौचालयको महत्व नदिएको पनि होइन, गरिबी निवारण रणनीतिक योजनामा सरकारले सन् २०१७ सम्ममा सबै नेपालीको हकमा सुरक्षित खानेपानी तथा आधारभूत शौचालयको पहुँच पुर्याउने लक्ष्य राखेको थियो । तर, सरोकारवालाले लक्ष्यअनुसार काम नगर्दा लाखौं नागरिक संविधानले ग्यारेन्टी गरेको स्वास्थ्यसम्बन्धी न्यूनतम सुविधा चर्पी प्रयोगबाट समेत वञ्चित भएका छन् ।
पोखरा महानगरपालिकाले ढिलै भए पनि सार्वजनिक चर्पी निर्माणमा चासो देखाएको छ । व्यस्त चोकमा शौचालय बनेपछि पर्यटकको समस्या बिस्तारै हट्दै जाने महानगरको दाबी छ । पहिल्यै चर्पी भएका ठाउँमा अपांगमैत्री र बाँकी अन्य ठाउँमा नयाँ चर्पी बनाउनले योजना महानगरले बुनेको छ । हल्लनचोक, हरिचोक, राष्ट्रबैंक चोकमा चर्पी बनाउन टेन्डर आह्वानसमेत गरिसकिएको छ । बढी भीडभाड हुने चोकहरु आवश्यकता अनुसार चर्पी बनाइदिने हो भने पर्यटकलाई पनि सुविधा हुन्छ । अनि दिसा पिसाब लागेमा बहाना बनाएर होटल र रेस्टुरेन्टतिर छिर्नुपर्ने वाध्यता पनि अन्त्य हुनेछ ।
तपाईको प्रतिक्रिया