जोमसोम यात्रानुभूति

समाधान संवाददाता २०७५ माघ २३ गते १८:०५

जुना थापा

कहिलेकाहीं दिमागमा यस्तो कल्पना र सोच आइपुग्छ कि त्यो काम फत्ते नगरी मनमा शान्ति नमिल्ने । माघ ८ गते साँझ वर्षासँगै राति देशका उच्च भागमा हिमपात भएको खबर र सामाजिक सञ्जालमा देखिएका मनमोहक तस्बिर अनि भिडियोले हिउँ खेल्न मलाई पनि जाउँ–जाउँ भयो ।

एकदिनको वर्षा र भोलिपल्टै लागेको पारिलो घामका कारण प्राय जसो ठाउँमा हिउँ बिलाइसकेका थिए । अब यो वर्ष पनि हिउँको दर्शन गर्न नपाइने भन्दै मन बुझाएँ । तर २÷३ दिनकै अन्तरालमा माघ ११ गते शुक्रबार मौसम बदली भइ झन् बढी हिउँपरेको खबर आए । भोलिपल्टै शनिबार मौसम चिसो भएकोले दिनभर सामाजिक सञ्जाल चहार्दा नजिकैका सिक्लेस, घान्द्रुक, बागलुङ, म्याग्दीमा पनि हिउँपरेको थाहा पाएपछि भने मनमा रहेको हिउँ खेल्ने र हिउँलाई नजिकैबाट हेर्ने सुषुप्त चाहना यति उद्देलित भयो कि ४÷५ जना साथीलाई हिउँ खेल्न जाउँ न भनी फोन र म्यासेज गरें । तर मेरो जस्तो उत्साहित मन कसैमा भेटिनँ, सबैको इच्छा हिउँभन्दा पनि चिसो आइसझैं जमेको रहेछ ।

आज ओछ्यानमा सुतेको भोलि नबिउँझिन पनि सक्छु यति धेरै इच्छा हुँदाहुँदै म एक्लै भए पनि किन नजाने ? अरूको अनिच्छाका कारण किन आफ्नो खुसी र चाहनाको तिलाञ्जली दिनु ? छोरालाई लिएर भए पनि म एक्लै जान्छु, यहाँ–यहाँ जान्छु, यसो गर्छु, उसो गर्छु रमाउँछु …. यस्तै सोच्दासोच्दै कति बेला निदाएछु पत्तै भएन । बिहान ५ बजे आँखा खुल्यो । बहिनीलाई फोन गरेर योजना सुनाएँ, ऊ पनि जागिरवाली छुट्टी नमिल्ला भन्ने पीडा । संयोग कुरा मिलेछ । सिक्लेस, घान्द्रुकतिर गए शुक्रबार परेको हिउँ आइतबारसम्म सकिएला भन्ने सोचेर हिउँ नै खेल्ने भएपछि मजाले हिउँपरेको ठाउँ नै किन नजाने सोचेर म्याग्दीतिर जाने योजना भयो । त्यसपछि बिहान ६ बजे बेनी, जोमसोम छुट्ने बस काउन्टरमा पुगेर सोधखोज गरेपछि ७ः३० मा बस छुट्ने भनेपछि घरमा आएर तयारी गरें । योजना चाहिँ बाटोमा जाँदै गर्दा जहाँ हिउँपरेको ठाउँ भेटिन्छ त्यहीं १-२ घन्टा खेल्ने र फर्किने थियो । तर योजना र सपना सजिलै कहाँ पूरा हुन्छ र पोखराबाट बेनी, तातोपानी हुँदै दानासम्म पुग्दा हिउँका नमुना देखिएन । यही फर्किने भनेर गएको दानामा खाना खाँदा २ बजिसकेको थियो ।

