अबको विद्यार्थी राजनीति कस्तो ?

समाधान संवाददाता २०७५ माघ २२ गते १३:०२

सञ्जीव पौडेल

Advertisement

देशमा स्ववियु निर्वाचनको चर्चा परिचर्चा ह्वात्तै बढिरहेको छ । विभिन्न राजनीतिक दलका विद्यार्थी संगठन आफ्ना गतिविधिलाई तीव्रता प्रदान गरिरहेका छन् । विद्यार्थी नेतृत्ववर्ग विद्यार्थीका कक्षाकोठादेखि लिएर चियापसल, चमेना गृह हुँदै विद्यार्थीको जमघट हुने सम्भावित क्षेत्रमा गोलबन्द हुन थालिसकेका छन् ।

स्ववियुको प्रभावकारिताका विषयमा पनि विद्यार्थीका बीचमा विचार विमर्श चलिरहेका छन् । स्ववियुका विगतका निर्वाचन र परिणाम र उपलब्धिको बारेमा पनि समीक्षात्मक टीकाटिप्पणी सुनिन थालेका छन् । निर्वाचन हुने विषयमा चर्चा चल्नासाथ गतिविधिमा देखिएको तीव्रतालाई विद्यार्थीमा भएको राजनीतिक चेतनाको स्वाभाविक प्रवाहका रूपमा लिनुपर्छ ।

Advertisement

एकातिर यस्तो माहौल छ भने अर्कातिर प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभापतिले स्ववियु निर्वाचन तत्काल नगराउन आग्रह गरिरहेका छन् । प्रतिपक्षी दलको उच्च नेतृत्व किन स्ववियु निर्वाचनदेखि डराइरहेको छ, त्यो उसैलाई थाहा होला । स्ववियु निर्वाचन त वर्तमानको प्रतिपक्षलाई अवसरका रूपमा पो रहनुपर्ने ! विश्वविद्यालय तहमा राजनीति निषेध हुनु हुँदैन ।

विश्वविद्यालयमा कि त स्ववियु नै खारेज गर्नुपर्‍यो होइन भने निर्वाचन आवधिक रूपमा सञ्चालन गर्ने कार्यमा अवरोध सिर्जना गर्न मिल्दैन र पाइँदैन पनि । त्यसो गर्ने अधिकार र छुट जे भने पनि त्यो कसैलाई हुँदैन । स्ववियुको निर्वाचन भनेको कुनै एक पार्टीले आफ्नो भातृसंस्थालाई आफ्नै निर्देशनमा मनोमानी ढंगले चलाए जस्तो होइन ।

Advertisement

स्ववियुमार्फत आफ्ना शैक्षिक अधिकारका बारेमा निरन्तर आवाज उठाउनु र विभिन्न गतिविधिमार्फत आफूमा ज्ञान, विज्ञान र व्यावहारिक परिवर्तनका साथै चिन्तन मननको प्रौढता विकास गर्ने अवसरको खोजी गर्नु विद्यार्थीको अधिकार हो र दायित्व पनि । यस्तो सुवर्ण अवसरको उपयोग प्रजातान्त्रिक प्रणाली अन्तर्गत निर्वाचनमार्फत सम्पन्न गर्ने कार्यमा विद्यार्थीलाई छेक्न खोज्नु राष्ट्रको समुज्ज्वल भविष्यमा कालो पोत्नु हो । तसर्थ स्ववियु निर्वाचन निर्विकल्प रूपमा विना अवरोध सम्पन्न हुनुपर्छ । बरू स्ववियुलाई कस्तो बनाउने र कुन रूपमा अगाडि बढाउने भन्ने विषयमा भने व्यापक बहस हुन जरुरी छ ।

