न्याय माग्ने गण्डकी मेडिकल कलेजका विद्यार्थीलाई उल्टै धम्की

समाधान संवाददाता २०७५ माघ २२ गते ७:३५

सुरेशराज अधिकारी

बिनाशीर्षकमा बढी शुल्क उठाएको भन्दै आन्दोलनमा उत्रिँदा गण्डकी मेडिकल कलेज –जिएमसी) ले धम्की दिएको विद्यार्थीले बताएका छन् । सोमबार बेलुका ४ बजे विद्यार्थी आन्दोलन सकेर साँझ ५ बजेतिर विद्यार्थी होस्टलमा गएका थिए । होस्टलमा पुगेपछि आन्दोलनको अगुवाइ गरेका विद्यार्थीलाई फोन आयो र शिक्षकहरुले फोनमा धम्की दिए ।

Advertisement

१ विद्यार्थीका अनुसार होस्टलबाट ५ मिनेट टाढा शिक्षकले भेट्न बोलाएका थिए । कुरेर बसेका विद्यार्थीलाई शिक्षकले गाडीमा हाले । पोखरा गण्डकी मेडिकल कलेज नजिकै आइपुग्दासम्म गाडीमा कोही बोलेनन् । कलेज अगाडि १ होटलमा आएपछि गाडीमा ल्याइएका विद्यार्थीलाई कुनैले सम्झाउन थाले त कुनैले धम्की दिन थाले ।

पढाइ सकेपछि जागिर खान आफूहरुसँग नै आउनुपर्ने भन्दै विद्यार्थीलाई आन्दोलनबाट पछि हट्न ती शिक्षकले दबाब दिएको विद्यार्थीको भनाइ छ । देशका अन्य कलेज तथा अस्पतालमा आफूहरुको सम्बन्ध भएको शिक्षकहरुले बताएका थिए । ‘तिमीहरु जहाँ पढ्न गए पनि जागिर खान गए पनि सबैतिर हाम्रै चिनजान छ,’ ती शिक्षकले विद्यार्थीलाई डाँकोले टिपे, ‘धेरै बढी नहोऊ, आन्दोलन रोक, होइन भने फेला हुनुपर्ला ।’

एमबिबिएस तेस्रो वर्षका परीक्षा दिने १ विद्यार्थीले आफूलाई पनि कलेजबाट धम्की आएको बताए । आफ्नो नाम अगाडि आएको र आन्दोलनको अगुवाइ गरेको भन्दै कलेजबाट धम्की आएको उनले बताए । ‘आन्दोलनमा विद्यार्थी उचाल्नेमा तेरो नाम आएको छ,’ उनले शिक्षको भनाइ उद्धृत गरे, ‘तँलाई पछि अफ्ठेरो हुनसक्छ, तँ आन्दोलनमा नहिँड ।’
उनी मात्र हैन, आन्दोलमा अगुवाइ गर्ने अन्यलाई पनि फोन आएको विद्यार्थी बताउँछन् । अन्य ४ जनाको समूहलाई पनि आइतबार बेलुका नै लगेर भविष्यमा असहज हुने लगायत कुरा गरेको विद्यार्थीले बताए । शिक्षकहरुले आफूलाई फेल बनाइदिने डरकै कारण विद्यार्थीहरु नामसमेत खुलाउन चाहँदैनन् ।

अभिभावकलाई समेत कलेजबाट फोन गरेर धम्क्याइएको विद्यार्थीको भनाइ छ । विद्यार्थीले आफ्नो माग पूरा नभए मंगलबारदेखि मेडिकल कलेजको ओपिडी सेवा बन्द गर्ने बताएका छन् । जिल्ला प्रशासन कार्यालय कास्की, कलेज प्रशासन लगायत विभिन्न ठाउँमा चिठी लेखेर २४ घन्टा समय सीमा दिएका छन् ।

Advertisement

कास्कीका प्रमुख जिल्ला अधिकारी चक्रबहादुर बुढाले अहिलेसम्म विद्यार्थी र कलेजले दिएको प्रमाण अनुसार कलेज नै दोषी देखिएको बताए । ‘तोकिएको शुल्कभन्दा बढी लिएको देखिन्छ । समस्या कलेजले निम्त्याएको हो,’ बुढाले भने, ‘विद्यार्थीको माग पूरा नभए कलेजलाई कारबाही गछौँ ।’ उनले आफूहरु अहिले प्रारम्भिक अनुसन्धानमा रहेको बताए ।

कलेजले कमजोर प्रमाण दिएको उनले सुनाए । डिन कार्यालय निर्धारण गर्नेभन्दा धेरै शुल्क लिएको भेटिएको सिडिओ बुढाले बताए । उनले विद्यार्थीको पक्षमा कलेजलाई घटनमा मिलाउन प्रशासनले सोमबार निर्देशन दिएको बताए । जिल्ला प्रशासन कार्यालय कास्कीले कलेजलाई आइतबार नै आवश्यक प्रमाणहरु ल्याउन निर्देशन दिए पनि उसले सोमबार मात्र प्रशासनमा प्रमाण बुझाएको थियो । उक्त विषयमा गण्डकी मेडिकल कलेजका अध्यक्ष खुमा अर्यालले घटनाको पछिल्लो कुरा आफूलाई जानकारी नभएको बताए ।

शिक्षा मन्त्रालयले २०७२ भदौ ३१ को मन्त्रिपरिषद बैठकको निर्णयानुसार एमबिबिएसतर्फ अध्ययन गर्ने विद्यार्थीका लागि काठमाडौं उपत्यका बाहिर र भित्र छुट्टाछुट्टै शिक्षण शुल्क तोकेको थियो । त्यसमा त्रिवि रजिस्टे«सन, चिकित्सा शास्त्र अध्ययन संस्थान र नेपाल मेडिकल काउन्सिलमा विद्यार्थी दर्ता शुल्क एकमुष्ठ समावेश गरिएको हुन्छ । जिएमसीले सोही शीर्षकमा सादा कागजमा हस्ताक्षर गरेर दोहोर्‍याएर रकम असुली गर्दै आइरहेको प्रमाणसहित विद्यार्थीले प्रशासनमा उजुरी दिएका हुन् ।

कलेजले फ्याकल्टी अनुसार विद्यार्थीबाट अतिरिक्त शुल्कका नाममा वार्षिक १ लाख ५० हजारदेखि १ लाख ७५ हजार रुपैयाँसम्म धेरैसम्म रकम असुलेको आरोप छ । विद्यार्थी हेरेर कलेजले अनाधिकृत शुल्क तोक्ने र उठाउने गरेको विद्यार्थीले गुनासो गरेका छन् ।

तपाईको प्रतिक्रिया