ओझेलमा सहिद जयसिंह चुमी राना मगर
रुद्रबहादुर राना मगर
नेपाल हजारौ वीर वीरंगनाको कठोर संघर्ष र वलिदानी त्यागले विश्वमान चित्रमा स्वतन्त्र, स्वाधिन, सार्वभौमसत्ता सम्पन्न र अखण्ड राज्यको रुपमा स्थापित गौरवशाली राष्ट्र हो । नेपाल एकीकरण, विस्तारवादी भारतीय–अंग्रेज सरकार विरुद्धको युद्ध तथा इतिहासको विभिन्न कालखण्डमा निरंकुश शासन व्यवस्थाको अन्त्य गरी राजनीतिक स्वतन्त्रता र हक अधिकार बहाली गराउने अधियानमा नेपाल आमाका थुप्रै सन्ततिले प्राणोत्सर्ग गरे ।
राष्ट्र, राष्ट्रियाता, राष्ट्रिय अखण्डता र स्वतन्त्रता जस्ता राष्ट्रिय स्वार्थ एवं आम जनसमुदायको सामूहिक हितका निम्ति कठिन यातना, संघर्ष र चुनौतीसँग मुकाविला गर्दै प्राणसमेत वलिदानी गर्ने व्यक्तित्व वास्तवमै राष्ट्रिय गौरवका स्रोत हुन् । आजको स्वाधीन, स्वतन्त्र र अखण्ड नेपाल, इतिहास मात्र होइन नेपाली जातिको गौरवको निशानी हो ।
माघ १६ गते सहिद दिवस, सहिद भन्नासाथ राणा शासन विरुद्ध उभिदा ज्यान गुमाएका ४ विभूति दशरथ चन्द, धर्मभक्त माथेमा, शुक्रराज शास्त्री र गंगालाल श्रेष्ठको सम्झना गरिन्छ । यी चार जनालाई मृत्युदण्ड दिइएको दिनलाई हामी सहिद दिवस भनेर मनाउने गर्छौं । सहिद दिवस मनाइरहँदा प्रथम सहिद लखन थापा मगर र अर्का सहिदको कोटीमा अट्न नसकेको विर योद्धा जयसिंह चुमी राना मगर ओझेलमा छन् ।
राष्ट्र, राष्ट्रियता, प्रजातन्त्र, लोकतन्त्र, मानव अधिकार तथा कानुनी राज्य स्थापना लगायत सबै खाले सामन्तवादका विरुद्धमा गरिएका हरेक आन्दोलनमा सहभागी हँुदै हाँसी हाँसी जीवनको वलिदान दिने ती महान् सहिद हुन्, जय सिंह चुमी राना मगर । उहाँको जन्म गोरखा जिल्ला सहिद लखन गाउँपालिका वडा नं. ७ साविक बुंकोट गाविस वडा नं ४, काहुले भंगारमा सामान्य चुमी परिवारमा भएको थियो । काहुलेमा जन्म भएको चुमी मगर र लखन थापा मगर घनिष्ट साथी थिए ।
त्यतिबेला नेपालमा सर्वसाधाराण जनताले औपचारिक शिक्षा हासिल गर्नको लागि कुनै पनि व्यवस्था थिएन । विसं १९१० मा मात्र नेपालको पहिलो शिक्षालयको रुपमा दरबार स्कुल स्थापना भएको थियो । त्येतिबेला नेपालको दुर्गम ठाउँको त कुरै छाडौ राजधानीमा समेत सर्वसाधारण जनताको निम्ति शिक्षा आर्जनको लागि कुनै व्यवस्था थिएन । उच्च वर्गीय र राणा परिवार भित्र भने शिक्षालाई बन्देज गरिएको थिएन । त्यसैले साधारण ग्रामीण परिवारमा जन्मेका चुमी मगरले औपचारिक शिक्षा भने लिन पाएनन् ।
ग्रामीण परिवेशमा सामान्य रुपमा उनको बाल्यकाल बित्यो । सानैदेखि स्वाभिमानी, ईमान्दारी र मिलनसार चुमी युवा अवस्थामा नेपाली सेनाको पुरानो गोरख पल्टनमा भर्ना हुन पुगे । बाल्यकालका साथी लखन पनि सोही पल्टनमा भर्ना भएका थिए । उनीहरुबीचको मित्रता निकै घनिष्ट थियो । लखन र चुमी राना एउटै गाउँ र पल्टनमा रहेको कारण हरेक कुरामा एक आपसमा सरसल्लाह गर्थे ।