ऐतिहासिक पृष्ठभूमि
परिवर्तनका हरेक प्रक्रियामा युवाको जोस, जाँगर, विद्रोहचेत साथसाथै सिर्जनात्मक क्षमता प्रमुख हतियारको रूपमा प्रयोग हुन्छ । विश्वकै परिवर्तनका आन्दोलनलाई नियाल्ने हो भने यो स्पष्ट हुन्छ । हामीकहाँ पनि हुर्कँदै गरेको प्रजातन्त्रको मुनालाई निमोठ्ने काम विसं २०१७ सालमा भएपछि सम्पूर्ण उच्च नेतृत्व जेलमा बन्दी बन्यो । त्यसपछि आन्दोलनका विभिन्न स्वरूप तय भए, ती सबैमा युवाले जिम्मेवारपूर्ण योगदान पस्केका छन् ।

विसं २०२० को दशकको सुरुवाती चरण र मध्यतिर नेपालका २ ठूला विद्यार्थी संगठनका रूपमा अनेरास्ववियु र नेपाल विद्यार्थी संघको स्थापना भएको हो । पार्टीहरू पूर्ण रूपले प्रतिबन्धित रहेको अवस्थामा विद्यार्थी संगठनको स्थापनामार्फत राजनीतिक दलहरूले विभिन्न प्रकारका आन्दोलन चक्राई प्रजातन्त्रको महत्ता जनतामाझ पुन प्रष्ट्याएका थिए ।

उक्त गहन जिम्मेवारी पूरा गर्दै अगाडि बढेका विद्यार्थी संगठनले ऐतिहासिक जनमत संग्रहका साथै पहिलो र दोस्रो जनआन्दोलनमा खेलेको भूमिका नेपाली राजनीतिक विकासमा निकै प्रभावकारी छ । युगान्तकारी परिवर्तनको साक्षी बन्दै आएको विद्यार्थी नेतृत्ववर्ग अब भने आफैं परिवर्तनको नायक बनेर देखिनुपर्ने बेला आएको छ । नायक पनि यस प्रकारको बन्नुपर्ने देखिएको छ कि आफ्नो योगदानले आएको परिवर्तनलाई आफैंले भोग्न र महसुस गर्न पाआोस् ।

सधैं मूल राजनीतिक दलका शीर्ष नेतृत्व र तिनका विचारको भर्‍याङ बनिरहेको विद्यार्थी जमात अब भने आफ्नो ज्ञान र सीपमा आधारित नयाँ गन्तव्य निर्माणमा जुट्नुपर्ने गम्भीर मोडमा उभिएको छ । त्यसका लागि विद्यार्थी राजनीतिका वर्तमान आवश्यकता पहिल्याई अगाडि बढ्न जरुरी छ ।

वर्तमान आवश्यकता
वर्तमान समयमा नेपालको विद्यार्थी राजनीतिका मुख्यत २ आवश्यकता प्रष्ट रूपमा देखिन आएका छन् । अहिलेको समाज हिजोको जस्तो छैन, आजका युवा पनि त हिजोकै अवस्थामा छैनन् । आजको जीवनशैली हिजोको जस्तो हुने कुरै भएन । प्रविधिको सहज पहुँचका कारण पनि अहिलेको युवाका लागि ज्ञान–विज्ञानका कुरा जान्न, बुझ्नका लागि कलेजको कक्षाकोठामा नै जानुपर्छ भन्ने छैन ।

आवश्यकीय ज्ञानका लागि प्रविधि मुख्य स्रोतका रूपमा प्रयोग हुन सक्छ आजको पुस्ताका लागि । हिजोको जस्तो राजनीतिक अधिकार स्थापित नभएको अवस्था आज समाजमा छैन । यस अवस्थामा हिजो राजनीतिक अधिकार प्राप्तिका लागि लड्दै हुर्केका विद्यार्थी संगठनका आजका आवश्यकता र औचित्य पनि परिवर्तन हुनु जरुरी छ ।