शनिबारसम्म यहाँ पनि २-३ इन्च बाक्लो हिउँ थियो भनेको सुन्दा अघिल्लो दिनमा नै नआएकामा थकथकी लाग्यो । त्यहींबाट फर्केर आउँ भने यत्रो सपना बोकेर गएको, नफर्काै भने साढे ३ वर्षको छोरोलाई अहिलेसम्म १ रात पनि छोडेकी छैन । प¥यो फसाद । बिहानसम्म भएको उत्साह हटेर केबल निराशाको बादल मनमा मडारिन थाल्यो ।

शुक्रबारको हावाहुरी र हिउँको कारणले गर्दा घासामा बिजुलीको पोल ढलेर मोबाइलको नेटवर्क पनि थिएन । यस्तो समस्या पर्‍यो, हामी बास बस्नुप¥यो भनी घरमा फोन गर्न पनि सम्भव भएन । तैपनि झिनो आशा राख्दै अगाडि बढियो । मेरो उत्साह र इच्छाको ज्वाला त्यतिबेला झ्याप्प निभ्यो जतिबेला रूप्से छहराभन्दा केही माथि काभ्रे भिरमा ४ घन्टा यातायात बन्द छ भनेपछि । सडक निर्माणको कामले गर्दा बिहान ७ देखि ११ र दिउँसो २ देखि साँझ ६ बजेसम्म यातायात सेवा बन्द हुने रहेछ ।

दिउँसो साढे २ बजेदेखि साढे ६ बजेसम्म त्यही रोकिने भएपछि मन यति आत्तियो कि त्यही भिरबाट खसेर खोलामा बजारिएझैं भयो । छटपटी सुरु हुन थाल्या, न माथि जान सकिने न यता आउन सकिने । ४ बज्दा छोराले मलाई खोजेर आमालाई सताएको होला, आमा फेरि हामीलाई गाली गर्दै फोन गर्नुभएको होला, फोन नलागेपछि हामीलाई केही भो कि भनेर पीर मान्नुभो होला भन्ने पिरले यति छटपटी भयो कि बसबाट ओर्लने र चढ्ने गर्दै सयपटक त मुक्तिनाथ, पशुपतिनाथ लगायत जानेका जति देवीदेवताका नाम लिएर मेरो छोराले मलाई सम्झेर न्यास्रो नबनोस् भनी पुकारे हुँला । केही उपाय नलागेपछि मेरोभन्दा साना ६-७ महिना, वर्ष दिनका छोराछोरी छोडेर साथीहरू विदेश नै गएका छन् र पनि ठीकै छ, मैले पनि एक न एक दिन कुनै कारणवश रातिमा छोड्नुपर्ला बाध्यता सही त्यो रात आजै रहेछ भनेर मन बुझाउने प्रयास गरें ।

काभ्रेभिर जो साहित्यकार पारिजातको ‘म सडक बोल्दै छु’ कवितामा उल्लेखित छ, जो दृश्य युट्युबमा साँघुरो बाटोमा सवारीसाधन खस्छ कि झैं गरी हिँडेको हेरेथें । उसै त घरमा कुराकानी गर्न नपाएर छटपटी भइरहेको, त्यसमाथि बाटो बन्द, त्यसमाथि डरलाग्दो भिर । मुटु नै सिरिङ्ग हुने दायाँतिर छ्याङ्छ्याङ्ती भिर, बायाँतिर अजंगको पत्थरयुक्त पहाड, तलपट्टी समुद्रलाई भेट्न भनी कसम खाइ तेज गतिमा दौडिरहेको कालीगण्डकी अनि निर्माणाधीन साँघुरो कच्ची बाटो, मान्छेको मन त हो आँखा लोभी मन पापी । हुने नहुने सोच्न आउने । केही गरी यो भिरबाट खसेर म मरें भने … मेरो घरपरिवार, छोरालाई कस्तो होला, के होला भन्ने नकारात्मक सोच मात्र आइरहने । आफैले आफैलाई पनि गाली गरें, खुब हिउँ खेल्न परेको ल खेल हिउँ बल्ल ठीक पर्‍यो भन्दै । आफूले गलत निर्णय र काम गरेको भनी साह्रै पश्चताप् भयो त्यतिबेला ।