सैनिक अवस्था
सहिद चुमी राना पुरानो गोरख गण नामक पल्टनमा भर्ति भएका थिए । गोरख गण पुरानो ऐतिहासिक महत्व बोकेको मगर पल्टन थियो । पृथ्वीनारायण शाहले स्थापना गरेको गोरख गण नामक मगर पल्टनमा सबभन्दा तल्लो दर्जा सिपाहीमा भर्ती भई क्याप्टेन जस्तो माथिल्लो दर्जामा पुगेका थिए, चुमी । उनी र लखन दुवैमा तेज बुद्धि, अस्त्र–शस्त्र चलाउन सक्ने र साहसी भएकै कारणले कलिलै उमेरमा उच्च पद प्राप्त गरेका थिए । उनी सो पल्टनमा विसं १९२५ मा (३१÷३२ वर्षको उमेरमा) क्याप्टेन पदमा थिए, जुन दर्जा लखनको र उनको एकै र सँगै भएको थियो ।
ईसं १८५७ सालमा भारतमा अंग्रेज उपनिवेश विरुद्ध सिपाही विद्रोह भएपछि नेपालबाट २६ नेपाली पल्टन जाँदा चुमी राना आफ्नो पुरानो गोरख पल्टनसँगै भारत पुगेका थिए । त्येतिबेला जंगबहादुरको आदेशमा पुरानो गोरख पल्टन भारतको लखनउमा खटिएको थियो । भारतीय जनताको स्वतन्त्र बन्ने चाहना विरुद्ध नेपाली सेना परिचालन गरेर जंगबहादुरले दुरुपयोग गरिरहेको चुमीलाई बोध भयो । फलत लखन थापा र चुमीबीच जंगबहादुरको निरंकुशता विरुद्ध विद्रोह गर्ने सवालमा पटकपटक छलफल हुन् थाल्यो ।
विसं १९२७ सालमा चुमी राना र लखन थापा ३ महिनाको बिदामा घर आएका थिए । दुवै जना गोरखा बुंकोट काहुले तर्फ लागे । चुमी रानाको घर काहुले भंगार पुगी बसे । जंगबहादुर श्री ३ महाराज प्रधानमन्त्री भइसकेको अवस्थामा राणा शासनको कठोर शासन व्यवस्था, जनता माथि गरिएको अत्याचार, दमन र शोषण विरुद्ध अन्त्य गर्नुपर्छ भन्ने धारणा थियो । अन्यायका विरुद्ध हतियार उठाउन ज्यानैसमेत अर्पण गर्न पछि नपर्ने चुमी युद्धको मैदानमा उत्रिन तयार भए । आफ्नो घरसँगै जोडिएको लखन थापाको घडेरी काहुलेमा भव्य दरबारको निर्माण गरी विद्रोह सुरु गरे ।
विद्रोह र संलग्नता
तत्कालीन समयमा राणा परिवारका सदस्यमात्र वंशाणुगत रुपमा रोलक्रम अनुसार प्रधानमन्त्री बन्ने शासन थियो । त्यतिबेला राणा शासन ज्यादै शक्तिशाली र निरंकुश थियो । जंगबहादुरले जे बोले, जे गरे त्यही नै कानुन सरह हुन्थ्यो । राणा कै हुकुमी शासन चल्थ्यो । अहिले कानुनभन्दा माथि कोही हुँदैन भन्ने भनाई यथार्थपरक छ तर त्यतिबेला राणाहरु कानुनभन्दा माथि थिए । यस्तो शासन व्यवस्थाको कुनै पनि हालतमा अन्त्य गर्नुपर्छ भन्ने चुमीको मनमा लाग्यो ।
जसको निम्ति प्रथम सहिद लखन थापाले लिएको साहसमा जुनसुकै कठिनाईमा पनि साथ र सहयोग दिन चुमी हर कदम तयार थिए । लखनको नेतृत्वमा गोरखाको साविक बुंकोट काहुले भंगारमा २ हजार जति युवाको फौज बनाएर फौजका लागि आवश्यकपर्ने टुडिखेल, तालिम संचालन गर्ने ठाउँ, तारो हान्ने ठाउँ, खाने, बस्ने आदि बन्दोबस्त मिलाए ।