व्यावहारिक शिक्षा
नेपालमा सैद्धान्तिक शिक्षाले सबैलाई बोल्न सक्ने बनायो र आफ्ना अधिकारका लागि ढुंगामूढासम्म गर्न सक्ने बनायो । अधिकारको सचेतना मात्र दिलाएन यसले स्तरीय शैक्षिक प्रमाणपत्र पनि दिलायो । तथापि प्रमाणपत्र फगत हातमा र बाकसमा मात्र बास बसे, तिनले व्यक्तिको जीवनमा परिवर्तन अपेक्षाकृत परिवर्तन ल्याएनन् । हाम्रो शिक्षा नीति र शैक्षिक कार्यक्रमहरूले शैक्षिक बेरोजगारको संख्या बढाउँदै लग्यो ।

फलस्वरूप आज प्रशस्तै स्नातकोत्तरहरू विदेशका कृषि तथा उद्योग क्षेत्रमा शारीरिक परिश्रम बेच्न विवश छन् । यो लाजमर्दो विषयलाई कसरी हल गर्न सकिन्छ भन्नेतिर यतिबेलाको विश्वविद्यालय तथा कलेजको सिंगो पंक्ति केन्द्रित हुन अत्यावश्यक भइसकेको छ । कलेज तथा विश्वविद्यालयले शैक्षिक योग्यताका प्रमाणपत्रमात्र होइन व्यावहारिक सीपयुक्त जनशक्ति उत्पादन गर्न सक्नुपर्छ । विश्वविद्यालय नै त्यस्तो थलो हो, जहाँबाट देशको मुहार फेर्ने जनशक्ति उत्पादन हुन्छ । समाज, देश र विश्व परिवर्तनको थालनी विश्वविद्यालयका कक्षाकोठाबाट हुन्छ र कलेजको प्रांगणबाट त्यो बीजारोपण हुन्छ ।

नेपाल मेडिकल काउन्सिलले लिने परीक्षामा चीनमा गएर चिकित्साविज्ञान पढेर आएकामध्ये अधिकांश असफल हुने गरेको हामीले देखेकै छौं । चिकित्साजस्तो विज्ञान र प्रविधिकेन्द्रित विषयमा समेत हावापानी र सामाजिक जीवनशैलीले असरपार्छ भने ज्ञानका अन्य क्षेत्रमा यसले असर नपार्ने कुरै भएन । हामीकहाँ त बाहिरी देशमा बनेका पाठ्यक्रम आयात गरेर विश्वविद्यालयको जनशक्ति तयार गरिँदै आएको छ ।

भिन्न ठाउँको भौगोलिक, सामाजिक, ऐतिहासिक, आर्थिक, राजनीतिक अवस्थिति आदिमा आधारित पाठ्यक्रमलाई हामीकहाँ सोझै लागु गर्दा देशको माटोले र समयले माग गरे अनुरूपको जनशक्ति उत्पादन हुन सक्दैन । समय र माटोको माग एकातिर जनशक्ति उत्पादन अर्कोतिर भएपछि जनशक्ति व्यवस्थापनमा समस्या उत्पन्न हुन्छ, जो हामीले विगत लामो समयदेखि भोग्दै आएका छौं । यो गतिविधि यति सारै प्रत्युत्पादक बनेको छ कि नेपालमा लाखौं खर्च गरेर नर्स बनेकी १ युवती विदेशमा बालबालिका हेरचाह गर्ने जनशक्तिका रूपमा बिक्री भइरहेका छन् ।

आज नेपालमा हजारौं नर्स बेरोजगार छन् र अलिअलि रोजगारमा संलग्नहरू पनि निकै सस्तो मूल्यमा आफ्नो ज्ञान र सीप बेच्न विवश छन् ।
यसैका कारण आज विश्वविद्यालयका ज्ञान, सिद्धान्त, योजना, विचार, दर्शनका विषयमा अध्ययन र अनुसन्धान हुने संकायका कक्षाहरू रित्तिँदै गएका छन् । आजसम्म विचार र चेतनाको एउटा तह निर्माण गर्ने कार्यमा तिनै संकायले सहयोग पु¥यायो तर हाल आएर ती कक्षाहरू किन रित्तिँदै गए त ? यो गम्भीर प्रश्न हाम्रा अगाडि उपस्थित भएको छ । यस प्रश्नको सही उत्तर खोज्न नसकेसम्म हामीले गर्ने विश्वविद्यालीय विद्यार्थी राजनीति अर्थहीन हुनेछ ।

