अदालतमा सूचना प्रविधिः तामझाम बढी, उपलब्धि कम

भरत कोइराला
तत्कालीन कामु प्रधानन्यायधीश दीपकराज जोशीले तनहुँ जिल्ला अदालतमा पोहोर चैत १२ गते तामझामका साथ भिडियो कन्फरेन्सबाट म्याद थप गर्ने सेवा उद्घाटन गरे । प्रहरी हिरासतमा रहेका आरोपितलाई अदालतमा नल्याई भिडियो कन्फरेन्सबाटै म्याद थप्ने काम प्रभावकारी हुने अपेक्षा थियो । अदालतमा पूर्वाधार र जनशक्ति भए पनि प्रहरी, कारागार र सरकारी वकिल कार्यालयमा पूर्वाधार नभएकै कारण उक्त सेवा अहिले प्रभावकारी बन्न सकेको छैन ।
सर्वोच्च अदालतको पाँचौं पञ्चवर्षीय योजना अनुसार अहिले सूचना प्रविधिको अधिक प्रयोग गर्ने रणनीति अनुसार अदालतहरुमा ल्याएको २ कर्मचारी १ कम्प्युटरको रणनीति कामविहीन जस्तै बनेको छ । म्याद तामेली गर्नुपरे, तारेख लगाउन परे या मुद्दा दर्ता र मुद्दाको अवस्थाबारे थाहा पाउन अहिले अदालत धाउनै पर्दैन । सूचना प्रविधिको प्रयोगले अब अदालतमा कागजी प्रयोग घट्ने मात्र हैन म्याद तामेलीको लामो र झन्झटिलो प्रणाली पनि अन्त्य भएको घोषणा सर्वोच्च अदालतले २०७१ पुसमै गर्यो । एकोहोरो तयारी, नेतृत्वपिच्छे फरक नीतिले गर्दा यस्ता सेवा प्रभावकारी हुन नसकेको अदालतकै कर्मचारीहरु स्वीकार्छन् ।
अदालतहरुमा भिडियो कन्फेरेन्सका लागि आवश्यक उपकरण भए पनि सरोकारवाला कार्यालयमा सुविधा नभएका कारण सेवा सञ्चालन गर्न नसकिएको उच्च अदालत पोखराका सूचना प्रविधि इन्जिनियर रेनश राजभण्डारी बताउँछन् । उनले भने, ‘हामीकहाँ मात्र यो प्रविधि भएर नहुने रहेछ, कारागार र प्रहरीकहाँ पनि यो प्रविधि पुग्नुपर्छ ।’
भिडियो कन्फेरेन्स सेवा शुरु गर्दा उच्च अदालतले मातहतका जिल्ला अदालतका न्यायाधीशहरुसँग भिडियो संवाद गर्ने, बैठक सञ्चालन गर्ने लगायत कार्यक्रम भएका थिए । परीक्षण सफल भएपनि अहिलेसम्म यी उपकरण प्रयोगमा नआएको तनहुँ जिल्ला अदालतका स्रेस्तेदार सुदर्शन खनाल बताउँछन् ।
जिल्ला अदालत कास्कीका स्रेस्तेदार जगन्नाथ पौडेल प्रविधि र जनशक्ति भए पनि भिडियो कन्फरेन्स सेवा सुरु गर्न नसकिएको प्रतिक्रिया दिनछन् । उनले भने, ‘कारागार र जिल्ला प्रहरीलाई मैले मौखिक रुपमा आग्रह पनि गरेको हो, तर पूर्वाधार नभएकाले उहाँहरु तयार हुनुभएन ।’
