देउघाटमा राष्ट्रपतिः गुरुकुल शिक्षा र महायज्ञको चर्चा

समाधान संवाददाता २०७५ माघ २२ गते १७:५१


समाधान संवाददाता–दमौली

राष्ट्रपति विद्यादेवी भण्डारीले गुरुकुल शिक्षा प्रणाली आजको आधुनिक शिक्षाको जग भएको बताएकी छन् ।

तनहुँको देवघाटस्थित महेश सन्यास आश्रमको आयोजनामा भएको विराट् ज्ञानमहायज्ञको उद्घाटन कार्यक्रममा मंगलबार राष्ट्रपति भण्डारीले गुरुकुल शिक्षाले ज्ञान प्रवाहमा महत्वपूर्ण योगदान दिएको बताइन् ।

Advertisement

राष्ट्रपति भण्डारीले संस्कृत शिक्षालाई आधुनिकीकरण गर्नुपर्नेमा जोड दिँदै युवा पुस्तालाई समेत संस्कृत शिक्षामा आकर्षित गराउनुपर्ने बताइन् । देवघाटधाम क्षेत्रको आर्थिक तथा धार्मिक विकासको लागि सरकारले विशेष ध्यान दिनुपर्नेमा राष्ट्रपति भण्डारीले जोड दिइन् । उनले गुरुकुल शिक्षा र संस्कृत वाङ्मयको क्षेत्रमा महायज्ञले ठूलो योगदान पुग्ने समेत चर्चा गरिन् ।

कार्यक्रममा महिला बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री थममाया थापाले देवघाटलाई धार्मिक पर्यटनको रुपमा विकास गर्न सकेमा समग्र देशकै विकास हुने बताइन् ।

Advertisement

उनले नेपाल विविधताले भरिपूर्ण देश भएकोले यहाँको विविधता गौरव गर्न लायक रहेको बताइन् । मन्त्री थापाले सरकारको सुखी नेपाली समृद्ध नेपालको लक्ष्य पूरा गर्न सबै जना आ–आफ्नो ठाउँबाट लाग्नुपर्नेमा जोड दिइन् ।

तनहुँ क्षेत्र नम्बर १ का प्रतिनिधि सभा सांसद कृष्णकुमार श्रेष्ठले देवघाटलाई हिन्दुहरुको आस्थाको केन्द्रको रुपमा विकास गर्नुपर्ने बताए ।
महायज्ञ मूल समारोह समितिका अध्यक्ष १००८ स्वामीश्री रमणानन्द गिरीजी महाराजको अध्यक्षतामा सम्पन्न उद्घाटन समारोहमा देवघाट गाउँपालिकाका अध्यक्ष दुर्गबहादुर थापा, देवघाट क्षेत्र विकास समितिका अध्यक्ष शिवराज पौडेल लगायतले मन्तव्य राखेका थिए ।

देवघाटधामको धार्मिक एवं सांस्कृतिक महत्वको प्रचारप्रसार गर्न र वैदिक सनातन धर्म र संस्कृतिको संरक्षण सम्बद्र्धन गर्ने उद्देश्य सहित आयोजना गरिएको महायज्ञ फागुन १ गतेसम्म सञ्चालन हुनेछ ।

महायज्ञमा मूल समारोह समितिका अध्यक्ष एवं श्री १००८ स्वामी रमणानन्द गिरीजी महाराजले कथावाचन गर्नेछन् । महायज्ञ आयोजक मूल समारोह समितिका महासचिव डा. गुरुप्रसाद सुवेदीका अनुसार महायज्ञबाट १० करोड रुपैयाँ संकलन गर्ने लक्ष्य राखिएको छ ।

महायज्ञबाट संकलित रकम महेश सन्यास आश्रम एवं गुरुकुलको सुसञ्चालन, उच्चशिक्षातर्फ शास्त्रीय विषय थप, अनुसन्धान केन्द्रको सञ्चालन, पुस्तकालयको आधुनिकीकरण, आध्यात्मिक ग्रन्थहरुको प्रकाशन तथा प्रचारप्रसार र अक्षयकोषको अभिवृद्धिमा खर्च गरिनेछ ।

महायज्ञका अवसरमा श्रीमद्भागवत महापुराण, महारुद्राभिषेक (उखुको रसद्वारा), ब्रह्मागायत्री लक्षहवन, सतचण्डी, अष्टाचलसहित धान्याञ्चल, दान, पितृ उद्धार, अनुष्ठान, कोटीद्विप प्रज्ज्वलन लगायत अनुष्ठान सञ्चालन गरिनेछ ।

माघ गुप्त नवरात्रको अवसरमा यज्ञ सञ्चालन हुने भएकाले श्रद्धालुलाई माघस्नान एवं विशेष आराधाना गर्ने अवसर प्राप्त हुने आयोजकले जनाएको छ । महायज्ञ सञ्चालन अवधिभर विशाल गुरुकुल शिक्षण भवन, गुरुस्मृति मन्दिर एवं सन्तसेवा आश्रमको उद्घाटन समेत गर्ने कार्यक्रम छ ।

तपाईको प्रतिक्रिया