अर्मलमा छैटौंपटक पर्वतीय दौड

समाधान संवाददाता २०७५ माघ २५ गते १२:५७

समाधान संवाददाता
पोखरा

पोखरा महानगरपालिका १६ अर्मला गाँउमा माघ २७ गते १० किलोमिटर पर्वतीय दौड हुने भएको छ । सो अवसरमा पुरुष भलिबल र परम्परागत खेल छेलो हान्ने प्रतियोगिता सञ्चालन हुने आयाजनकले जनाएको छ । सोही दिन अर्मला होमस्टेको पनि सुरुआत गरिनेछ । अर्मलास्थित खे पना प्रतिष्ठानलाई होम स्टेको रुपमा अगाडि बढाइएको स्थानीय दुर्गा युवा क्लबले जनाएको छ ।

श्रीपञ्चमीको अवसरमा आयोजनामा हुने प्रतियोगितामध्ये छैटौं पटक आयोजना गरिएको पर्वतीय दौड बाटुलेचौरबाट सुरु भएर अर्मलाकोटमा पुगी पूरा हुने क्लबका अध्यक्ष गंगाबहादुर गुरुङले जानकारी दिए । उनका अनुसार दौड प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुनेले क्रमशः नगद १५ हजार, १० हजार र ५ हजार नगद साथमा पदक र प्रमाणपत्र प्राप्त गर्नेछन् ।

Advertisement

पुरुष भलिबल प्रतियोगितामा प्रथम हुनेले विजेताले ३५ हजार र द्वितीयले २५ हजार रनिङ कप, पदक तथा प्रमाणपत्र पाउनेछन् । १६ वर्षभन्दा माथि छेलो प्रतियोगितामा प्रथमले नगद ३ हजारका साथमा भांग्रा, फेता र प्रमाणपत्र प्राप्त गर्नेछन् भने द्वितीयले नगद १ हजारका साथमा प्रमाणपत्र पाउने क्लबले जनाएको छ । १६ वर्ष मुनिको प्रतिस्पर्धामा प्रथम र द्वितीय हुनेले क्रमशः नगद १ हजार र ५ सय पाउनेछन् ।

उक्त पुरस्कारको प्रायोजन अर्मलाकोट युके परिवारको मुख्य प्रायोजन र अर्मला विकास मञ्च सह प्रायोजनमा हुन लागेको हो भने हाल युके निवासी शेरा गुरुङ, सम्मरबहादुर गुरुङ, जीवन गुरुङ र बुद्धि गुरुङ लगायतले प्रायोजन गर्ने भएको सचिव डम्बरबहादुर गुरुङले जनाएका छन् ।

Advertisement

पोखराको उत्तरपट्टि माछापुच्छ्रे हिमालको काखमा अवस्थित एउटा सुन्दर मनमोहक गाउँ अर्मलाबाट उत्तरतर्फ माछापुच्छ्रे हिमाल लगायत अन्य हिम शृङ्खला र दक्षिणतर्फ पोखरा नगर एकै नजरमा देख्न सकिन्छ ।

तपाईको प्रतिक्रिया