भिडियो कन्फरेन्स सञ्चालनमै नआए पनि अनलाइन तारेखको सुविधा भने केही सेवाग्राहीले लिने गरेका छन् । अनलाइन तारेख लिनुअघि एक फारममा हस्ताक्षर गरी आंैठाछाप लगाउनुपर्छ । त्यसमा आफ्नो सम्पर्क नम्बर उल्लेख गर्नुपर्छ । यति गरेपछि मुद्दाका दुवै पक्ष तारेख थाम्न लामो बाटो तय गरेर उच्च अदालत वा सर्वोच्च अदालत धाइरहनुपर्दैन ।
आफूलाई पायक पर्ने जिल्ला अदालतबाटै तारेख थाम्न सकिन्छ । सम्बन्धित सेवाग्राहीले प्रयोग गरेको हस्ताक्षर र औंठाछाप सम्बन्धित अदालतले प्रमाणित गर्छ र जिल्ला अदालतबाटै तारेखको रेकर्ड सम्बन्धित अदालत पुग्छ ।
उच्च अदालत पोखराबाट अहिले यो सेवा लिने १२ जनामात्र छन् । उच्च अदालत तुलसीपुर बुटवलमा इजलासमा मुद्दा चलिरहेका २ जनाले पोखरा उच्च अदालतबाट अनलाइन तारेख थाम्दै आएका छन् । सर्वोच्चमा मुद्दा चलेका १० जनाले पनि अहिले अनलाइन तारेखको सुविधा लिएका छन् ।
जिल्ला अदालतबाट समेत यस्तो अनलाइन सेवाको उपभोग गर्न सकिने उच्च अदालत पोखराका रजिस्ट्रार जीतेन्द्रबाबु थपलिया बताउँछन् ।
सर्वोच्च र उच्च अदालतले कुनै जिल्लामा रहेका पक्षको नाममा म्याद तामेली गर्नुपरे अब हुलाकको भर पर्नुपर्दैन । एक क्लिकको भरमा चिठी तयार हुन्छ, अर्को क्लिकमा सम्बन्धित जिल्ला अदालतमा पुग्छ । जिल्ला अदालतका कर्मचारीले अनलाइनमा उक्त म्याद पाएपछि तामेलदारमार्फत सम्बन्धित व्यक्तिको घर ठेगानामा पुर्याउने सुविधा छ ।
कास्की जिल्ला अदालतमा यो आर्थिक वर्षमा मात्र सर्वोच्च र उच्च अदालतहरुबाट १ सय २० भन्दा बढी म्याद आएर तामेल गरिएको छ । जिल्ला अदालतका सूचना प्रविधि शाखाका कर्मचारी राजाराज पौडेलका अनुसार पोखराबाहेकका उच्च र सर्वोच्चमा अनलाइन तारेख थाम्न आउने पनि उल्लेख्य छन् । उच्च अदालत तुलसीपुर अन्तर्गत बुटवलको वाणिज्य इजलासमा चलिरहेको बैंकिङ कसुरको मुद्दामा पोखराबाट १२ जना भन्दा बढीले अनलाइन तारेख सेवा लिइरहेका छन् ।
लमजुङ र गोरखाबाट १-१ जनाले अहिले उच्च अदालत पोखरामा चलेका मुद्दामा अनलाइन तारेखको सुविधा लिएका छन् । अदालतका सेवाग्राहीले यसबारे जानकारी नै नभएर सेवा नपाएको कतिपयको गुनासो छ ।
रजिस्ट्रार थपलिया भने अझै पनि धेरै मानिसलाई आफै अदालत जानुपर्छ भन्ने भ्रम रहेकाले अनलाइन सेवा प्रभावकारी नभएको बताउँछन् ।
त्यतिमात्र हैन रिट, मुद्दा वा निवेदनको दर्ता नम्बर र मिति थाहा पाउन, त्यसको पेसी मिति बुझ्न र पेसीमा चढेको मुद्दाको स्थिति थाहा पाउन ३०३०३ मा म्यासेज गरेर तुरुन्त जानकारी पाउन सकिन्छ । तर यसको खबर सर्वसाधारणसम्म पुग्न सकेको छैन ।
तपाईको प्रतिक्रिया