चारै तिरबाट बलियो किल्लाले घेरी दरबारको निर्माण गरे । दरबारको अगाडि प्रतिकात्मक मनकामनाको मन्दिर निर्माण गरे । उक्त मन्दिरमा गोरखनाथ, गोरखकाली लगायतका देवीदेवतालाई भित्र्याए । मन्दिरको दक्षिणतर्फ ढुंगे धारा र एउटा पानी पोखरीसमेत निर्माण गरे । सेनाका लागि तलब–भत्ता र हातहतियारको रुपमा ६० नाल बन्दुक र ठूलो संख्यामा तरबार, खुडा, कतरी, भाला, धनुकाड, शोला, छुरी र डण्डीहरुको व्यवस्था गरे । दरबारमा धेरै सैनिक भर्ना गराए । जसमध्ये धेरै चनाखो, साहसिक र बहादुरी देखाउन सक्ने लखन थापाको घनिष्ट मित्र एवं सहयोद्धा चुमी रानालाई सबै दरबार सम्हाल्न दिइयो । चुमी पूर्व सेना भएकोले सैन्य प्रशिक्षण गराउन सहज बन्यो ।
जंगबहादुरको क्रुर र निरंकुश शासनको विरुद्ध धार्मिक शक्तिको आडमा लखन थापाले राजनीतिक संगठन गरेका थिए । उनले चुमी रानालाई विसं १९२७ देखि नै सैन्य संगठन गर्न जनरलको पदावी दिएको थियो । त्यहीदेखि आन्तरिक मिलिसिया तयार गर्ने काम प्रारम्भ भएको थियो । बाह्य रुपमा संगठनलाई जोसमनी मतका सन्त संगठन भन्ने प्रचार गरियो तर भित्रभित्रै जंगबहादुर विरोधी क्रियाकलापको तयारी हुन्थ्यो ।
विसं १९३२ तिर सम्पूर्ण विद्रोहीको आग्रहमा राजद्रोही सरकार खडा गरी त्यसको मुख्तियार (प्रधानमन्त्री) आफै भए र चुमी रानालाई सेनाको प्रधान सेनापति बनाइयो (लखन थापा मगर राजा र जय सिंह चुमी राना मगरलाई मन्त्री बनाएको भन्ने भनाई पनि पाइन्छ) । राणाले जनतामाथि गरेको शोषणप्रति लखन थापाको नेतृत्वमा निर्माण भएको विद्रोह किल्लाका २ हजार सेना मध्ये सेनाको प्रधान सेनापति र जनताको आग्रहमा राजद्रोही सरकारको मन्त्री जस्तो स्थानमा रही आफ्नो स्वार्थको लागि नभएर सिंगो देश र जनताको लागि जीवन वलिदान गर्ने महान् व्यक्ति चुमीले ठूलो योगदान र सहयोग दिएको छ । चुमीको योगदान बिना प्रजातन्त्रको सुरुआत असम्भव थियो ।
फाँसी र दमन
विसं १९३२ सालमा सम्पूर्ण विद्रोही जनसमुदायले राजद्रोही सरकारको सेनापतिमा चुमी रानालाई घोषणा गरी जनताद्धारा घोषित पहिलो वैकल्पिक विद्रोह गर्यो । तत्कालीन समयमा सर्वजित थापा क्षेत्री पिपलथोकमा बसी गोरखाको मुद्दामामिला हेर्थे । उनले गोरखाको बुंकोटमा जंगबहादुरको शासन सत्ता विरुद्ध लखन थापाको नेतृत्वमा सशस्त्र जन विद्रोहको तयारी भइरहेको उजुरी जंगबहादुर समक्ष जाहेर गरे । सूचना पाएपछि जंगबहादुर क्रुद्ध भए ।
उनले लखन थापा र उनका सहयोद्धा चुमी रानालाई पक्रेर काठमाडौं ल्याउन भनी कान्छा भाइ धीर शमशेरलाई आदेश दिए । आदेश बमोजिम देविदत्त पल्टनका सैनिक गोरखा पुगी विद्रोह किल्लालाई चारैतिरबाट घेराहाले । देविदत्त पल्टन र विद्रोही सेनाबीच भिडन्त भयो । भनिन्छ, त्यो विद्रोहमा दवाउन धीर शमशेरलाई पनि हम्मे–हम्मे परेको थियो । अन्तमा विद्रोहीहरु पक्राउ परे । उनीहरुलाई बासको पिंजडामा कैद गरी यातनापूर्वक काठमाडौं पुर्याइयो ।