बल्लतल्ल साँझ साढे ६ बजे बाटो खुलेपछि उकालो लागियो । अँध्यारो भइसकेकाले बाहिर कस्तो थियो पत्तै भएन । घासाबाट माथि लाग्दा बसको लाइटले अगाडिको बाटो हिउँले सेताम्मे भएको देखिन्थ्यो । मुक्तिनाथ दर्शनका लागि १ जोडी र केटीको सानोबुबा बाइकमा आएका थिए र हामी जस्तै काभ्रेभिरमा जाममा परेर हाम्रो बस अगाडि अगाडि थिए । लेतेतिर पुग्दा हिउँले बाटो नै ढाकिएको देखिन्थ्यो । त्यसमाथि अन्धकार ! हामी त बसभित्र केही गाह्रो भएन, विचरा उनीहरू एकले चलाउने, अर्काेले पछाडिबाट बाइक धकेल्ने गरेको देख्दा सहजै अनुमान लगाउन सकिन्थ्यो उनीहरूलाई यात्रा कति कष्टकर र पीडादायी भयो भनेर । मार्फाभन्दा माथि पुगेपछि बसमा सबैले मोबाइलमा कुराकानी गर्न थाले र मैले पनि घरमा फोन गरें । आमाले गाली गर्नुभए पनि पटक्कै चित्त दुखेन किन कि यो गाली हामी (भाइ, बहिनी र म) प्रतिको प्रेमपूर्ण गाली थियो । छोरासँग पनि बोलें । सदाभन्दा झन मिठो बोलेर मिठी ल्याइदिनुस् है मम्मा मलाई ।

म आमासँग नुनु गर्छु है भन्ने छोराको आवाज सुनेपछि भने ६-७ घन्टा अघिदेखि मेरो मनमा दन्किरहेको आगोको ज्वाला निभेर शान्त भयो, ढुक्क भएँ र आनन्दको सास फेरें, सायद आमालाई पनि त्यस्तै भयो होला ।
मेरो कलेज पढ्दादेखिकै साथी समिर जिसी, कोरला यातायात समितिको काउन्टर जोमसोममा थिए । उनलाई पनि फोन गरेर आउँदैछु भन्ने जानकारी बिहानै दिएकी थिएँ र फेरि फोन गरें । होटल के थ्रिमा खान बस्नका लागि उनले नै व्यवस्था गरिदिएका थिए ।

राति साढे ९ बजेतिर होटलमा पुगेपछि खाना खाएर सुत्नेबेला ११ बजेको थियो । सुत्ने त भनियो, भाइ, बहिनी र मेरो तिनै जनाको खुट्टा चिसो भएर सिरकमा गुटमुट्याउँदा पनि तातो नै भएन । गफ गर्दै सुतेको भाइ–बहिनी निदाए तर मेरो भने खुट्टा नतातिएसम्म निद्रा नपर्ने बानी । बहिनीसँगै खुट्टा जोड्दा पनि केही सिप लागेन । कोठा नजिकै भान्साकोठा भएकाले त्यहीं गएर तेल खोजें तर भेटिनँ, भाँडा राख्ने ¥याखमाथि आँखा पुग्यो, कपालमा लगाउने जस्मिन तेल रहेछ, नहुने मामाभन्दा कानो मामा बेस भनेझैं यही तेल तताएर मालिस गरेपछि खुट्टा तातियो अनि बल्ल निदाएँ ।

एकैछिनमा फर्कने भनेर हिँडेको बाध्यतावश नै जोमसोमसम्म पुगियो र त्यहाँ गइसकेपछि मुक्तिनाथ पुग्न पाए हुन्थ्यो जम्मा साढे १ घन्टाको बाटो रहेछ भन्ने त भयो तर हिउँ जमेर आइस नै भएकाले बसको टायर चिप्लने डरले कुनै सवारीसाधन चलेको रहेनछ । भोलिपल्ट बिहान ६ बजे नै उठ्यौं । होटलकी दिदी उठ्नुभएको थिएन । म आफै भान्साकोठामा गएर पानी तताएर मुख धोएर फर्कने तयारीमा लाग्यौं । यताउति गर्दा पौने ७ बजेको थियो तर पुरै उज्यालो नभएको हुरुरुरु ननस्टप हावाको वेगले जाडो निकै नै थियो । राति आउँदा केही नदेखिएकाले कहिले उज्यालो होला र हेरौंला भन्ने थियो । निस्कने काम सकेर म सबैभन्दा पहिला होटलको दैलो उघार्न पुगें ।