यस यथार्थलाई हृदयगंम गरी अहिले विश्वविद्यालयमा अध्ययनरत विद्यार्थीहरूले आफ्ना शैक्षिक गतिविधि व्यावहारिक ज्ञान आर्जनमा केन्द्रित छन् वा छैनन् भनेर मिहीन विश्लेषण गर्नुपर्ने समय आएको छ । यो आवश्यकतालाई समयमै सम्बोधन गर्न सकिएन भने भोलि देशमा प्राविधिक र व्यावहारिक जनशक्ति निर्माण हुन सक्दैन ।

तसर्थ आजको मूल आवश्यकता भनेको अबको विद्यार्थी नेतृत्वले विश्वविद्यालयमा हुने शैक्षिक तथा प्राज्ञिक गतिविधिमा सक्रिय भइ विश्वविद्यालयीय शिक्षालाई व्यावहारिक बनाउनेतर्फ केन्द्रित गर्नु हो । यतातर्फ सारा विद्यार्थीलाई १ ढिक्का बनाएर लग्न सकेमा मात्र देशले खोजेको समृद्धि प्राप्त हुन सक्छ ।

सामाजिक अभियान
नेपाल गाउँ नै गाउँले भरिएकोे छ तर गाउँ–गाउँलेले भरिन भने छाडेको छ । गाउँमा गाउँ मात्रै छ, मान्छे छैनन् किन कि जुनसुकै व्यवस्था परिवर्तन भए तापनि गाउँमा विकासे परिवर्तन पुगेन, जनताको जीवनस्तर र जीवनशैलीमा कुनै सकारात्मक परिवर्तन आउन सकेन । तसर्थ अहिलेको विश्वविद्यालयमा अध्ययनरत युवाले सामाजिक अभियान चलाउन आवश्यक भएको छ ।

कलेजमा ज्ञान र सीप आर्जन गर्ने कार्यमा सक्रिय रहने र प्राप्त सीप समुदायका सम्भावनालाई यथार्थमा परिणत गर्ने गरी समाजकेन्द्रित अभियानमार्फत कार्यान्वयन गरी समाजलाई स्पष्ट समृद्धिको दिशातर्फ अग्रसर गराउने कार्यको थालनी गर्नु आजको विश्वविद्यालयका विद्यार्थीको मूल दायित्व हो ।

इतिहासले प्रत्येक पुस्तालाई एकैथरी दायित्व नसुम्पिकन फरक–फरक जिम्मेवारी प्रदान गर्छ । अहिलेको पुस्ताभन्दा अघिल्ला पुस्तालाई राजनीतिक अधिकार स्थापित गराउने दायित्व इतिहासले सुम्पेको थियो, किस्ता किस्तामा गरिएका आन्दोलनमार्फत ती दायित्वलाई उक्त पुस्ताले पूरा गरिसकेको अवस्था छ । राजनीतिक अधिकार प्राप्त भएपछि आर्थिक, सामाजिक, सांस्कृतिक लगायतका अन्य अधिकार स्वत प्राप्त हुन्छन् भन्ने मानसिकताले हाम्रो समाज अगाडि बढ्दै आयो ।

