जिएमसी आन्दोलनमा प्रशासनको चासो

समाधान संवाददाता २०७५ माघ २१ गते ११:३१

समाधान संवाददाता
पोखरा

गण्डकी मेडिकल कलेजले विद्यार्थीबाट बिना शीर्षकमा बढी शुल्क उठाएको विषयमा प्रशासनले चासो देखाएको छ । आन्दोलनरत विद्यार्थीले शुक्रबार जिल्ला प्रशासन कार्यालय कास्की र सामाजिक विकास मन्त्रालयमा गुनासो दर्ता गराएपछि प्रशासनले आइतबार दुवै पक्षसँग छलफल गरेको छ ।

सरकारले तोकेको शुल्कमा त्रिवि रजिस्ट्रेसन, चिकित्सा शास्त्र अध्ययन संस्थान, नेपाल मेडिकल काउन्सिलमा विद्यार्थी दर्ता शुल्क एकमुष्ठ समावेश गरिएको हुन्छ । कलेजले सोही शीर्षकमा सादा काजगमा हस्ताक्षर गरेर दोहोर्‍यार रकम असुली गर्दै आइरहेको प्रमाणसहित विद्यार्थीले प्रशासनमा उजुरी दिएका हुन् । कलेजले सबैजसो फ्याकल्टीका विद्यार्थीबाट अतिरिक्त शुल्कका नाममा वार्षिक १ लाख ५० हजारसम्म रकम असुलेको आरोप छ । विद्यार्थी हेरेर कलेजले अनाधिकृत शुल्क तोक्ने र उठाउने गरेको विद्यार्थीले गुनासो गरेका छन् ।

Advertisement

कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी राजेश पन्थीले आइतबार दुवै पक्षको भनाइ सुनेको बताए । विद्यार्थीको उजुरी अनुसार तोकिएको शुल्क भन्दा बढी रकम कलेजले कुन अधिकार प्रयोग गरी लिएको हो लिखित प्रमाणसहित मगाइएको उले बताए । पन्थीले भने,‘विद्यार्थीहरुले लिखित प्रमाणसहित कागजात पेस गरेका छन्, कलेज प्रशासनसँग पनि हामीले प्रमाण मागेका छौं ।’

कलेजका प्रिन्सिपल प्राडा. रवीन्द्रप्रसाद श्रेष्ठले सरकारले तोकेको शुल्कले मात्रै विद्यार्थी पढाउन नसकिने जिकीर गरे । ‘शिक्षा मन्त्रालयले तोकेको शुल्क बाहेक कलेजले कुनकुन शीर्षकमा रकम लिने भन्ने विवरण त्रिवि कार्यकारी परिषदले माग गरेको थियो,’ उनले भने, ‘हामीले हाल विद्यार्थीबाट लिँदै आएको रकमबारेको शीर्षक उल्लेख गरेर पठायौं । निर्णय भएर आएन ।’

Advertisement

कलेजले लिने अतिरिक्त शुल्कको विषयमा गण्डकी मेडिकल कलेजको मात्रै नभई नेपालभरका मेडिकल कलेजहरुको साझा समस्या रहेको उनले बताए । सरकारले शुल्क निर्धारण गरेको २÷२ वर्षमा समायोजन गर्ने भनिए पनि समयमै निर्णय हुन नसक्दा कलेजलाई समस्या परेको उनले सुनाए ।
सरकारले तोकेको शुल्क भन्दा बढी लिन नपाइने, बढी लिएको रकम फिर्ता गर्नुपर्ने, बुझाइएको रकमको अनिवार्य रसिद भौचर दिनुपर्ने जस्ता माग राखेर अनिश्चतकालीन समयसम्मका लागि कलेज प्रशासनमा तालाबन्दी गरेको आन्दोलित विद्यार्थीहरुको भनाइ छ ।

नेपाल सरकारले मेडिकल शिक्षा कार्यक्रममा अध्ययन गर्ने विद्यार्थीलाई तोकिदिएको रकम भन्दा बेसी कलेजले उठाउन लागेपछि आन्दोलित बनेका विद्यार्थीले प्रशासनमा उजुरी दर्ता गराएका हुन् । एमबिबिएस, बिडिएस, बिएन नर्सिङ, बिएस्सी नर्सिङ, फार्मेसी पढ्ने विद्यार्थीले गएको बिहीबारदेखि प्रशासन कक्ष र कक्षा कोठामा ताला लगाएका छन् ।
नेपाल सरकार शिक्षा मन्त्रालयले २०७२ भदौ ३१ को मन्त्रीपरिषद बैठकको निर्णयानुसार एमबिबिएस तर्फ अध्ययन गर्ने विद्यार्थीका लागि काठमाडौं उपत्यका बाहिर र भित्र छुट्टाछुट्टै शिक्षण शुल्क तोकेको छ ।

त्रिभुवन विश्वविद्यालय चिकित्सा शास्त्र अध्ययन संस्थान डीनको कार्यालयले गरेको परिपत्र अनुसार काठमाडौं उपत्यका भित्र ३५ लाख र बाहिरका मेडिकल कलेजहरुमा एमबिबिएस अध्ययनका लागि ३८ लाख ५० हजार शुल्क निर्धारण गरेको छ । विद्यार्थीले सो शुल्क भर्ना हुनेबेलामा ५० प्रतिशत, दोस्रो किस्ता २५ प्रतिशत तेस्रो वर्षमा र तेस्रो किस्ता २५ प्रतिशत चौथो वर्षमा बुझाउनुपर्ने नियम छ ।

तपाईको प्रतिक्रिया