जब मेरो आँखाका अघि दृश्यहरू देखिए, मेरो आँखा झिमिक्क भएन र मुखबाट अम्मामा, ओ माइ गड शब्दमात्र निस्किरहेको थियो । चर्काे चर्काे आवाजमा । मिठो कम्बिनेसन भएको ठाउँ देखेकी थिइनँ । फिल्म हेर्दा देखिएका हिमाली दृश्य हेरेर सोच्थें, त्यस्तो ठाउँमा म कहिले पुगुँला ? मेरो आवाज सुनेर बहिनीले के भो भन्दै बाहिर निस्की उसको पनि मुखबाट आहा ! भन्ने शब्द निस्किरहेको थियो । होटलको आँगनी छेउमै बाटो, बाटोमुनि कान्लामा सर्वाङ्ग नांगा रुखहरू, तर पनि पटक्कै अश्लील नदेखिने । मझौला काठका रुखका टुप्पोबाट एकै नाशका मसिना हाँगाहरू बाँस जस्ता । लाग्थ्यो मुढाका टाउकामा कुनै वनस्पतिको बीउ छरेर उम्रिएको थियो । रुखका छेउमै कलकल गर्दै बगिरहेको निश्चल खोला, अलि पारि चिटिक्क परेका घरहरू, घरका छाना हिउँले सेताम्मे अनि आडैमा विशाल पहाड, जसलाई हिउँले आलिंगन गरी बसेको थियो भने पहाड र हिउँको प्रेमलाई टुक्राउन समीर भने बेजोड गतिमा दौडिरहेको थियो हुरुरुरुरु ……….. ।

बाहिर निस्केको १०-१५ मिनेटमै गाडी हामीलाई लिन आउँछ भन्ने खबर साथी समीरले गरेपछि भने हतार गर्दै फोटो र छोटा भिडियो खिच्यौं । आँखाले देखेर दिमागमा बसेको कुरा त के बिर्सिइन्थ्यो र, तैपनि पछि घरपरिवार र भविष्यमा तस्बिरहरू हेरेर मुस्कुराउने बहानाका लागि र सामाजिक सञ्जालमा राख्नको लागि तस्बिरहरु कैद गरें । जति हेरे पनि नअघाइने, जति वर्णन गरे पनि कमै हुने ठाउँमा एकछिन टहलिने मन हुँदाहुँदै बस आइपुग्यो । होटलमा हिसाबकिताब मिलाउन बाँकी भएकाले हतारिँदै होटलमा गएर स्याउको सुकुटी ५ प्याक किनें । अहिले जोमसोममा अफ सिजन भएकाले होटलको बिल सोचेभन्दा कम आएकोले झन् खुसी भएँ र अर्कोपटक जानुपरे उहाँकैमा जाने हेतुले नम्बर मागेर बिदा भएँ ।

‘यहाँ त हावाले हिउँ उडाइसक्यो, हिउँ खेल्ने तल लेतेमा खेलौंला जाऊँ छिटो,’ गुरुजीले भन्नुभयो । अनि बसमा चढियो र तल एयरपोर्टमा आएपछि पोखरा आउने १÷२ जना यात्रुलाई कुनुपर्ने भयो । यही मौका छोपी छेवैमा घरको छानामा, बाटोमा सजाएर काटिएको धुपीको बिरुवामा हिउँ जमेको थियो त्यही हिउँ खेल्न थाल्यौं । एकैछिनमा हात कठ्याङ्ग्रिन थाल्यो, त्यसपछि काउन्टरबाट साथी समीरले बोलाउनुभयो र तात्त्तातो चिया ख्वाउनुभयो । कठ्याङ्ग्रिएको हातलाई केही राहत मिल्यो । एकछिनपछि हिँड्यौं ।

