ट्राफिकले भन्यो, ‘फोहोर डस्टबिनमा फाल’

समाधान संवाददाता २०७५ माघ २३ गते ९:२४

सुशील सुवेदी–समाधान सम्वाददाता

स्याङ्जा राम्दीदेखि कुभिन्डेसम्मको ७९ किलोमिटर क्षेत्रमा बसमा यात्रा गर्ने यात्रुलाई झ्यालबाट फोहोर फाल्न प्रतिबन्ध लगाएको छ । स्याङ्जालाई पूर्ण सरसफाइ जिल्ला घोषण गर्न सरोकारवालाले विभिन्न अभियान सुरु गरेसँगै बसमा सवारलाई राजमार्गमा फोहोर नगर्न अनुरोध गरिएको हो ।

अभियानका क्रममा डस्टबिन नराख्ने ५० वटा बस, ८० वटा हायस र २० वटा सानो जिप तथा यात्रु बोक्ने सवारीलाई नियम उल्लघंन गरेवापत कार्वाही गरिएको प्रहरी नायव निरीक्षक रेशमबहादुर रानाभाटले बताए ।

Advertisement

बसमा डस्टबिन भए यात्रुले फोहोर बाहिर नफाल्ने विश्वास प्रहरीको छ । यात्रारत बसमा डस्टबिन नभए कारवाही गर्ने योजनामा सवै सहमत भएपछि अभियानलाई ट्राफिक प्रहरीले चेकजाँच कडा बनाउँदै आएका छन् ।

राजमार्ग सरसफाइ गरेको दिनदेखि सडकमा चल्ने यात्रु वहाक सवारी साधनमा फोहोर फाल्ने छुट्टै भाँडो अर्थात डस्टबिन राख्नै पर्ने नियम बनेको जिल्ला ट्राफिक कार्यालयका प्रहरी नायव निरीक्षक रानाभाटले बताए ।

Advertisement

पर्यटकको आँखा राजमार्ग आसपासका क्षेत्रमा पर्ने भएकाले सिद्धार्थ राजमार्गलाई सफा गर्ने अभियान थालिएको हो । विशेष गरी सवारी साधनबाट निस्कने फोहोर तथा प्लास्टिक जन्य बस्तुको उचित व्यवस्था गर्न ट्राफिक कार्यालय र स्थानीय सरकारले चालक र सहचालकलाई प्रशिक्षणसमेत दिएको छ ।

‘पूर्ण सरसफाइ भनेको फोहोरको कारणले लाग्ने रोग भगाउने अभियान हो, साझा अभियानमा सबै सहभागी बनौं’, जिल्ला समन्वय समितिका प्रमुख सीता सुन्दासले भनिन्, ‘कसैको घरको अगाडि १ दिन सफा अरुलै गर्दैमा पूर्ण सरसफाइ जिल्ला हुँदैन, सवैले आफ्नो घर आँगन र टोल सफा राख्नै पर्छ ।’

७ सय ५० किलोमिटर कच्ची र पक्की सडक भएको स्याङ्जामा राजमार्गसँग जोडिने ५१ वटा नाका छ । जिल्लामा पूर्ण सरसफाइ घोषणा गर्ने अभियान थालनीसँगै खोला छेउछाउ, खोल्सा, सडक, पैदलमार्गमा लुकी लुकी फोहोर फाल्नेको खोजि भइरहेको समन्वय समितिले जनाएको छ ।

सिद्धार्थ राजमार्गमा गुड्ने सार्वजनिक सवारी साधनमा डस्टबिन राखिए नराखिएको जाँच तथा सोधपुछ गर्दै अस्थायी ट्राफिक कार्यालय फेदीखोलाका ट्राफिक नवीनसिहं सुनार । तस्बिरः समाधान

तपाईको प्रतिक्रिया