विद्रोही विरुद्ध थापाथली दरबारमा मुद्दा चलाइयो । साथै वर्वरतापूर्वक कोर्रा हानी ठूलो यातना दिइयो । चुमी राना र मित्र लखन थापालगायत सहयोगीलाई गोरखा बुंकोट काहुले भंगार स्थित उनीहरुकै किल्ला परिसरको मनकामना मन्दिर अगाडि स्थानीय जनसमुदायको उपस्थितिमा झुन्ड्याएर मार्ने फैसला भयो । तर राणा शासक सामु उनीहरु झुकेनन् । देविदत्त पल्टनका सैनिकले मृत्युदण्ड सुनाएका विद्रोहीलाई गोरखा पु¥याए । साहसी चुमी राना देश र जनताको निम्ति वलिदान दिन तयार भए । विसं १९३३ फागुन २ गते गोरखा बुंकोट काहुलेको आफ्नै किल्ला परिसर भित्र मनकामना मन्दिर अगाडिको बेलौती (अम्बा) को रुखमा चुमीलाई र दायाँतर्फ खिर्राको रुखमा लखन थापालाई झण्डयाएर मृत्युदण्ड दिइएको थियो ।
मुत्यु पछि चुमीका सन्तानलाई पनि सखाप पार्नुपर्छ भनी राणाद्धारा उनीहरुको खोजी भयो । खोज तलास चल्न थालेसँगै तत्काल उहाँका छोरा अजव सिंह चुमी करिब ६÷७ महिनाको शिशु अवस्थामै मामाघर रानाहरुकोमा लुकाउनको निम्ति साविक घैरुङ रानीस्वारा हाल सहिद लखन गाउँपालिका वडा नं. ६, लगे । त्यहाँ पनि पक्रने त्रासले मामालीले नजिकैको जंगलमा रहेको झाक्री पहाडमा लगी लुकाएर राखे । यसरी मामालीले धेरै समयसम्म उज्यालो नहुँदै सो झाक्री पहाडमा लाने र बेलुकी आफ्नो घरमा ल्याइ राख्ने गर्थे । अजव सिंह करिब १६÷१७ वर्षको उमेरमा विरोधीप्रति प्रतिरोध गर्न सक्ने क्षमता र बुझ्ने भए पश्चात् पुन आफ्नै जन्मथलो काहुले आइ बसोबास सुरु गरे ।
सहिद घोषणा गर्नुपर्ने कारण
सामरिक क्षमता, योग्यता, अनुभव, नेतृत्व र कामण्ड गर्न सक्ने सिप भएको १ साहसिक तथा प्रतिभाशाली मगरको छोरा चुमी राना कुनै जात, धर्म, वर्ण, लिंङ, व्यक्ति वा समुदायका निम्ति वलिदान दिएका थिएनन् । शोषित, पीडित, थिचो–मिचो, एवं उत्पीडनमा पारिएका जनताको स्वतन्त्रता तथा हक–अधिकारको सुरक्षा गर्नको लागि उनी सशस्त्र विद्रोहमा होमिएका थिए । सिंगो देश र जनताका लागि आफ्नो प्राणको आहुती दिए । यो ऐतिहासिक घटना हो । राष्ट्र निर्माणको क्रममा वीर पुर्खाका वलिदान निपूर्ण भावनाको माध्यमद्धारा समाजलाई समयको प्रवाह र जनताको चाहना अनुरुप अगाडि बढ्नको निमित्त राष्ट्रको विर सपुत जय सिंह चुमी रानाले पु¥याएको योगदानलाई बिर्सन सकिन्न । देश र जनताको स्वाभिमान तथा प्रजातन्त्र प्राप्तीका लागि चुमीको ठूलो योगदान छ ।
