भारी हिमपातका कारण हुम्लामा हवाई सेवा बन्द

समाधान संवाददाता २०७५ माघ २५ गते १५:४०

रासस, हुम्ला

आठ दिनपछि खुलेको विमानस्थल भारी हिमपातले दुई दिनदेखि पुनः बन्द भएको छ । जिल्लाको एक मात्र यातायातको साधन हवाईजहाज बिहीबारदेखि उडान बन्द भएको छ । 

जिल्ला बाहिर जाने एक मात्र हवाईसाधन निरन्तरको हिमपातले बन्द भएको छ । जिल्लामा हिउँ पाँच फिटसम्म जमेका कारण विमानस्थल सञ्चालनमा आउन अझै एकहप्ता लाग्ने विमानस्थल स्रोतले बताएको छ । बुधबारदेखि हिमपात हुँदा यहाँको दैनिकी निकै समस्यामा परेको छ । विहीबार रातिदेखि हिमपात र हुरीले हुम्लाका नागरिकलाई एक ठाउँबाट अर्को ठाउँसम्म आवतजावत गर्न कठिनाइ भएको छ । 

Advertisement

हिमपातले जिल्ला सदरमुकाम सिमकोटमा पाँच फिट हिउँ जम्नुका साथै चिसो बढेको र हुरी चलिरहेको प्रमुख जिल्ला अधिकारी मात्रप्रसाद ढुङ्गानाले जानकारी दिनुभयो । 

हिमपातले बालबालिका, वृद्धवृद्धालाई शौचालयसम्म जान समस्या भएको विनिता महताराले बताउनुभयो । हिमपातले एक गाउँबाट अर्को गाउँमा समेत जान समस्या भएको छ । 

Advertisement

जिल्लाको उत्तरी नाम्खा गाउँपालिका सिमकोटमा बढी हिमपात भएको छ । हिमपातले त्यस क्षेत्रका स्थानीयवासीलाई घर निस्कनसमेत समस्या बनाएको छ । साथै घरपालुवा गाईवस्तुलाई पनि भारी हिमपातले समस्या निम्त्याएको छ । उत्तरी नाम्खा गाउँपालकाका नागरिक सिमकोटसँग सम्पर्क सञ्चारमा सम्पर्कविहीन छन् । 

एसइई ट्युसन र विद्युत् बन्द 

चैतमा हुने एसइईको तयारी कक्षा लिँदै आएका विद्यार्थीको ट्युसनसमेत बन्द भएको छ । भारी हिमपातले विद्यार्थीलाई ट्यिुसन कक्षा जानसमेत समस्या भएकाले तयारी कक्षा प्रभावित भएको मानसरोवर माविका प्रधानध्यापक अमरबहादुर शाहीले जानकारी दिनुभयो । 

हिल्दुम साना जलविद्युत् केन्द्रले हुरी र हिमपातका कारण आफ्नो विद्युत् प्रशारण लाइनलाई बन्द गरेको छ । विद्युत् प्राधिकरणका प्रशासन प्रमुख यमप्रकाश खड्काले हिमपातले र हुरीले कतै पोल ढल्नुका साथै तार चुँडिएकाले विद्युत् आपूर्ति बन्द गर्नुपरेको बताउनुभयो । 

विद्युत् बन्द हुँदा सिमकोटमा रहेको सामुदायिक रेडियोसमेत बन्द हुनुका साथै विद्युत्मार्फत सञ्चालन हुने विद्युतीय कामसमेत बन्द हुनपुगेका छन् । 

तपाईको प्रतिक्रिया