नेविसंघले कतै जलायो, कतै नियन्त्रणमा लियो

समाधान संवाददाता २०७५ माघ १९ गते १८:०७

समाधान सम्वाददाता

शनिबार सरकारी गाडी चलाउन नदिने अभियान सञ्चालन गरेको बताएको नेविसंघले पोखरा महानगरको बा १ झ ५८७९ नम्बरको गाडी जलाएको छ ।

घरेलु कार्यालय अगाडी रहेको गाडीमा स्कुटरमा आएका २ जनाले आगजनी गरी फरार भएका थिए । घटनाको केही समयपश्चात नेविसंघले उक्त घटनाको जिम्मा लिएको हो । उनीहरुले चालकलाई गाडीबाट ओर्लन लगाइ पेट्रोल छर्केर आगो लगाएका थिए ।

Advertisement

त्यस्तै, संघले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव चढ्ने गाडी नियन्त्रणमा लिएको छ। काठमाडौंको लाजिम्पाटबाट सचिव शिशिर कुमार ढुंगाना चढ्ने बा १ झ ९९९५ नम्बरको गाडी नियन्त्रणमा लिएको हो। नेविसंघ केन्द्रीय सदस्य सुशील भट्टले प्रधानमन्त्री कार्यालयको गाडी नियन्त्रणमा लिएको पुष्टि गरे।

‘शनिबार सरकारी गाडी चलाएर दुरुपयोग गर्न दिँदैनौं भनेर नेविसंघले अभियान थालेको होेे’ भट्टले भने, ‘नियन्त्रणमा लिएको गाडीको साँचो हामीसँग छ। बेलुकी ट्राफिक प्रहरीकहाँ बुझाउँछौं।’ नेविसंघले शनिबार नै भारतीय दूतावास नजिकबाट मे १ झ १५१ नम्बरको गाडी पनि नियन्त्रणमा लिएको छ।

Advertisement

नेविसंघका केन्द्रीय सदस्य भट्टसहित सुवास घिमिरे, निरञ्जन थापा, गणेश सापकोटा, सन्तोष गुरुङ, सुसान्त आचार्यलगायतले सरकारी गाडी नियन्त्रणमा लिएका हुन्।

शनिबार नै संघले काठमाडौंको बुद्धनगरमा बा १ झ ७७१५ नम्बरको सरकारी गाडीमा आगजनी गरेको छ। नेविसंघ डोटीले मेललेक गाउँपालिकाको उपप्रमुख सवार बा २ झ ४१८८ नम्बरको स्कोरपियो पनि नियन्त्रणमा लिए। नेविसंघले जिल्ला प्रहरी कार्यालय डोटीको बा २ प ८९२० नम्बरको मोटरसाइकल पनि नियन्त्रणमा लिएको जनाएको छ।

तपाईको प्रतिक्रिया