प्रजातन्त्रको पे्ररणाको स्रोत मानिने सपुत प्रथम सहिद लखन थापा मगरका कर्मठ सहयोद्धा मारिएको आज १ सय ४२ वर्ष भयो । यसबीच राज्य शक्तिमा धेरै परिवर्तन भयो । सहिद कसैलाई मार्न खोज्ने प्राणी होइन परन्तु मुलुकप्रतिको आस्था र विश्वासको निम्ति स्वयंले मृत्युवरण गर्न चाहेको मानिस हो । जसको आस्था र विचार कार्यको आधारमा सहिदले अमरत्व प्राप्त गर्छन्, चुमी रानाले आफै मृत्युवरण गरेका थिए । राणा शासकका सामु माफी मागेको भए सायद उनले मृत्युवरण गर्नुपर्ने थिएन, छुट पाउथे होला । त्यसैले चुमी रानालाई वीर सपुत आदर्श सहिदको श्रृंखलामा राखेर सरकारले औपचारिक रुपमा सहिद घोषणा गरी राष्ट्रिय सम्मान गर्नु राष्ट्रको साझा दायित्व हो ।
जसले देश र जनताका लागि वलिदान दियो, त्यस्ता व्यक्तिलाई अपमान गर्दै जो सत्तामा पुग्छ उसले आफू अनुकूल सहिदको परिभाषा बनाउँदै सहिद घोषणा गरिरहे । १८ हजारभन्दा बढी सहिदको सूचीमा जय सिंह चुमी राना मगर किन पर्न सकेनन् ? सरकारले सहिदप्रति असमान व्यवहार गरेको छ । सबैलाई समनुपातिक ढंगले जात, धर्म, वर्ण, लिंग, पार्टी नभनी सहिदप्रति उच्च सम्मान गर्दै, चुमी रानालाई सहिदको सूचीमा राख्न अनिवार्य छ ।
अपिल
सहिद कुनै जाति, वर्ग, धर्म, क्षेत्र, लिंग विशेषमात्र नभएर सिंगो राष्ट्रको हो । उसले व्यक्तिगत, पारिवारिक एवं जातीय स्वार्थबाट माथि उठेर समग्र जनता र राष्ट्रको हितका लागि जीवन समर्पण गरेको हुन्छ । ती महान् सहिद चुमी राना पनि हुन् । उहाँले आफ्नो र घर–परिवारको स्वार्थको लागि नभएर सम्पूर्ण जनता र सिंगो राष्ट्रको लागि हाँसी–हाँसी जीवन दान गरे । त्यस्ता महान् व्यक्तिलाई आज सरकारले सहिद घोषणा गर्न सकेको छैन । सहिद घोषणाको निम्ति पहल कदमीसमेत हुन सकेको छैन । त्यसैले यदाकदा सिंगो जातिको नभएर मगर जातिको मात्र त्यो पनि नभएर कुनै सन्तानको लागि मात्र सहिद हो कि भन्ने महसुस हुन्छ । तसर्थ सहिदलाई कुनै जाति, धर्म वर्ग, क्षेत्रको संकुचित सानो घेरामा राखिनु हुँदैन ।
सरकारमा अझै पनि कठिन परिस्थिति छ । पहुचँ र दबाब बिना केही सफल हुन सक्दैन । आगामी दिनहरुमा ४ सहिदसँगै उहाँलाई पनि समावेश गरी सहिद दिवसलाई व्यवस्थित गर्नु जरुरी छ । राष्ट्रिय विभूति घोषणा गरिनुपर्छ । उहाँको योगदानको कदर गर्दै विद्यालयको पाठ्क्रममा समावेश गरिनुपर्छ । सहादत प्राप्त स्थल विद्रोह किल्लाको संरक्षण गर्न आवश्यक छ । चुमी रानाको खोज–अनुसन्धान गरी औपचारिक रुपमा सहिद घोषणा गरी उचित सम्मान गर्न लखन थापा सँगसँगै स्थापित गर्न सरकारलाई हार्दिक अपिल गर्दछु ।
सहिद घोषणा गराउनको निम्ति आवश्यक सहयोग गर्नुहुन सरोकारवाला सबै व्यक्ति, संघसंस्था, नेपाल मगर संघ, जिल्ला नेपाल मगर संघ केन्द्र, प्रथम सहिद लखन थापा मगर स्मृति प्रतिष्ठान, पत्रकारज्यू लगायत शुभचिन्तक सम्पूर्णमा हार्दिक अपिल गर्न चाहन्छु ।
तपाईको प्रतिक्रिया