राणा शासन ढलाउँदै, पञ्चायती व्यवस्थालाई पाखा लगाउँदै प्रजातन्त्र, लोकतन्त्र हुँदै गणतन्त्रसम्म देश आइसकेको छ, त्यो पनि संघीय शासन व्यवस्थासहित । अब यहाँभन्दा माथिल्लो कुनै राजनीतिक अधिकार हामीले प्राप्त गर्नु छैन । आज मुलुक संघीय गणतन्त्रलाई अंकमाल गर्दै अगाडि बढिसकेको अवस्थामा समेत जनताको दैनिक जीवनमा निकै महत्व राख्ने आर्थिक, सांस्कृतिक, सामाजिक एवं अन्यान्य अधिकारको एक छेउ पनि प्राप्त हुन सकेको देखिँदैन ।

तसर्थ यी अधिकार प्राप्त गर्नेतर्फ सचेततापूर्वक अहिलेको पुस्ता सक्रिय हुन सकेन भने देशमा लामो संघर्षपछि प्राप्त राजनीतिक अधिकार सहजै विस्थापित हुन सक्ने प्रवल सम्भावना छ । यस सम्भावनालाई नजरअन्दाज नगरी देशलाई नयाँ मार्गतिर डो¥याएर लैजान वर्तमान पुस्ताले आफूलाई अत्यन्त जिम्मेवार बनाई प्रस्तुत गर्नुपर्ने अपरिहार्यता छ ।

शिक्षालाई प्राविधिक र व्यावहारिक बनाउनु, प्राज्ञिक गतिविधिको सुनिश्चिततातर्फ विश्वविद्यालयलाई निरन्तर घच्घच्याइरहनु र एक स्वस्थ शैक्षिक वातावरणयुक्त विश्वविद्यालय निर्माणमा रचनात्मक भूमिका खेल्नु आजका विश्वविद्यालयका विद्यार्थीको मूल जिम्मेवारी हो ।

विश्वविद्यालयभित्रका जिम्मेवारी मात्र पूरा गरेर वर्तमानको विद्यार्थीवर्गले ऐतिहासिक दायित्व निर्वाह गरेको ठहर्नेवाला छैन । तसर्थ जति विश्वविद्यालयभित्र स्वच्छ प्राज्ञिक वातावरण सुनिश्चित गर्न सक्रियता आवश्यक छ, त्योभन्दा धेरै गुणा बढी विश्वविद्यालय बाहिरको भ्रष्टाचार, बेथिति, अराजकता, दण्डहीनता, विकृति र विसंगतिको विकृत वातावरण संग्ल्याउनतिर दत्तचित्त भएर सामाजिक स्तरबाटै लाग्नु पर्ने अनिवार्यता हाम्रासामु छ ।

अबको बाटो

अबको विद्यार्थी नेतृत्वसँग २ मात्र विकल्प अगाडि देखिएका छन् । पहिलो हो, अहिलेसम्म विद्यार्थी संगठन जसरी राजनीतिक परिवर्तनका लागि माऊ राजनीतिक दलबाट परिचालित हुँदै आए त्यसैलाई निरन्तरता दिइरहनु । विषयका आडमा वा विषयलाई विषयान्तर गरेर सडकमा मसाल बाल्ने, अलकत्रा पगालेर छँदाखाँदाको बाटो बिगार्ने, रेलिङ तोड्ने, प्रहरीसँग भिड्ने अनि अनेक गरेर पार्टीलाई सत्तामा पुर्‍याएपछि पहुँच पुगे मन्त्रीका आसेपासेमा नियुक्त हुने नसके देशलाई सत्तोसराप गरेर विदेश होमिने ।

यो विकल्प आजसम्म निरन्तर निर्विकल्प बाटो बन्यो विद्यार्थी राजनीतिमार्फत आफूलाई सक्रिय गराउनेको । तर देश कहाँ पुग्यो ? युवाको सिर्जनशील मस्तिष्कले जनस्तरमा कहाँकहाँ उल्लेखनीय र सकारात्मक परिवर्तन ल्यायो ? खोजेर पनि नपाइने यो प्रश्नको उत्तर नै आजको सामान्य नागरिकको मुख्य चासोको विषय बन्न पुगेको छ ।