हिउँले गर्दा पनि होला जति तल झ¥यो उति मनमोहक दृश्य ! खण्डखण्डमा विभाजित पहाड, पहाडमा आधाउधी हिउँ, त्यही पहाडका फेदमा नागबेली सडकलाई फन्को मार्दै तीव्र गतिमा बस कुँदिरहेको थियो । आँखाभने तिनै पहाडसँग लुकामारी खेलिरहेका हिउँहरूलाई दृश्यावलोकन गर्दै सोच्दैथें, हिजो यहाँ नआएको भए सायद यस्तो दिन भविष्यमा आउथेन्की ? सोच्दै–हेर्दै मार्फा आइपुग्यो र एउटा घरअगाडि गुरुजीले बस टक्क रोक्नुभयो । हामी भने हिउँ छुन ओल्र्यौं । गुरुजीले स्याउको सुकुटी, जुस र दाल किन्नुभएको रहेछ । म पनि किन्थें नि जुस, कति पर्दो रहेछ ? मैले भनें । ‘हामीलाई अलि सस्तो हुन्छ, तपार्इंहरूलाई अलि महँगो, अगाडि नै भन्नुपर्दैन ? मेरै नाममा किनिदिन्थें नि ।’ गुरुजीले भन्नुभयो । ‘अब ठीकै छ नि त आफ्नो मान्छे भनेर माग्नुस् न ।’ मैले भनें । गुरुजीले मान्नुभो तर उहाँकै मूल्यमा दिनुभएन । मलाई बोतलको २ सयमा बल्लतल्ल मान्नुभयो । गुरुजीलाई भने बोतलको १ सय ५० ।

त्यसपछि बस फेरि रफ्तारमा कुद्यो । लेतेभन्दा अलि माथि नै मैदानजस्तो ठाउँ रहेछ । चारैतिर डाँडाकाँडा, बीचमा बगरैबगरको मैदान हिउँले पुरिएर पुरै सेताम्मे ! सायद ५ इन्च जतिको बाक्लो हिउँ थियो होला त्यतिबेला । चौतर्फी पहाडमा कृत्रिम जस्ता देखिने चट्ट मिलेका क्रिसमस ट्रि जस्ता रुखमा हल्काहल्का हिउँको स्पर्शले रुखका सुन्दरतामा झन् निखारता ल्याएको थियो । लाग्थ्यो सुन्दर परिधान र हल्का मेकअपमा सजिएकी सुन्दर युवती उभिएर कसैको पर्खाइमा छे । ठिक्को अग्ला पहाडको फेदैभरि आमन्त्रण गरेझैं लाग्थ्यो । त्यहीबेला झन् बाक्लो हिउँ भएको ठाउँ आइपुग्यो अनि गुरुजीलाई बस रोक्न लगाएर फेरि हिउँ खेल्न ओल्र्यौं । त्यतिबेला अलिअलि हिउँ परिरहेको थियो तर हिउँ भुवाजस्तो नभई रासायनिक मलजस्तो स–साना ढिका । भुवादार हिउँपरेको भए अझ कति रमाइलो हुन्थ्यो भनेर अझै मनमा उत्साह जाग्यो ।

