अझै खुलेन गण्डकी मेडीकल कलेजकाे ताला, आज पुन वार्ता हुने

समाधान संवाददाता २०७५ माघ २४ गते १२:३७

समाधान संवाददाता
पोखरा

गण्डकी मेडिकल कलेजका विद्यार्थीले बिनाबिल अतिरिक्त शुल्क लिएको भन्दै गरिरहेको आन्दोलनको बुधबार पनि टुंगो लागेन । उनीहरुका माग सम्बोधनबारे टुंगो नलाग्दा विद्यार्थीले क्याम्पसका कक्षाकोठा र प्रशासनमा साता दिनदेखि लगाएको ताला खुलेन ।

बुधबार प्रशासन र विद्यार्थीबीच वार्ता बसेको थियो तर विद्यार्थीको आन्दोलनलाई कम आँकलन गर्दै उल्टै मागलाई बंग्याउन खोजिएपछि टुंगोमा नपुगेको विद्यार्थी बताउँछन् । ‘हामीलाई वार्ता बोलाएर भुलाइयो । सम्बोधनबारे कुनै पनि कुरा गरेनन्,’ वार्तामा सरिक विद्यार्थी मनीष भट्टराईले भने । उनले वार्तामा परस्पर विरोधी धारणा नगराउने, दुवै पक्षले वार्ता गर्न सकारात्मक र सौहार्दतापूर्ण वातावरण बनाउनेबाहेक अन्य सहमति हुन नसकेको जानकारी दिए । विद्यार्थी र कलेज व्यवस्थापनबीच बिहीबार फेरि वार्ता बस्ने भएको छ ।

Advertisement

कलेज प्रशासनले विद्यार्थीको माग सम्बोधन गर्ने र छिटो सञ्चालनमा ल्याउनेतिरभन्दा उल्टै विद्यार्थीको आन्दोलनलाई बेवास्ता गर्दै तुहाउने षडयन्त्र गरिरहेको विद्यार्थीको आरोप छ । कलेज अध्यक्ष खुमा अर्याल विद्यार्र्थीको आन्दोलनले केही लछारपाटो नलगाउने प्रतिक्रिया दिन्छन् । ‘नियमन गर्ने सरकारको निकाय छ । विद्यार्थीले आन्दोलन गरेर केही हुन्न । उनीहरुले बुझ्न जरुरी छ सरकारले तोकेको रकममा सुविधासहित पढाउन सकिँदैन ।’

कलेजको प्रशासनबाट फोन गरेर आन्दोलन छोड्न धम्की दिने गरेकोसमेत विद्यार्थीको गुनासो छ । सन् २०१६ देखियताका ब्याचका विद्यार्थी बढी शुल्क लिएको भन्दै विरोधमा उत्रिएका हुन् । विद्यार्थीले यस्तै आन्दोलन यसअघि पनि गरेका थिए । यसअघि बढी लिएको शुल्क फिर्ता गर्ने लगायत सहमतिमा आन्दोलन सकिएको थियो । सहमतिबेगर उल्टै अतिरिक्त शुल्क लिने र बिल पनि नदिने गर्ने काम भइरहेकाले फेरि आन्दोलनमा उत्रनुपरेको विद्यार्थी रविना शर्माले बताइन् ।

Advertisement

कलेजले विभिन्न बहानामा तोकिएको शुल्कभन्दा बढी शुल्क लिएर मनोवैज्ञानिक दवाव दिइरहेको आन्दोलनरत विद्यार्थीको भनाइ छ । विद्यार्थी परिर्वतन भाटले भने, ‘कक्षाकोठामा क्षमताभन्दा बढी विद्यार्थी कोचेर राख्छन्, थप पैसा केका लागि हो भनेर सोध्दा झर्केर परीक्षा फारम रोकिदिने धम्की दिन्छन् ।’ शुल्क बुझाउन ढिला भए १८ प्रतिशत ब्याज जोडेर कलेजले असुल गर्दै आएको विद्यार्थीहरुको गुनासो छ ।

त्रिभुवन विश्वविद्यालय चिकित्सा शास्त्र अध्ययन संस्थानबाट सम्बन्धन प्राप्त शैक्षिक संस्थामा संस्थानले तोकेबाहेक कुनै पनि शीर्षकमा अतिरिक्त शुल्क लिन नपाइने नियम छ । तर विद्यार्थीपिच्छे नियम बनाएर रकम असुल भइरहेको विद्यार्थीको आरोप छ । ‘सरकाले तोकेभन्दा धेरै पैसा नलिनुस् भन्ने हाम्रो माग हो,’ भाटले भने, ‘गण्डकी मेडिकल कलेजमा मात्र नभई देशको अन्य कलेजमा यस्तो समस्या छ ।’

कलेजले धेरै पैसा लिएको विरोधमा गत बिहीबारदेखि विद्यार्थीले कक्षाकोठामा ताला लगाएका थिए । कलेजको प्रशासनमा समेत ताला लगाएर शुक्रबार पृथ्वीचोकमा प्रदर्शनसमेत गरेका थिए । विद्यार्थीले जिल्ला प्रशासन कार्यालय कास्की, गण्डकी प्रदेशको सामाजिक विकास मन्त्रालयमा समेत ज्ञापनपत्र बुझाएका छन् । अध्यक्ष अर्याल कलेजले लिन पाउने शुल्क नै लिएको बताउँछन् । ‘हामीले सरकालाई तिनुपर्ने भन्दा धेरै पैसा लिएका छैनौं, विद्यार्थीलाई कसैले उचालेको छ,’ उनले भने ।

तपाईको प्रतिक्रिया