राजनीतिका अनेक तन्त्र परिवर्तन हुँदासम्म पनि सर्वसाधारण जनताको दैनिक जीवनमा सामान्य परिवर्तन पनि आएन भने राजनीतिको उपादेयता जनस्तरमा शून्यप्राय हुन्छ । यही शून्यतातर्फ अग्रसर हुँदै गरेको वर्तमान राजनीति र समाजलाई पुन उचाईमा पु¥याउन वर्तमान विद्यार्थी पुस्ताले निकै महत्वपूर्ण योगदान दिनुपर्ने बेला आएको छ ।

दोस्रो विकल्प भनेको हालसम्मका गतिविधि र परिवर्तनलाई उपलब्धि मानेर हामीमाझ प्राप्त राजनीतिक अधिकारको उच्चतम प्रयोग गर्दै आर्थिक, सामाजिक, सांस्कृतिक लगायतका अधिकार प्राप्तितर्फ विद्यार्थीवर्ग केन्द्रित भएर जाने हो । यसबाटोमा वर्तमान विद्यार्थी नेतृत्व हिँड्यो भने धेरै कुरामा उल्लेख्य सुधार हुन्छ । सबैभन्दा पहिलो त हरेक समस्याको हल सडक तताएर खोज्नेभन्दा पनि वार्ताबाट खोज्ने नयाँ रचनात्मक संस्कृतिको विकास हुनेछ ।

दबाबको शैली परिवर्तन हुनेछ, गाउँगाउँमा उद्यमशीलताको विकास हुनेछ । देशभित्रका सम्भावनाहरूको प्रभावकारी अध्ययन र अनुसन्धानमार्फत राष्ट्रको आन्तरिक उत्पादन अभिवृद्धिमा उल्लेख्य सहयोग पुग्ने छ । देश बिस्तारै परनिर्भरताबाट आत्मनिर्भरताको एक–एक खुट्किलो चढ्दै जाने अवस्थामा पुग्ने छ । यसले आउने नयाँ पुस्तामा आशाका किरणहरूको सञ्चरण गर्दै बढ्दो विदेश गमनलाई रोकी यहीं कृषि, उद्योग, पर्यटन र ऊर्जाको विकासमा उत्साहपूर्वक तल्लीन हुने वातावरण स्थापना गर्नमा सहयोगी बन्ने छ ।

अबको स्ववियु नेतृत्व माऊ पार्टीको गोटीजस्तो मात्रै बन्नु हुँदैन । युवा उमेर भनेको सम्भावना नै सम्भावनाको समुद्र हो, यही उमेरमा ती सम्भावना खोतल्न सक्ने र त्यसलाई हुर्कने वातावरण तयार गर्ने हो भने मात्र देशमा विकासको प्रवाह निरन्तर प्रवाहित हुन्छ । अन्यथा आजसम्म जसरी पार्टीको इतिहास र केही मुठीभरका नेताको भविष्य निर्माण गर्ने काममा आफ्नो सिर्जनशील र ऊर्जाशील समय खर्चेर युवा जमातले आफ्नो जीवनका सारा सुन्दर सम्भावनालाई जसरी खरानी बनायो त्यही नमीठो इतिहास दोहोरिने निश्चित छ ।

तर वर्तमान विद्यार्थी वर्गलाई त्यसो गरिरहने छुट छैन । स्ववियुलाई साँच्चिकै रचनात्मक भूमिकामा प्रवेश गराएर फरक दृष्टिकोणबाट देश विकासको रथ हाँक्ने वातावरण विश्वविद्यालयको प्रांगणबाटै निर्माण गर्ने हो । होस्टेलमा सुतिरहेका आफ्नै साथीमाथि हमला गरेर अंगभंगपार्ने जस्ता निकृष्ट कार्यमा अझै पनि युवा जोसलाई प्रयोग गर्ने हो भने त्यो सिंगो देशको उज्यालो भविष्यको लागि प्रत्युत्पादक हुने छ ।