जोमसोममा जस्तो हावा नचल्ने हुनाले हिउँ नपग्लिएको र हिउँ छुँदा हात कठ्याङ्ग्रिएको पनि थिएन । त्यसैले झन रमाइलो लागिरहेको थियो । १५ मिनेटजति खेलेर हिँड्यौं । लेते आएपछि यात्रु ओर्लने र झर्ने क्रम चलिरहेकै बेला पनि त्यही मौकामा हामी त बाहिर हिउँ छुन निस्किहाल्ने । लेतेका घरका छाना, आँगन, वरिपरि पूरै ५–६ इन्चका बाक्लो हिउँ थियो, कपासको छाना बनाएझैँ । टम्म एउटै साइजमा मिलाएर काटिएका दाउराको खलियो घरको छतमा, आँगनमा अनि पिँढीमा राखिएका दाउरालाई समेत सेतो रङको आभूषणले सजाइएको झै लाग्थ्यो । बाटाको छेउछाउमा कुपोषण लागेर हड्डी र छालामात्र भएका मानिसजस्ता देखिने काला, बाङ्गाटिङ्गा हाँगा भएका छœयाङ्ग परेका स्याउका बोट छन् । यो मौसममा कुरूप देखिए पनि हिउँको स्पर्शले होला सायद उसको रूपरंगमा कुनै कमी देखिएको थिएन । अलि चुच्चो परेका कालाकाला पत्थरहरूलाई हिउँले पुरै छोप्न नसकिएको दृश्यले पेङ्गुइनका बथान आनन्दले सुतिरहेको जस्तो भान हुन्थ्यो । हिजो आउँदाखेरिको पूरै पीडाहरू हराइसकेको थियो ।

बिहान १० बजे घासा आइपुग्यौं र चिया खायौं । त्यहाँ आइपुग्दा हिउँको कम भइसकेको थियो । छानाबाट हिउँ पग्लेर पानीको रूप लिएर टपटप वर्षामा परिणत भएको थियो । त्यसपछि साढे १० बजे फेरि हिजो आउँदा ४ घन्टा बस्नुपरेको काभ्रेतिर आइपुग्यो, जहाँ ११ बजेपछि मात्र बाटो खुल्ने भएपछि फेरि बसबाट ओर्लियौं । त्यहाँ एउटा झोलुंगे पुल रहेछ पारि तर्ने । टाइमपास पनि हुन्छ भनेर पुल तरेर पारी पनि गयौं । एकछिनपछि बाटो खुल्यो अनि बस चल्यो, डरलाग्दो बाटोमै भए पनि रफ्तारमा अनि रोकियो जोमसोम होटल दानामा । त्यो रुटमा हिँड्ने बसले पोखराबाट जाँदा पनि र मुस्ताङ्बाट फर्किंदा पनि खाना खाने जक्सन त्यहीं रहेछ । खाना खान थाल्यौं । खाना यति स्वादिष्ट थियो कि पोखराका थकाली होटलमा पाइनेभन्दा उत्कृष्ट । ठूलो थालीमा बीचमा भात, छेउछाउमा बन्दाको अचार, मूलाको अचार, गुन्द्रुक र भट्ट साँधेको, साग, केराउको अचार, टिमुर र गोलभेंडाको अचार, आलुको तरकारी, कचौरामा जिम्मुले झानेको सिमीको कालो दाल अनि झोलसहितको कुखुराको स्वादिलो मासु । जोमसोममा पनि खाएनौं यस्तो खाना । सायद अफ सिजन भएर होला त्यहाँ चाहिँ सामान्य खालकै थियो खाना । खाना खाएपछि कालीगण्डकीको तिरैतिर तीव्र गतिमा बस कुँदिरहेको थियो । म भने अफ सिजनमै भए पनि हिउँपर्ने समयमा एकपटक जोमसोम जानैपर्ने रहेछ, यदि म हिजो केही गरेर नगएको भए सायदै त्यस्तो दृश्यावलोकन कहिल्यै देख्ने थिएन । हाम्रा धार्मिक ग्रन्थमा गाथा गाइने स्वर्ग त सायद त्यही हो र त्यस ठाउँ देख्न म सफल भएँ भनी मनमनै सोचेर पुलकित हुँदै आएँ । ठ्याक्कै साँझ ६ बजे पोखरा आइपुग्यौं बिना योजनानै छोटो समयमा भए पनि यिनै अनगिन्ती र अविस्मरणीय यादहरू बोकेर !

तपाईको प्रतिक्रिया