तसर्थ सम्पूर्ण विद्यार्थी राजनीतिमा सक्रिय युवा शास्त्र अध्ययन, अनुसन्धान र निर्माण गर्ने थलोमा शस्त्रास्त्रका खेल खेल्नतिर अब नलाग्ने सामूहिक प्रतिबद्धताका साथ निर्वाचनमा जानुपर्ने आजको आवश्यकता हो । अबको समयलाई ‘हाम्रो’ ले होइन कि ‘राम्रो’ ले जित्ने समयको रूपमा विश्वविद्यालयबाट स्थापित गराउन नसक्ने हो भने इतिहासले हामीलाई माफी दिने छैन । हरेक नवीन संस्कारको सुरुआत प्राज्ञिक केन्द्रबाटै हुन्छ र हुनुपर्छ अनि मात्र ज्ञान विज्ञानको महत्ता स्थापित हुन्छ ।

यदि हालका युवाले अहिले यसो गर्न नसक्ने हो भने भोलि उनीहरू पनि राजनीतिक दलका गोटी बनेर विभिन्न विश्वविद्यालय र सरकारी अड्डाहरूमा उपस्थित हुने छन् । राजनीतिले सधैं युवालाई खेलौनाकै रूपमा प्रयोग गरिरहने छ । विचार, विद्धता र क्षमतावान् व्यक्तिहरू सधैं पछाडि नै खुम्चिएर बस्नुपर्ने बाध्यता कायमै रहने छ । त्यसको प्रतिरोधका लागि समय र राष्ट्रका वर्तमान आवश्यकता पूरा गर्न सक्ने गरी स्वतन्त्र जनाधारसहितको प्राज्ञिक कर्ममा हामी केन्द्रित हुनु छ ।

चेतनाको उभार जो आजको युवामा छ, प्रविधिको सहज पहुँच र ज्ञान जो छ, अब त्यसलाई कार्यरूपमा परिणत गर्न सक्ने एउटा जबर्दस्त पुस्ताको रूपमा युवावर्ग आफैंले आफूलाई चम्काउनु छ । त्यो चमकले आजसम्मका तिक्तता मिल्काउन सकोस्, रिक्तता भर्न मद्दत गरोस् र नयाँ मार्गचित्र स्पष्ट देखिने बनाएर अगाडि लैजाओस् ता कि बिना ध्वंश नै आमूल परिवर्तन सम्भव छ भन्ने उदाहरण नेपालभूमिले फेरि यो बुद्धभूमिबाट संसारलाई पस्कन सकोस् । विनाश नगरीकन विकास गर्ने परिपाटी निर्माणका लागि अबको स्ववियु नेतृत्वले आआफ्नो कलेजबाट सुधारका स्पष्ट आधार पस्कन सक्ने गरी विद्यार्थीले नेतृत्व चयन गरून् ।

बन्दुकको नालबाट होइन कलमको नीबबाट, युद्ध मैदानबाट होइन पुस्तकालयबाट, ‘मसल’ र मसालबाट होइन कि मसी र सिर्जनाबाट मात्र सर्वपक्षीय क्रान्ति सम्भव छ भन्ने सन्देश अबको स्ववियु निर्वाचनबाट मुलुकभर छर्नु जरुरी छ । लोकतन्त्रमा निर्वाचनको विकल्प फेरि पनि निर्वाचन नै हो, तसर्थ आफ्नो नेतृत्व आफैं चुन्ने यो सुन्दर अभ्यासमा भयग्रस्त वातावरणबाट त्रस्त भएर मतदान गर्नै जान नसक्ने अवस्था सिर्जना नगर्ने सुनिश्चिततासहित निर्वाचन सम्पन्न होओस्, शुभकामना !

तपाईको प्रतिक्रिया